२०८३ साउन १० आइतबार

तनहुँ जलविद्युत आयोजनाद्वारा बेनीपाटनमा विद्यालय भवन निर्माण

ई आर्थिक    मंगलबार, माघ १५ २०८१
3.1K
Shares
तनहुँ जलविद्युत आयोजनाद्वारा बेनीपाटनमा विद्यालय भवन निर्माण

ई-आर्थिक, काठमाडौं । तनहुँ जलविद्युत आयोजनाले  व्यास नगरपालिका–५ बेनीपाटनमा विद्यालय भवन निर्माण गरेको छ । सामाजिक विकास कार्यक्रमअन्तर्गत  निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युतले आयोजना प्रभावित व्यास नगरपालिका–५ बेनीपाटनमा विद्यालय भवन निर्माण सम्पन्न गरेको हो ।

जलविद्युत आयोजनाले आफ्नै खर्चमा  व्यास नगरपालिकाले उपलब्ध गराएको जग्गामा पराशर माध्यमिक विद्यालयको २ तले ८ कोठा भएको पक्की भवन  निर्माण सम्पन्न गरेको हो ।

आयोजनाबाट निर्माण गरिएको नवनिर्मित भवन १४ माघ सोमबारका दिन विद्यालयको ३३ औं स्थापना दिवस तथा अभिभावक भेलाको अवसरमा आयोजित कार्यक्रमकाबीच हस्तान्तरण एवम् उद्घाटन गरिएको तनहुँ हाइड्रोपावर लि.का सञ्चारविज्ञ सचेन गौतमले जानकारी दिए ।

आयोजनाबाट विद्यालय भवन व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलाई हस्तान्तरण गरिएको हो । नवनिर्मित उक्त भवनको नगरपालिकाका प्रमुख न्यौपानेले उद्घाटन गरेका हुन्  ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले लागू गरेको डिजाइनअनुसार निर्माण गरिएको विद्यालय भवन भूकम्प प्रतिरोधी एवम् अपाङ्गमैत्री रहेको छ ।

भौतिक रुपमा विद्यालयको पूर्वाधार बलियो र सुरक्षित हुँदा यसको सकारात्मक प्रभाव विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षकलगायत सबैलाई पर्ने आयोजनाले विश्वास लिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij