२०८३ भाद्र २६ शुक्रबार

‘सुमेरू सेभिङ्गको विषयलाई लिएर म भाग्नु पर्ने कारण छैन्, कामको शिलशिलामा म विदेशमा छु’

ई आर्थिक    बुधबार, फाल्गुन ७ २०८१
24.3K
Shares
‘सुमेरू सेभिङ्गको विषयलाई लिएर म भाग्नु पर्ने कारण छैन्, कामको शिलशिलामा म विदेशमा छु’

‘‘मेरो अध्यक्षतामा चलिरहेको समयमा कुनै पनि बचतकर्तालाई पैसा फिर्ता नदिएकोरेकर्डछैन मेरो कार्यकालमा बचत फिर्ताको लागि कार्यालय पनि आउनु पर्दैनथ्यो फोन गरेकै भरमा बचतकर्ताको घरघरमा पैसा पु¥याउने व्यवस्था गरेका थियौं सञ्चालकबाट बाहिरिएको पनि धेरै बर्ष भयो जहाँसम्म अहिले बचतकर्ताको रकम फिर्ता नगरेको सन्दर्भ त्यो विषयमा खासैअपडेटछैन मैले थाहा पाए अनुसार संस्था नयाँ व्यवस्थापनबाट सञ्चालन भइरहेको त्यही व्यवस्थापनले बचत फिर्ताको साथै संस्थालाई नयाँ ढंगले पुरानै अवस्थाबाट सञ्चालन गर्ने प्रयास गरिरहेको मैले सञ्चारमाध्यमबाटै पढे नयाँ व्यवस्थापन सञ्चालन गर्नेहरु नेपालकै प्रतिष्ठित व्यक्तित्वहरु हुनुहुँदो रहेछ मलाई आशा विश्वास उहाँहरुले संस्थामा पछिल्लो समयमा देखिएको समस्याको समाधान चाँडै गर्नुहोला’’                                                             

                                                                                                                                          ***

करिब चार अर्ब रूपैयाँ रकम हिनामिनाको विषयमा यतिबेला सुमेरू सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष भरत महर्जनलाई राज्यले खोजिरहेको यसैबीचमा नयाँ व्यवस्थापनले बचत फिर्तालगायत संस्थामा देखिएका यावत समस्या समाधानको प्रयास पनि गरिरहेकै राज्यले दोषी देखाएका पूर्वअध्यक्ष महर्जनले भने आफू यसमा दोषि नभएको आर्थिकसँग दाबी गरे सुमेरूमा देखिएको खास समस्या के हो ? आर्थिक डट कमका प्रधान सम्पादक रोशन राउतले पूर्वअध्यक्ष महर्जनलाई केही प्रश्न गरेका छन् उत्तरमा सुमेरू सेभिङ्गका कारण आफू भाग्नुपर्ने कुनै कारण नभएको आफू कामको शिलशिलामा विदेशमा रहेको बताए :

सुमेरू सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभको रकम हिनामिना गरेर तपाईले नेपाल छाड्नुभएको आरोप नि ?

मैले पनि यो आरोप केही सञ्चारमाध्यममा पढे र सुने । यो पुष्टि नहुने आरोप मात्र हो । आरोपमा भनिए झै मैले सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभको रकम हिनामिना गरेर नेपाल छाडेको हैन । कामको शिलशिलामा केही समयको लागि म विदेशमा छु ।

तपाई अहिले खासमा कुन मुलुकको कुन ठाउँमा हुनुहुन्छ ?

म अहिले व्यक्तिगत कामको शिलशिलामा विदेशमा रहेको छु । एशिसन र युरोपियन गरी पाँच/सात वटा मुलुकमा मेरा कामको शिलशिला चलिरहेको छ । कहिले कहाँ पुगिन्छ कहिले कहाँ निश्चित गन्तब्यमा ढुक्कले बस्न पाइरहेको छैन् । बस्ने गन्तब्य ‘फिक्स’ भएपछि भनौंला ।

तपाईले सुमेरू सेभिङ्गको रकम हिनामिना गरेको छैन भन्नुभयो संस्थाले अहिले बचतकर्ताको पैसा फिर्ता गर्न सकिरहेको छैन्, कहाँ गयो बचतकर्ताको पैसा ?

सुमेरु सेभिङ्ग स्थापना पछि मेरो अध्यक्षतामा केही बर्ष चल्यो । मेरो अध्यक्षतामा चलिरहेको समयमा कुनै पनि बचतकर्तालाई पैसा फिर्ता नदिएको ‘रेकर्ड’ छैन । मेरो कार्यकालमा त बचत फिर्ताको लागि कार्यालय पनि आउनु पर्दैनथ्यो । फोन गरेकै भरमा बचतकर्ताको घर–घरमा पैसा पु¥याउने व्यवस्था गरेका थियौं । म सञ्चालकबाट बाहिरिएको पनि धेरै बर्ष भयो । जहाँसम्म अहिले बचतकर्ताको रकम फिर्ता नगरेको सन्दर्भ छ । त्यो विषयमा म खासै ‘अपडेट’ छैन । मैले थाहा पाए अनुसार संस्था नयाँ व्यवस्थापनबाट सञ्चालन भइरहेको छ । त्यही व्यवस्थापनले बचत फिर्ताको साथै संस्थालाई नयाँ ढंगबाट पुरानै अवस्थाबाट नियमित ढंगले सञ्चालन गर्ने प्रयास गरिरहेको मैले सञ्चारमाध्यमबाटै पढे । नयाँ व्यवस्थापन सञ्चालन गर्नेहरु नेपालकै प्रतिष्ठित व्यक्तित्वहरु हुनुहुँदो रहेछ । मलाई आशा र विश्वास छ उहाँहरुले संस्थामा पछिल्लो समयमा देखिएको समस्याको समाधान चाँडै गर्नुहोला ।

तपाईको कार्यकालमा अनुगमनकारी निकायबाट रकम हिनामिना गरेको विषयमा प्रश्न उठाएको थियो ?

मेरो कार्यकालमा संस्था सहकारीको सिद्धान्त, नीति, विधि र पद्दतीबाट सञ्चालित थियो । संस्थागत सुशासन, आर्थिक अनुशासन र पारदर्शीतामा पनि हामी ‘क्लियर’ नै थियौं । ठूलो कारोबार गर्ने संस्था भएकाले सुमेरु नेपाल सरकारको अनुगमनकारी निकाय सहकारी विभाग, तत्कालिन डिभिजन सहकारी कार्यालयको नियमन मै सञ्चालित थियो । मेरो कार्यकालमा अनुगमनकारी निकायले रकम हिनामिनाको त्यस्ता त्रुटि भेटेको भए त्यतिबेलै मलाई कारवाही गर्दथ्यो होला र हामी सच्चिन्थ्यौं पनि । सामान्य मानवीय त्रुटि भनेको सबैबाट हुन्छ, हामीबाट पनि भएको छैन म भन्दिन । हामीले नियतबस बचतकर्तालाई र राज्यलाई ठग्ने काम भने गरेनौं । त्यस्तै हामीले बुझ्नुपर्ने अर्को कुरा के छ भने मेरो कार्यकालमा संस्थागत सुशासन, आर्थिक अनुशासन र पारदर्शीतामा ‘खोट’ भए त्यस्ता संस्थालाई नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)ले सदस्यता पनि दिंदैनथ्यो । बचत तथा ऋण सहकारी अभियानको केन्द्रीय अविभावक संस्था नेफ्स्कून आफैंमा त्यस्तै पारदर्शी र अनुशासित संस्था हो । आफू जस्ता अनुशासित र पारदर्शी संस्थालाई मात्रै नेफ्स्कूनले सदस्यता बनाउने व्यवस्था गरेको छ । त्यही व्यवस्थालाई टेकेरै सुमेरुलाई नेफ्स्कूनले सदस्यता दिएको थियो ।

अहिले सर्बसाधारणको बचत फिर्ता गर्न पैसा छैन् संस्थामा बचत गरिएको पैसा कहाँ गयो ? कसरी आएको हुनसक्छ यस्तो समस्या ?

म संस्थाको सञ्चालक समितिमा नरहेको धेरै बर्ष भइसक्यो । पछिल्लो समय संस्थामा मेरो भूमिका भनेको साधारण सदस्यको हैसियतले साधारणसभामा उपस्थिति हुने, संस्थाको हित र प्रगतिमा आफूले जानेबुझेको सुझाब दिने हो । त्यस्तै संस्था गलत बाटोमा लागेको थाहा भए खबरदारी गर्ने मात्रै हो । एउटा प्रारम्भीक सहकारी संस्थाको सदस्यको काम कर्तव्य र अधिकारको विषयमा तपाईलाई थाहा भएकै कुरा हो । अन्यथा संस्थामा मेरो केही भूमिका रहन्न् ।
मेरो कार्यअवधिमा संस्थाको केही रकम तरलता व्यवस्थापनार्थ बैंकमा बचत गरेर राखिएको थियो । केही पैसा सदस्यहरुलाई बजारमा लगानी गरिएको थियो । केही रकम संस्थाले पूर्वाधारमा लगानी गरेको छ । जुन अहिले संस्थाको ठूलो सम्पत्तिको रुपमा रहेको छ ।
अहिले मुलुक मन्दिमै चलिरहेको कुरा सर्वविदितै छ । यस्तो अवस्थामा सुमेरुको मात्रै हैन, अन्य सहकारी र बैंक वित्तीय संस्थाको समेत पैसा समयमा असुल भइरहेको छैन । सायद सुमेरुको पनि बजारमा सदस्यलाई गरिएको लगानी नउठेर समस्या भइरहेको होला कि भन्ने मलाई लागिरहेको छ । कर्जा असुलीका साथै संस्थालाई सामान्य अवस्थाबाट सुचारु गर्न नयाँ व्यवस्थान लागिरहेको मैले सुनेको छु । मलाई आशा र विश्वास छ, संस्थामा देखिएका यावत समस्या चाँडै समाधान होला ।

‘‘म प्रसस्तै पूर्खौंली सम्पत्ति भएको मान्छे हुँ । मेरो परिवारका अन्य सदस्यहरु शिक्षित भएकाले पनि राम्रै स्थानमा ‘सेटल’ भइसकेका छन् । दुई चार पुस्तालाई खाना लाउन मैले कसैको ठगेर खानु पनि पर्दैन । जहाँसम्म म कामको शिलशिलामा विदेशमा रहेको समयमा रकम ठगेर भाग्यो भन्ने कुरा सुनिन आयो । जुन दुःख लाग्दो कुरा हो । जुन निराधार र अफवाह मात्रै हो । म विदेशमा पनि जानु, आफू पूर्वअध्यक्ष रहेको उक्त संस्थाले सदस्यको बचत रकम समयमा फिर्ता गर्न नसक्नु सबै संयोग मात्रै हुन् । त्यसरी नै बुझिदिन म सबैसँग आग्रह गर्दछु ।’’                                                             

                                                                                                                                     ***

त्यसो भए तपाईले संस्थाको एक रुपैयाँ पनि चलाएको छैन भनेर हामीले बुझ्ने हो ?

म पनि संस्थाको सेयर सदस्य हुँ । मैले बचत गर्न र चाहेको समयमा संस्थाको नीति विधिअनुसार कर्जा लिन सक्छु । त्यो मेरो मात्रै होइन एउटा संस्थाको सेयरधनी सबैले पाउने अधिकार पनि हो । त्यो अधिकार मैले प्रयोग नगरेको छैन म भन्दिन । संस्थाबाट कर्जा लिएको भए र देखिएको छ भने तिर्नुपर्छ भन्ने मेरो मान्यता हो र त्यस्तो रकम देखिए म तिर्न पनि तयार छु ।

त्यसोभए तपाईले सुमेरुको अर्बौ रकम हिनामिना गरेको हल्ला निराधार नै हो ?

यो सब निराधार हल्ला र अफवाह हुन् । एउटा प्रारम्भीक संस्थामा कुनै पनि व्यक्तिले त्यतिका ठूलो रकम र त्यसरी हिनामिना गर्नै सक्दैन् । संस्था एउटा नीति, विधि र पद्दतीबाट चलेको हुन्छ । ऋण लगानी गर्न ऋण समिति हुन्छ । संस्था र सञ्चालक समितिलाई जवाफदेहिता र पारदर्शीतामा खबरदारी गर्ने लेखा समिति हुन्छ । संस्थाको पैसा बाहिरिने कुरा सबै टिमको निर्णय र सहमतिबाट मात्रै हुन्छ । चाहे कर्जा लगानी होस या कुनै प्रयोजनमा पैसा बाहिरिने कुरा । यो प्रसंग मेरो सवालमा त शतप्रतिशत निराधार नै छ र त्यो अफवाह नै हो । अन्य धेरै सहकारीका अध्यक्षले समेत यति अर्ब र उति अर्ब रकम हिनामिना ग¥यो भन्ने सुन्छु । त्यो पनि बस्तुपरक र यथार्थपरक छ जस्तो मलाई लाग्दैन् । बजारमा लगानी गरेर नउठेको रकम समेत अध्यक्षले हिनामिना ग¥यो भन्ने सुन्छु । यो सब नेतृत्वको थाप्लोमा हालिदिने ‘ट्रेन्ड’ मात्रै हो जस्तो मलाई लाग्छ ।
पूर्वअध्यक्ष र सुमेरु नामबाट मैले आधा दर्जन भन्दा बढी व्यवसायिक संस्था चलाएकाले पनि मलाई अहिले सुमेरू सहकारीसँग जोडेर हेर्ने गरिदो रहेछ जुन दुःख लाग्ने विषय हो । ‘कागले कान लग्यो’ भनेर कागको पछि दौडिनु भन्दा पनि कान छाम्न म सबैलाई आग्रह गर्दछु । म पूर्खौंली सम्पत्ति प्रसस्तै भएको मान्छे हुँ । मेरो परिवारका अन्य सदस्यहरु शिक्षित नै छन् । उनीहरु राम्रै स्थानमा ‘सेटल’ भइसकेका छन् । दुई चार पुस्तालाई खाना लाउन मैले कसैको ठगेर खानु पनि पर्दैन । जहाँसम्म म कामको शिलशिलामा विदेशमा रहेको समयमा रकम ठगेर भाग्यो भन्ने कुरा सुनिन आयो । जुन दुःख लाग्दो कुरा हो । जुन निराधार र अफवाह मात्रै हो । म विदेशमा पनि जानु, आफू पूर्वअध्यक्ष रहेको उक्त संस्थाले सदस्यको बचत रकम समयमा फिर्ता गर्न नसक्नु सबै संयोग मात्रै हुन् । त्यसरी नै बुझिदिन म सबैसँग आग्रह गर्दछु ।

रकम हिनामिनाको विषयमा राज्यले पनि तपाईलाई खोजिरहेको ?

यो कुरामा म पनि आश्चर्यमा छु । मैले यसअघि पनि भनिसकेको छु । म अध्यक्ष भएको समयमा बचतकर्ताको पैसा घर–घरमै पु¥याइदिएको थिए । मैले अध्यक्ष छाड्दा बचतकर्ताको केही पैसा बैंकमा तरलताको लागि बचत थियो । केही पूर्वाधारमा लगानी भएको थियो भने केही पैसा बजारमा कर्जाको रुपमा गएको थियो । राज्यले मलाई खोज्नुभन्दा पनि लगानी भएको रकम असुल्न सहयोग गरिदिए सेयर सदस्यको हैसियतमा म आभारी हुने थिए । पूर्वाधारमा भएको लगानी नयाँ व्यवस्थापनले नगदमा रुपान्तरण गरिदिओस् । संस्थामा देखिएको सबै समस्या हल भइहाल्छ ।

मैले तपाईलाई प्रश्न उठान गर्न खोजेकोराजनीतिक उन्मुक्तिको विषय पनि थियो, तपाईको भनाईमा त्यो विषय उठान गर्नै नपर्ने देखिएको हो ?

म एउटा व्यवसायी हो । केही बर्ष अघि सहकारीकर्मी पनि थिए । अहिले सहकारीको सेयर सदस्य हुँ । राजनीतिक आस्था कुनैमा होला त्यो फरक कुरा हो तर, जहाँसम्म सहकारीलाई जोडेर ‘राजनीतिक उन्मुक्ति’को कुरा गर्न खोज्नु भएको हो भने यो विषय म मा लागू हुन्न् । र, उन्मूक्ति पाउने गरी मैले सहकारीमा लागेर कुनै गल्ति पनि गरेको छैन । संस्था खोल्नु, संस्थामार्फत सदस्यको आर्थिक तथा सामाजिकस्तर उकास्न खोज्नु, मुलुकमा व्यवसायिक संस्था खोलेर आर्थिक गतिविधि बढाउनु, राज्यलाई रोजगारी र राजश्वमा योगदान दिनुलाई मेरो गल्ती नभनिदिन म आग्रह गर्दछु ।
म व्यवसायी पनि भएकाले धेरैजसो स्थानीयस्तरदेखि उच्चतहका सबैदलका नेतासँग मेरो राम्रो सम्बन्ध छ र हुनुपनि पर्छ । मुलुक परिवर्तन र मुलुकको सर्वोपरी हितका लागि सबै राजनीतिक दल र राजनीतिज्ञहरुले गर्नु भएको त्याग र मेहनतलाई म समान सम्मान गर्छु ।

तपाई अध्यक्ष भएको कार्यकालमा संस्था कसरी चलाउनु भएको थियो ?

हामीले सहकारीको सिद्धान्तबाट अभिप्रेरित भएर संस्था स्थापना ग¥यौं । सहकारीकै नीति र विधिबाटै संस्था सञ्चालन गरिरह्यौं । त्यो कुरा सरकारकै अनुगमनकारी निकाय सहकारी विभाग र तत्कालिन डिभिजन सहकारी कार्यालयलाई पनि थाहा छ । म अध्यक्ष रहेको समयमा अन्य सहकारीले दिने सेवा भन्दा अतिरिक्त धेरै सेवाहरु दिएर सदस्यलाई लाभन्वित तुल्याएको थियौं । थुप्रै सामाजिक तथा लोक कल्याणकारी काम गरेका थियो । बचत गर्न संस्थामा आइरहनु पर्दैनथ्यो । आवश्यक परेको स्थानमा बचत संकलनको लागि घरमै जान्थ्यौं । त्यस्तै बचत फिर्ता लिन बचतकर्ताहरु कार्यालय आइरहनु नै पर्दैनथ्यो । खातामा भएको जति बचत छ उहाँहरुलाई फोनको भरमा घर–घरमै पु¥याइदिने व्यवस्था गरेका थियौं । सदस्यहरुलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएका थियौं । विशेष छुटमा स्वास्थ्य सेवा पनि उपलब्ध गराएका थियौं । संस्था स्वस्फूर्त सञ्चालनमा थियो । कुनै त्यस्तो समस्या थिएन् ।

‘‘मेरो कार्यकालमा संस्था सहकारीको सिद्धान्त, नीति, विधि पद्दतीबाट सञ्चालित थियो संस्थागत सुशासन, आर्थिक अनुशासन पारदर्शीतामा पनि हामी क्लियर नै थियौं ठूलो कारोबार गर्ने संस्था भएकाले सुमेरु नेपाल सरकारको अनुगमनकारी निकाय सहकारी विभाग, तत्कालिन डिभिजन सहकारी कार्यालयको नियमन मै सञ्चालित थियो मेरो कार्याकालमा अनुगमनकारी, नियमनकारी निकायले रकम हिनामिनाको त्यस्ता त्रुटि भेटेको भए त्यतिबेलै मलाई कारवाही गर्दथ्यो होला हामी सच्चिन्थ्यौं पनि सामान्य मानवीय त्रुटि भनेको सबैबाट हुन्छ, हामीबाट पनि भएको हुन सक्ला । हामीले नियतबस बचतकर्तालाई राज्यलाई ठग्ने काम गरेनौं ।’’

                                                                                                                                         ***

विगतमा सहकारी संस्था सञ्चालनको अनुभवले सुमेरूलगायत अन्य सहकारीमा कसरी यस्तो समस्या आइरहेको जस्तो लाग्छ ?

सबैले बुझ्नु पर्ने कुरा के छ भने लामो समय कोभिडको असर, राजनीतिक अस्थिरता, स्थानीयस्तरमा आर्थिक गतिविधि गर्ने होनाहार युवाहरु बिदेशिने बढ्दो क्रम जस्ता कारणले मुलुक आर्थिकरुपमा ‘रोगी’ छ । राज्यलाई लागेको रोगको असर सबैक्षेत्रमा पर्नु स्वभाविक नै हो । सहकारी र त्यसमा पनि सुमेरुमा राज्यलाई नै लागेको रोगको असर नहुने भन्ने त कुरै हुन्न् । दैनिक प्रकाशित हुने सयौं कर्जा तिर्ने सूचनाले पनि यो कुरालाई पुष्टि गर्छ जस्तो लाग्छ मलाई । नेपालको अर्थतन्त्र उभो नलाग्ने कता कता ‘रोग’ लागेको हो की, बातावरण सुध्रिन समय नै लाग्ने हो कि भन्ने मलाई लागेको छ । नत्र म पनि यसरी संभावना खोज्दै विदेशिनु पर्दैनथ्यो । विभिन्न दर्जनौं व्यवसायिक संस्था खोलेर राज्यलाई करोडौं राजश्व बुझाउने र हजारौंलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगार दिइरहेका म जस्ता व्यवसायीलाई अहिले मेरो जस्तो विदेशिने चाहाना भइरहेको छ कि भन्ने मलाई लागेको छ । म नेपाली हुँ, नेपालको मायाँ नहुने भन्ने कुरा आएन । समय अनुकुल भए फेरि आर्थिक गतिविधिमार्फत राज्य र राजश्वलाई योगदान दिने हिसावमा म नेपाल फर्केर सेवा पु¥याउनेछु ।

सुमेरू सेभिङ्गको पूर्वअध्यक्षको हैसियतले संस्थाका सदस्यलाई तपाई केही भन्न चाहानुहुन्छ ?

सुमेरु सेभिङ्ग मेरै अध्यक्षतामा विगत २६ बर्ष अगाडि स्थापना भएको संस्था हो । आफूले दुःख मेहनत गरेर स्थापना गरेको सहकारी भएकाले पनि मलाई सुमेरु सेभिङ्गको असाध्य माया लाग्छ । म संस्थामा नरहे पनि संस्था राम्रो भइदिओस, कुनै व्यक्तिका कारण संस्थाका सदस्यले दुःख नपाउन भन्ने मेरो कामना र शुभेच्छा रहेको छ । मैले संस्था छाडेको समयमा संस्थाको अवस्था अहिलेको जस्तै प्रतिकूल थिएन् । अहिले मुलुककै अवस्था र परिस्थिति प्रतिकुल छ । लगानी गरिएको रकम समयमा नउठ्ने ‘रोग’ सबैजसो वित्तीय संस्थामा रहेको छ । त्यसैले सुमेरुमा पनि यो समस्या देखिएको हुन सक्छ । मैले सुनेको छु अहिले सुमेरु सहकारीको व्यवस्थापन नयाँ र प्रतिष्ठित व्यक्तिहरुबाट भइरहेको छ । संस्थालाई पुरानै अवस्थाबाट नियमित सञ्चालन गर्ने सम्बन्धमा उहाँहरुको ‘इफोर्ट’ ले काम गर्न सक्छ भन्नेमा म विश्वस्त छु । तत्काल नगदको अभाव भएपनि अचल सम्पत्तिमा सुमेरु सहकारीको आधार बलियो छ । संंस्थाहरु प्राइम लोकेशनमा रहेका छन् । सबै ठाउँका संस्थाको आफ्नै आधुनिक र सुविधा सम्पन्न भवनहरु रहेका छन् । दायित्व जति छ त्यो भन्दा बढी सम्पत्ति रहेको छ । अर्थतन्त्रमा आएको मन्दीको हुण्डरीले केही समय असहज भएको हुनसक्छ । यो सधैंभरी नरहला । संस्थाको पूर्वअध्यक्ष भएको हैसियतले म सबैलाई धैर्य गरेर संस्थालाई पुरानै अवस्थाबाट सञ्चालन गर्न र गराउन सहयोग गर्न अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij