२०८३ साउन १० आइतबार

‘नेपाल अन्तर्राष्ट्रिय आर्थिक शिखर सम्मेलन’ हुँदै, भारतका उच्च तहका पदाधिकारीलाई मन्त्री भण्डारीको तर्फबाट निम्तो

ई आर्थिक    बुधबार, माघ १६ २०८१
9.3K
Shares
‘नेपाल अन्तर्राष्ट्रिय आर्थिक शिखर सम्मेलन’ हुँदै, भारतका उच्च तहका पदाधिकारीलाई मन्त्री भण्डारीको तर्फबाट निम्तो

काठमाडौं । आगामी मार्चमा आयोजना हुने ‘नेपाल अन्तर्राष्ट्रिय आर्थिक शिखर सम्मेलन’ मा भारतबाट उच्च तहका पदाधिकारीको सहभागिताका लागि नेपालले निम्ता दिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भारत सरकार, विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरबीचको भेटमा यस्तो निम्तो दिइएको मन्त्रालयले जनाएको छ ।

नेपाल सरकार र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा २–३ मार्चमा यस्तो सम्मेलन आयोजना हुने समेत मन्त्रालयको भनाइ छ ।

सोमबार भएको भेटमा मन्त्री भण्डारीले भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार भएको र व्यापारको आकार समेत बढेको उल्लेख गर्दै अपेक्षित निर्यात भने बढ्न नसकेको बताएका थिए ।

यसलाई नीतिगत रूपमै सम्बोधन गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाइ छ । यसका लागि विद्यमान व्यापार सन्धि संशोधन गर्न दुवै देशका सहसचिव स्तरमा रहेको प्राविधिक समिति बैठक बसेर टुंगोमा पुर्‍याउनुपर्नेमा मन्त्री भण्डारीले जोड दिएका थिए ।

उक्त अवसरमा हालै वाणिज्य सचिवस्तरको अन्तरसरकारी समिति (आईजीसी) बैठकमा बीआईएस प्रमाणपत्र जारी तथा नवीकरणमा नेपाली वस्तुका लागि प्राथमिकताका आधारमा शीघ्रता दिने प्रतिबद्धता भए पनि अझै पनि यसमा काम नभएको गुनासो आएकोबारे मन्त्री भण्डारीले भारतीय पक्षलाई जानकारी गराएका थिए ।

भेटमा पारवहन सन्धिमा समसामयिक परिमार्जन गर्न भारत सरकारको सहमतिका लागि पठाइएका ‘लेटर अफ एक्सचेन्ज’ चाँडो टुंग्याउने, भारत सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा निर्माण सहमति भएका दोधारा–चाँदनी आईसीपी, पेट्रोलियम पाइपलाइन निर्माण, बैतडी झुलाघाट र डडेलधुरा सिर्समा मोटरेबल पुनर्निर्माणलाई तीव्रता दिनेबारे समेत छलफल भएको मन्त्रालयले जनाएको छ ।

भेटमा अतिरिक्त सचिव महावरले छिमेक पहिलो नीति अन्तर्गत नेपाललाई भारतले उच्च प्राथमिकता दिएको बताए । उनले भेटमा उठेका विषय सम्बोधन गर्न आफ्ना तर्फबाट सम्बद्ध निकायसँग समन्वय गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij