२०८३ साउन ९ शनिबार

‘व्यापारीहरुमा कर्जा लिएर व्यापार गर्न सकिन्छ भन्ने विश्वास कम देखिएको छ’

ई आर्थिक    मंगलबार, मंसिर २५ २०८१
6K
Shares
‘व्यापारीहरुमा कर्जा लिएर व्यापार गर्न सकिन्छ भन्ने विश्वास कम देखिएको छ’

माधव प्रसाद उपाध्याय

प्रमुख कार्यकारी अधिकृत

गरिमा विकास बैंक लि.

नेपालको आर्थिक अवस्था कस्तो छ ?

बैंकिङ तरलताको अवस्था सहज किसिमको छ । विकास बैंकको अवस्था सामान्य अवस्था छन् । बजारमा धेरै तरलता छ, तर कर्जा मागको अवस्था कमजोर रहेको देखिन्छ । बजारमा व्यवसायिक वातावरण कम देखिएको छ । पछिल्लो समय सिंगल डिजिटमा कर्जाको व्याजदर रहेको छ । सबै बैंक तथा वितीय क्षेत्रहरुको बेस रेट तल छ । बजारमा कर्जाको दर बढी हुदा कर्जाको माग भएन भन्ने हुदो रहेनछ । व्यापारीहरुमा कर्जा लिएर व्यापार गर्न सकिन्छ भन्ने विश्वास कम देखिएको छ । यस पछाडिको कारण भन्दा ठूलो संख्यामा वैदेशिक रोजगारीका लागि मान्छेहरु बाहिरेका छन् । काम गर्न या पढ्नको लागि धेरै जनशक्तिहरु बाहिरिदा यसले उपभोग प्रणालीमा वा खपत ढाँचामा परिवर्तन ल्याएको छ । हामी आयात निर्यातमा आधारित अर्थतन्त्रमा रमाइरहेका छौ । हाम्रो अर्थतन्त्र ट्रेडिङ बेस छ । हामीले आफूले उत्पादन गरेर बेच्ने भन्दा पनि ट्रेडिङ बेस विजनेसमा बढी क्रियासिल छौ । एक ठाँउबाट सामान ल्यायो अर्को ठाँउमा बिक्री गर्ने प्रवृत्ति देखिन्छ । व्यक्ति वा संस्थाको जीवनमा उसको खर्च भन्दा आम्दानी हुन जरुरी छ ।

राज्य पनि हामीले खरिद गरेर खाने भन्दा बेच्ने चिजहरु बढी भयो भने देश धनी हुन्छ । हामीसंग बेच्ने चिज भनेको पहिलो विजुली र दोस्रो पर्यटन हो । पछिल्लो समयमा विजुली बेच्ने ट्रेन्ड भएको छ । नेपालमा आउने पर्यटनहरुले गर्ने खर्च भन्दा नेपालीहरुले विदेशमा गएर गर्ने खर्च बढी देखिएको छ । पर्यटन क्षेत्रबाट राम्रो आम्दानी भएको देखिदैन । हामीसंग पर्यटन क्षेत्रसंग भौतिक पूर्वाधार पनि अपुग छ । बाटोहरुको राम्रो संरचना छैन । हवाई प्रणालीमा मौसम र हवाइभडाका कारण पनि समस्या छ ।
व्यापारीहरुमा मौद्रिक नीतिले व्यापार गर्न धेरै सजिलो बनाउछ भन्ने धारणा छ यसमा धेरैको ध्यान मौद्रिक नीतिमा छ । व्यापारीहरुलाई मौद्रिक नीतिले भन्दा पनि आर्थिक नीतिले बढी गाइड गर्न सक्छ । यसले क्षेत्रगत प्राथामिकताका कुरा गरेको हुन्छ । मौद्रिक नीतिलाई व्यापारलाई जोडेर गर्नु हेर्नुभन्दा पनि उत्पादनशिल केन्द्रित भएर अगाडि बढ्दा राम्रो हुन्छ ।

हामीले पर्यटन बेच्न सक्नु पर्छ । सामाजिक सम्बन्ध र सँस्कृति राम्रो व्यवहार विकास गर्न आवश्यक छ । हामीले धेरै जनसंख्या भएका देश भारत र चीनलाई प्राथभिकतामा राखे नेपालमा पर्यटन क्षेत्रबाट आर्थिक लाभ लिन सक्नुपर्छ । कृषिक्षेत्र, पर्यटन क्षेत्र र धार्मिक पर्यटन, पर्यावरणीय पर्यटन, उत्पादन क्षेत्र, उद्योगको लगायत सबै क्षेत्रको विकास भएमा बैङ्किङ क्षेत्रपनि राम्रो हुने छ । बैङ्किङ क्षेत्रमा निक्षेप राख्न पनि धनी हुनपर्छ । ऋण लिन पनि धनी हुनपर्छ । बैंक एउटा यस्तो संस्था हो, जो सबै धनी होउन भन्छ । वचत राख्न पनि धनीले राख्ने हुन् ऋण पनि धनीले लैजाने हुन् । बैङ्किङ क्षेत्रले बैङ्किङ प्रणालीबाट व्यवसायिक वातावरण निर्माण गर्ने हो । बैंकले व्यपार व्यवसाय वृद्धि गर्न पुलको काम गर्छ ।

बैंकहरुमा तरलता थुप्रिएको छ भन्नुभयो । देशमा व्यवसायिक वातावरण कहिले बन्छ ?

व्यवसायिक वातावरण बन्नै पर्छ । तर अनुकूल समय कहिले हुन्छ भन्ने मात्र हो । विभिन्न राजनीतिक उतार चढावका कारण सरकारको अस्थिरता, नीतिगत अस्थिरता, आर्थिक अस्थिरता लगायतका कारण सरकार र राज्य प्रणाली प्रति व्यवसायी तथा जनताहरुको भरोसायोग्य वातावरण नबनेको हो कि भन्ने बजारले संकेत गर्छ । सरकारले नीति नियम बजनाउँदा कम्तिमा दश पन्ध्र वर्षसम्म काम गर्ने खालको बनाउनुपर्छ । जसले गर्दा लामो समयसम्म आर्थिक स्थिरता कायम हुन्छ । यसले गर्दा नयाँ उद्योग धन्दा संचालन गर्न मान्छेहरुले आकर्षित हुन्छन् । देशको अर्थतन्त्र चलायमान बन्छ । आर्थिक गतिविधिहरु बढ्छन् । र, समग्र देशको विकास हुन्छ ।
अहिले कतिपय मान्छेहरुले उद्योग व्यापार व्यवसाय गर्न चाहनेहरुलाई विना धितो कर्जा दिनुपर्छ भन्छन् । यसरी कर्जा प्रवाह गर्दा लगानी उच्च जोखिममा हुन्छ । बैंकको पैसा भनेको लगानीकर्ताको पैसा हो । बैंकको पैसा भनेको निक्षेपकर्ताको हो । हाम्रो मुख्य दायित्व भनेको निक्षेपकर्ताको निक्षेप सुरक्षित राख्नु हो । यसरी विना धितो कर्जा प्रवाह गर्दा परियोजना फेल भयो भने बीमा प्रणालीबाट होस् वा अन्य कुनै वैकल्पिक सरकारी प्रणालीबाट कर्जा चुक्ता हुन्छ भने ग्यारेन्टी हुनपर्‍यो । यो नहुदासम्म बैंकले विना धितो लगानी गर्नै सक्दैन ।

गरिमा विकास बैंकको निक्षेप तथा कर्जा लगानी के छ । पूँजी वृद्धि गर्ने सम्बन्धमा बैंकले के सोचाई राखेको छ ?

गरिमा विकास बैंककमा ८५ अर्ब रुपैयाँको निक्षेप रहेको छ । ७५ अर्ब रुपैयाँ भन्दा बढी लगानीमा हरेको छ । समग्र विकास बैंकको तुलना गर्दा गरिमा विकास बैंक कर्जा लगानी, निक्षेप संकलन, नाफा आदि सबै कुरामा दोस्रो स्थानमा छ । व्यापार वृद्धीको कुरा गर्दा मौद्रिक नीतिका कारणले आउदा साउन भदौमा व्यवसायिक वातावरण सकारात्मक जस्तो देखिएको थियो । तर फेरि अहिले मानिसहरुमा त्यो अवस्था छैन । अहिले देशको अर्थतन्त्र नै चलायमान अवस्था छैन । यसले गर्दा हामीले आक्रामक रुपमा व्यापार वृद्धि गर्न सकेका छैनौं । हामीले पनि सुस्त रुपमा व्यापार वृद्धी गरिरहेका छौ ।
हाम्रो ननपर्फम एसएसको कुरा गर्दा विगतका वर्षहरुमा एनपिएल एक प्रतिशतको हाराहारीमा थियो । तर अहिले तीन प्रतिशतको हाराहारिमा छ । असोजमा ४ प्रतिशतको हाराहारिमा एनपिएल पुगेको देखिन्छ । तर यसबाट आत्तिहाल्नुपर्ने अवस्था भने छैन ।

कस्ता क्षेत्रलाई प्राथमिकता दिएर बैंकले कर्जा लगानी गरिरहेको छ ?

नेपाल राष्ट्र बैंकले विकास बैंकका लागि तोकेका प्रायः सबै क्षेत्रमा नै हामीले लगानी गरेका छौं । अहिले प्रायः सबै वर्गका बैंक तथा वित्तीय संस्थाको लगानीको क्षेत्र उस्तै नै रहेको छ । यसरी हेर्दा हामीले ठूला ठूला परियोजनादेखि साना क्षेत्रमा पनि लगानी विस्तार गरेका छौं । खासगरी हामीले साना तथा मझौला कर्जालाई केन्द्रित गरेर लगानी गरिरहेका छौं ।

यो क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा छ भनिन्छ नि ?

प्रतिस्पर्धा हुनु भनेको स्वभाविक हो । यो जरुरी पनि छ । तर स्वस्थ र गुणस्तरीय प्रतिस्पर्धा हुनुपर्छ । जहाँसम्म अस्वस्थ प्रतिस्पर्धाको कुरा छ । सबै वित्तीय क्षेत्रको कार्यक्षेत्र एउटै भएकाले यस्तो देखिएको हो । तर अस्वस्थ प्रतिस्पर्धा सकैसँग छैन । किनभने बैंकिङ प्रणालीमा विकास बैंकको हिस्सा करिब दश प्रतिशत छ । विकास बैंकहरुमा पनि गरिमा विकास बैंकको हिस्सा १२ प्रतिशत जति रहेको छ । यसको अर्थ बैंकिङ प्रणालीमा गरिमा विकास बैंकको हिस्सा एक प्रतिशत जति छ । बाँकी ९९ प्रतिशत बजार त खाली नै छ । अनि कसरी अस्वस्थ प्रतिस्पर्धा भयो भन्ने ? यहाँ त कसैसँग प्रतिस्पर्धा नै छैन । बरु हामी यति ठूलो बजारमा पुग्न नै सकिरहेका छैनौं ।

विकास बैंकहरुलाई राष्ट्र बैंकको हेर्ने दृष्टिकोण कस्तो पाउनु हुन्छ ?

राष्ट्र बैंकले विकास बैंकलाई हेर्ने दृष्टिकोण निकै सकारात्मक छ । काम गर्न सहज छ । नेपाल राष्ट्र बैंक अभिवावकीय भूमिका निर्वाह गर्ने नियामक निकाय हो । राष्ट्र बैंकले दिएको नीति तथा निर्देशनमा रहेर हामीले काम गर्ने हो । ।
नाम चाँही विकास बैंक । तर ठूला विकासका परियोजनामा विकास बैंकको पहुँच पुग्दैन । यसरी हेर्दा नाम अनुसारको काम भएन जस्तो लाग्छ ।

तपाईलाई विकास बैंकको नाम नै परिवर्तन गर्नुपर्छ जस्तो लाग्दैन ?

सरसर्ति हेर्दा विकास बैंकले देशका ठूला ठूला विकासका परियोजनाहरुमा काम गर्नुपर्ने हो जस्तो लाग्छ । तर त्यस्तो होइन, विकास बैंकको अवधारणा कुनै खास क्षेत्रका विकास गर्न आएको हो । जस्तो कि देशका दुर्गम क्षेत्रमा रहेका जनाताको जीवनस्तर उकास्न, त्यस क्षेत्रमा कस्तो परियोजना संचालन गर्दा जनताको जीवनस्तर माथि उक्सिन्छ, त्यो परियोजनालाई सहयोग पुर्‍ याउने उद्देश्यले विकास बैंकको स्थापना भएको हो ।
तर पछिल्लो समयमा सबै बैंक तथा वित्तीय संस्थाले एकै प्रकारको काम गर्न थाले । यसले गर्दा जुन उद्देश्यले विकास बैंकको स्थापना भएको हो, त्यसमा केही अलमल भएको हो कि भन्ने भान चाँही हुन्छ । तर खुला बजारमा तँ यो मात्र काम गर, म यो मात्र काम गर्छु भन्ने अवस्था पनि रहँदैन । खुला अर्थतन्त्रमा सबैले सबै किसिमको काम गर्नुपर्ने हुन्छ । नभए बजारमा टिकिरहन गाह्रो हुन्छ । यसरी कुनै खास क्षेत्रको विकासको लागि स्थापना भए पनि सबै क्षेत्रमा काम गर्नुपर्ने भएकाले विकास बैंकको नाम अनुसारको काम नभएको जस्तो लागेको मात्र हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij