२०८३ भाद्र २८ आइतबार

उदयपुर सिमेन्ट उद्योग लिमिटेडको अढाइ बर्षे अवधिको अनुभव

ई आर्थिक    सोमबार, माघ ७ २०८१
6.8K
Shares
उदयपुर सिमेन्ट उद्योग लिमिटेडको अढाइ बर्षे अवधिको अनुभव

गोपीकृष्ण न्यौपाने

उदयपुर सिमेन्ट उद्योग लिमिटेडको अढाइ बर्षे अवधिको जीएमको  अनुभव व्यक्त गर्दैछु ।  हो मैले बिराएं, आज सार्वजनिक गर्दैछु ।  अलि लामो छ तर संस्थान उभो नलाग्नुको कारण खोजिरहेका मित्रहरूलाई यी मेरा कार्यकालका कमजोरीहरुले दिने जबाफले केही न केही सहायता गर्नेछ ।  नियुक्ति त गरियो, तर सहयोग केही भएन ? भन्नेहरुलाई केही दिन सकिन। स्थानीय स्तरमा पार्टीहरुसंग भेटघाट र वहाँहरुले अपेक्षा गरेको पूरा गर्न सकिन ।  मैले आम मजदुर साथीहरुको हितमा काम गरें, युनियनको नाममा भैरहेको बेथिति रोकें, अध्यक्षहरुले आफ्नो अधिकार खोसिएको महसुस गर्नुभयो, वहाँहरुको व्यक्तिगत स्वार्थ पूरा गर्न सकिन ।

उद्योगमा जित्ने माननीयज्यूहरुलाई बोलाएर स्वागतको नाममा लाखौं रुपियाँको भोजभतेर गर्ने चलनलाई निरन्तरता दिन सकिन ।  ठेकेदारहरुको प्रेसरलाई हल्का लिएं, वहाँहरुको स्वार्थ पूर्ति गर्न सकिन, उद्योगमा थिएन, समयमा पेमेण्ट गर्न सकिन, अलिकति मैले आफैले बनाएको सिष्टम उल्लंघन गर्न पनि सकिन, माफ गर्नुहोला है मित्र ।
जापानको कोल मिल सप्लायर्सको स्पेसिफिकेसन लुकाएर बिना निर्णय अर्कै स्पेसिफिकेसन बनाएर बर्षौं देखि लुटिरहेको थाहा पाएपछि टुलुटुलु हेर्न सकिन।२०४४ सालदेखि कम्पनी रजिस्ट्रारको कार्यालयमा एउटा कागज पनि बुझाएको रहेनछ, अद्यावधिक गराएर शेयर लगत लिएं, १५ आ.ब. को साधारणसभा गराएं, पहिलो पटक वार्षिक प्रतिबेदन सार्वजनिक गरें, हो मैले त्यसो गर्नु नहुने रहेछ,  राती गएर चेकिङ गर्दा सिआरटुमा र इलेक्ट्रीकल बिभागमा साथीहरु मस्त निन्द्रामा हुनुहुन्थ्यो, उता किल्न जाम भएर मेसिन ट्वांट्वां कराइरहेको हुन्थ्यो, लाज छोप्नलाई मेरो गार्ड पठाएर साथीहरुलाई उठाएर म आएको संकेत गरेपछि मात्रै म पस्थें, तरपनि कारबाही गरिन, त्यो मेरो कमजोरी रह्यो ।  एकजना मन्त्री उद्योगमा पुग्दा ५ लाखसम्म खर्च भएको भेटें, तर मेरो पालामा झण्डै अढाइ बर्षमा करीब १ सय जना भिआइपी जांदा २ लाख पनि खर्च गरिन, नो दारु अभियान सबैभन्दा चोटिलो कमजोरी रह्यो मेरो, कोइला लगायतको कच्चापदार्थको भुक्तानी चेक बाट होइन, सिमेन्ट दिएर गर्ने चलन तोडिदिएं, साथीहरू लाई चोट परेछ, माइण्ड नगर्नुहोला है ।

भौतिक परीक्षण गर्दा ४७ करोडको (महालेखा प्रतिवेदन अनुसार) क्लिंकर भेटिएन, मैले संचालक समितिमा पेस गरें, भूल गरें, बिराएं। कोइलाको सर्टेज भएको बेला लोडर अप्रेटर भाइहरुले कोइला गाडेको संकेत गर्नुभयो, कोइला उत्खनन् गरेर ६ हजार ५ सय टन निकालियो र चलन गरियो, उत्पादन भइ नै रह्यो, १५ करोड जतिको बचत गरियो, मेरो कमजोरी रह्यो ।  बर्षौंदेखि किन्दै स्टोरमा थुपारिएका पार्ट्सहरु एकत्रित गरें, इआरपी सिष्टममा हालें, तिनै पार्टपुर्जा चलाएं, खासै किनिन, यो पनि साथीहरूको चित्त दुखाइ, मेरो कमजोरी ।
पहिला फेरेको किल्न सेल ५.८ मिटरको ६ करोड ९२ लाख, मैले टेण्डर गर्दा २०.८ मिटरको ६ करोड ८ लाख, मैले त राम्रै गरेजस्तो लाग्या थियो, केही मित्रहरूलाई टेन्सन भएछ, बिराएं मित्र , नयाँ अध्यक्ष र संचालकहरु आउनुभयो, स्वागत गरियो, अध्यक्षज्यूले त नीति बनाएर दिनुहोला भनेको त,कार्यकारी अधिकार तिर पो। कोइला किन्ने तिर पो । जिएम हटाउन युनियनहरुलाई उचाल्नुभो, पछार्नुभो, बेइज्जत गराउन कोसिस गर्नुभयो, म मुकदर्शक भएर बसें, ।  उल्टै मन्त्रीज्यूकोमा उजुरी, मेरै छानबिन, गलत रिपोर्टिङ, हटाउने प्रपन्च, निर्देशिकाले थपेको एक बर्षको अवधि युनियनका नेतालाई मजा, सर्बोच्चमा मुद्वा, अख्तियारमा उजुरी, बिचरा श्रमजीवी कामदारको बिचल्ली।

मलाई भ्रष्टाचारीको संज्ञा दिइयो, ठूलो आन्दोलन गरे, केही पात्रहरु सफल भए, उद्योग बन्द गराएर सदाको लागि प्रमाण मेटाउने भित्री रहस्य कति सफल भयो उनै जानुन्, थाहा पाएर पनि केही गर्न सकिएन, मेरो कमजोरी,
२०७८ असौजसम्म आफ्नै कमाइबाट रिटायर्ड साथीभाइ हरुलाई १५ करोड भुक्तानी दिएं, यो सबैभन्दा कमजोरी मेरो, सामाजिक सापटी लगायत पाउने सुबिधाको सिष्टम बसालें, अध्यक्षले आएर टेबुल ठटाएपछि दिने गरेको रहेछ, उनको पनि स्वार्थ पूर्ति हुन्थ्यो रे, मेरो भूल,
टेण्डर आव्हान गर्दा आफ्नै वेबसाईट बाट गरिदो रहेछ मैले पिपिएमओबाट गराउन थालेपछि एकथरीको टाउको दुख्यो ।

मिलेमत्तोमा उद्योग नै बन्द गराउने मनसायले सिमेन्ट मिसिनुपर्ने जिप्समको मात्रा घटाए, त्यो बेला केही सिनियर पदाधिकारीहरुले जबाफ दिन पर्ला भनेर मोबाइल स्वीच अफ गरेर बसे, सबै टाउको दुखाइ जिएमलाई बनाए, निकै ठूलो डिजाइन रहेछ पछि बुझ्दा । जसोतसो सबै ठाउँ गएर बुझाइयो, राम जिसी, असल राई प्रति म ऋणी पनि छु । सल्टियो, संचालक समितिले कारबाही गर्न निर्देशन दियो, ग्रेड रोक्का धेरै जनाको भयो, कडा कारबाही नगर्नु मेरै कमजोरी रह्यो । यो खेलमा नजिकका निजी उद्योगहरुको पनि हात हुनसक्छ भनेर जलजलेतिर मलाई सुनाउदै हुनुहुन्थ्यो । किनकी अघिल्लो बर्ष हामीले २२ लाख बोरा बेचेका थियौं, १८ लाख रुपैया त इन्सेन्टिभ खानुभयो, यस्तो व्यवस्था गर्नु मेरो कमजोरी भए स्वीकार्छु मित्र ।
बिद्युतको अनियमितता रोकें, अनावश्यक गाउँ तिर सप्लाइ भएको लाइनलाई गएको १० दिनमै कटाएं, साह्रै ठूलो भूल गरें, रातभरी टीकाजी लगायतको टीम संग कालो चिया खांदै, आगो ताप्दै मेसिन बनाउने श्रमिकहरुको हौसला बढाएं, मैले त्यसो गर्नु हुने थिएन रहेछ, भूल गरें,
सरुवा, बढुवामा कसैको कुरा सुनिन, नयाँ इन्जिनियरहरुलाई प्रमुख स्थानहरुमा सरुवा गरेर मेसिन जिम्मा लगाएं, मैले भूल गरें, मन्त्रीज्यू देखि प्रधानमन्त्रीज्यू सम्म धाएर १६ करोड ल्याउने जग बसाएं, मेरो पालामा स्वयं अध्यक्षले रोके, अन्ततोगत्वा पछि भए पनि आएको छ, त्यसरी काठमाडौ धाउनु सायद मेरो भूल थियो ।

महाबिर चौधरी जस्तो बफादार, काममा लगाव राख्ने, सोझो र उद्योग बनाउनुपर्छ भन्ने मित्रले अग्र भागमा रहेर मेरो बेइज्जत गर्ने काम गर्नुभयो, पछि माफी पनि माग्नुभयो, मैले कुनै कारबाही गरिन, चुप लागेर बसें, परिणाम राम्रो होला भनेको त, त्यही काण्ड देखि उद्योगको यो हालत भयो, मेरो कमजोरी होला यो पनि, आन्दोलन गर्दै यो जिएम हटेका भोलिपल्ट देखि उद्योग चल्छ मात्रै होइन, दौडन्छ भनेर पत्रकार सम्मेलन गर्ने मित्रहरुले जबाफ दिने बेला आएजस्तो छ अब, उद्योग दौडियो कि सुतियो भनेर। यी सबै मेरै कमजोरी थिए ।
बेल्टारको रातोमाटोको खानी स्वीकृत गराई सबै कुरा पूरा गरिएको थियो, आईइ गर्न मात्रै बांकी, यसो गर्नुहुन्न थियो ।

मैले त तत्कालको लागि ५ करोड मात्रै दिए पुग्छ, अरु ४० करोड राबा बैंकबाट सस्तो दरको लोन लिएर दैनिक २२ हजार बोरा सिमेन्ट उत्पादन गर्छु र तीन बर्षमा सबै लोन तिर्छु भनेर प्रतिवद्वता पत्र पेस गरेको थिएं, तर तत्कालीन माननीय मन्त्री #रमेशरिजालज्यूले सुन्नुभएन, वातावरण बनाउने भन्दा अरुको कुरा सुनेर मलाई घोक्रेठ्याक लगाउने तर्फ लाग्नुभयो र त्यतीबेलै निजीकरणको सिफारिस गरेर मन्त्रीज्यू पनि बाहिरिनुभयो, बर्षौंदेखि यत्रतत्र फालिएका, थुपारिएका पत्रुहरुको संकलन गरि अत्यन्त पारदर्शी ढंगले विभिन्न कमिटीहरुमा ४२ जना उच्च तहका कर्मचारी, जिल्ला प्रशासन कार्यालय, कोलेनिकाका प्रतिनिधिहरु समेतको सहभागिता गराई लिलाम बिक्रीको माध्यमबाट संचालक समितिबाट निर्णय गराई लिलाम गरिएको कुरा पटकपटक गोरखापत्रमा समेत छापिएको थियो, यसलाई पनि उचालियो, उफारियो, सबै डकुमेन्ट हेरेपछि आफै थेचारियो,
३ हजारको चन्दा दिने मेरो अधिकार, पहिले कति जान्थ्यो ? कहाँ जान्थ्यो ? र मेरो पालामा कति गयो ? तथ्यांक आफै बोल्छ मित्र, माग्न आउन जतिलाई चन्दा नदिनु मेरो कमजोरी ।

सिमेन्ट बांड्ने चलन, कति बांडिन्थ्यो यसो हिसाब हेर्नु त ! म दाबाका साथ भन्छु, मेरो पालामा बिल नकाटी, भुक्तानी नगरी एक किलो सिमेन्ट पनि तोक आदेशले बाहिर गएन, यही होला मेरो कमजोरी, फूलबारी, बगैँचा, क्यान्टीन, तालीम कक्ष आदिको संरक्षण र सम्वर्द्वन गर्नु मेरो कमजोरी
एउटै पत्रकारलाई बर्षको १६ लाख सम्म, अरु त कति कति ! मैले मेरा मित्र पत्रकारज्यू हरुलाई त्यो सम्मान गर्न सकिन, धेरैजना खुसी पनि हुनुभो, थोरै दु:खी । यो त झनै गर्नु नहुने काम गरेछु।  सम्पत्ति र दायित्वको यथार्थ मूल्यांकन गराएर एनएफआरएसको सिद्वान्त बमोजिम बित्तीय बिबरण तयार गर्न सफल भएं, अरबौं भन्दा बढी नोक्सानी जिरो गरेर केही करोड भएपनि रिजर्भ एण्ड सर्प्ल्समा रह्यो, यो त नकाम गरें मैले ।

उद्योगका कर्मचारी र उद्योग क्षेत्रका बासिन्दालाई पायक पर्ने देउरी हेल्थपोष्टमा आधुनिक प्रयोगशाला स्थापना गरिदिएं, एउटा एम्बुलेन्स दिलाएं, १६ नं. वडा खानी क्षेत्रमा एउटा एम्बुलेन्स दिलाएं, अरु बस्न पाएको भए लालपत्ता मेरो लक्ष्य थियो, चौदण्डीगढीको रातोमाटो खानी क्षेत्र मेरो लक्ष्य थियो, तर यसो गर्दा कांग्रेसका वडाध्यक्षको पक्ष लागे जिएम भन्ने आरोप पनि लाग्यो, उद्योगको पैसा खर्च नगरी यी काम गर्दा पनि बर्बराउने मित्रहरुको जय होस, मैले चै बिराएकै हो । यसरी नै बिराउदै जान पाइयोस । काग कराउंदै गर्छ, पीना सुक्दै गर्छ ।

त्यत्रो गुणस्तरीय खानी, अत्यन्त धेरै चूनढुंगाको स्टक, पुरानै भएपनि जापानीज मेसिन, संभाव्यता बोकेको उद्योग आज पनि चल्छ, मेरै जस्तो कमजोरी गर्ने जिएम पठाउनुभयो भने। हैनभने निजीलाई नबेचौं, चूनढुंगा मात्रै कसैलाई नबेचौं, उद्योग व्यवस्थापन करारमा दिएर चलाऔं, ठूलै राजस्वको स्रोत हुनेछ, मेरो सुझाव।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij