ई–आर्थिक, काठमाडौं । सम्पत्तिका कारण लामो समयदेखि पारिवारिक कलहमा फसेको व्यावसायिक घराना ‘ज्योति समूह’ औपचारिक रूपमा अलग्गिएको छ । रूप ज्योति र पद्म ज्योति दाजुभाइबीचको विवादका कारण छुट्टाछुट्टै व्यवसाय सम्हालिरहेको ज्योति समूह आइतबारदेखि औपचारिक रूपमा छुट्टिएको हो ।
४२ वर्षअघि अंशबण्डा भएर दाजुभाइ छुट्टिए पनि यो समूहका दाजुभाइबीचको सम्पत्ति विवाद बेलाबेला सतहमा आउने गर्छ । यसैबीच पछिल्लो समय ग्राण्डी सिटी हस्पितलका कारण विवादमा आएको थियो ।
आइतबार दाइ पद्म ज्योतिले ज्योति समूहलाई पद्म ज्योति समूहमा रूपान्तरण गरेका छन् । एक सार्वजनिक कार्यक्रम गरी विकास र सृजनशीलताको नयाँ यात्राको सुरुवात भएको पद्मज्योतिले बताए ।
‘धेरै बाधा र चुनौतीहरू पार गरे तापनि, यस समूह आफ्नो उत्कृष्टताको विरासतमा प्रतिबद्ध रहँदै, निरन्तर अघि बढिरहेको छ,’ उनले भने, ‘ज्योति समूहबाट पद्म ज्योति समूहमा परिवर्तनले प्रगति, अनुकूलनता र नयाँ अवसरहरूको खोजीमा हाम्रो समर्पण जनाउँदछ।’
आफूहरू अगाडि बढिरहँदा, विकास र सृजनशीलताको लागि नयाँ अवसरहरू खोज्दै हाम्रा ग्राहकहरूले अपेक्षा गरेको उच्च गुणस्तर कायम राख्न प्रतिबद्ध रहेको पनि उनले बताए । पद्म ज्योतिले औपचारिक समूह घोषणा गर्दा आफ्ना सबै परिवारको उपस्थिति रहेको थियो ।
यस समूहमा पद्म ज्योतिसहित सौरभ ज्योति, सृजना शाक्य ज्योति, सुह्रिद ज्योति र आरती ज्योति रहेका छन् ।
पद्म ज्योतिले नयाँ समूह घोषणा गरेसके पनि रुप ज्योतिको तयारी अनविज्ञ रहेको छ । उनले कहिले घोषणा गर्ने टुंगो नभइसकेको रुप ज्योति समूह स्रोतले जानकारी दिएको छ ।