२०८३ साउन ११ सोमबार

चारबुँदे माग राख्दै पिछडावर्ग महासंघको आन्दोलन सुरु

ई आर्थिक    सोमबार, फाल्गुन १९ २०८१
6K
Shares
चारबुँदे माग राख्दै पिछडावर्ग महासंघको आन्दोलन सुरु

ई-आर्थिक, काठमाडौं ।  नेपाल पिछडावर्ग (ओबीसी) महासंघले पाँचबुँदे माग राख्दै सोमबारदेखि आन्दोलन सुरु गरेको छ ।

पिछडावर्ग महासंघले काठमाडौंको माइतीघर मण्डलामा अनिश्चितकालीन धर्ना सुरु गरेको हो ।

उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति, पिछडिएको समुदाय (ओबीसी) उत्थान विकास समिति र वादी समुदाय उत्थान विकास समितिहरुलाई यथाशीघ्र सञ्चालन गर्न मागसहित पिछडावर्ग महासंघ आन्दोलित भएको छ ।

तीनवटा विकास समितिहरुमा रिक्त रहेको पदमा यथाशीघ्र पदाधिकारीहरु नियुक्ति गर्नुपर्ने, राष्ट्रिय समावेशी आयोगले पिछडावर्गको थर सूचिकरणका लागि गरिएको सिफारिस मन्त्रिपरिषद्बाट पास गरी यथाशीघ्र ओबीसी आरण लागू गर्न माग महासंघले गरेको हो ।
यसैगरी, नेपाल सरकार र नेपाल पिछडावर्ग (ओबीसी) महासंघ, दलित संघ तथा वादी समुदायबीच भएको सम्झौताहरु लागू गर्नुपर्ने र तीनवटै विकास समितिमा लामो समयदेखि कार्यरत अवकासित कर्मचारीलाई यथाशीघ्र पुनः नियुक्ति गर्न माग गरेको छ ।
ओबीसीका यी मागहरु सरकारले पूरा नगरेसम्म आन्दोलन जारी रहने महासंघका अध्यक्ष गजेन्द्र ठाकुरले बताएका छन् ।

उनले भने, ‘अहिले हामी शान्तिपूर्ण धर्नामा बसेका छौं, हाम्रा मागहरुप्रति सरकारले बेवास्ता गरे जक्काजामसम्मको कार्यक्रम गर्न बाध्य हुनेछौं ।’
‘नेपाल पिछडावर्ग (ओबीसी) महासंघले नेपाल सरकारका गलत रबैयाका कारण फेरि अन्दोलनमा जान बाध्य भएको छ । सरकारमा बस्ने अधिकांश नेताहरु आफ्नो स्वार्थ पूरा गर्नका लागि दलित, मुस्लिम, आदिवासी, जनजाति, बादि सामुदाय र पिछडावर्ग पर्ने जातजातिहरूको हकअधिकारवाट बंचित गरेका छन् । संघदेखि पालिकासम्म लक्षित वर्ग शीर्षक बजेट सबै भष्ट्राचार गरिन्छ । नेपाली जनताहरू आआफ्ना अधिकारको लागि नेपाल सरकारसँग लडेर अधिकार सुनिश्चित गराउनु पर्नेछ ।’ उनले भने ।

‘ओबीसीको थर सूचिकरण गरी आरक्षण लागू गर’, ‘पिछडावर्ग, दलित र वादी समुदायसँग पटक–पटक भएका सम्झौताहरु लागू गर’ र जबरजस्ती अवकास गरेका तिन वटै समितिका कर्मचारीहरुलाई पुनः बहाली गर’ लगायतका ब्यानरसहित धर्ना कार्यक्रम सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij