२०८३ भाद्र २९ सोमबार

‘शाखा विस्तार गर्दै पूर्ण क्षमतामा बैंक सञ्चालन गर्ने हाम्रो योजना रहेको छ’

ई आर्थिक    मंगलबार, मंसिर २५ २०८१
9.8K
Shares
‘शाखा विस्तार गर्दै पूर्ण क्षमतामा बैंक सञ्चालन गर्ने हाम्रो योजना रहेको छ’

हरिबहादुर बुढाथोकी

प्रमुख कार्यकारी अधिकृत

ग्रीन डेभलपमेन्ट बैंक लि.

ग्रीन डेभलपमेन्ट बैंकको हालको अवस्था कस्तो छ ?

बिगतका बर्षहरुमा सामान्यतया नेपाल राष्ट्र बैंकले प्रक्षेपण गरे अनुरुप निक्षेप तथा कर्जामा बढोत्तरी हुने गरेता पनि केही बर्ष देखि यस प्रकारका प्रक्षेपणहरुले मुर्त रुप हासिल गरेको देखिदैन । देशको राष्ट्रिय अर्थतन्त्र सरकारले प्रक्षेपण गरेअनुसार चलायमान हुन नसक्नु, घरजग्गा कारोवारमा भैरहेको सिथिलता, आयात निर्यातमा ह्रास आउनु र उपभोग्य बस्तुको मागमा कमी आउनु जस्ता कारण समग्र बैंकिङ्ग प्रणालीमा त्यसको असर प्रत्यक्ष रुपमा पर्न गई अपेक्षित नाफा आर्जन नभएता पनि बैंक नाफामा नै सञ्चालन भईरहेको छ ।

बैंकको पूँजी संरचना कस्तो छ ? पूँजी बृद्धि गर्ने सम्बन्धमा बैंकले के सोचाई राखेको छ ?

हाल बैंकको चुक्ता पूँजी ५३ करोड ८७ लाख २२ हजार रहेको छ । संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधरण समूहको ४९ प्रतिशत शेयर संरचना रहेको छ । नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशन बमोजिम प्रादेशिक स्तरको “ख” वर्गको विकास बैंक हुनको लागि तोकिएको न्युनतम चुक्ता पुँजी पुर्याउने सम्बन्धमा बोनस शेयर तथा आवश्यकता अनुसार निकट भविष्यमा हकप्रद शेयर निस्काशन गरि पूँजी वृद्धि गर्ने योजना रहेको छ ।

बैंकमा हालको बचत संकलन तथा निक्षेपको अवस्था कस्तो छ ?

रेमिटान्स मार्फत निरन्तर भित्रने रकम र आम जनताहरुले उपभोग्य सामग्रीहरुको कम उपभोग गरी बचत गरेको रकमका कारणले निक्षेप वृद्धि अपेक्षा गरे अनुसार रहेता पनि बजारमा कर्जाको माग खासै नभएको सन्र्दभमा निक्षेपको ब्याजदर घटाउनु परेकोले ब्याजदर स्थिरतामा निरन्तर दवाव रहेको छ । अघिल्लो आवको तुलनामा गत आ.व.०८०/०८१ मा यस बैंकले निक्षेपमा २६ प्रतिशतले वृद्धि गरेको थियो ।

कर्जा लगानीको अवस्था कस्तो छ ?

कोभिड माहामारी पछि व्यवसायिक गतिविधिमा आएको सुस्तता, बढ्दो मुद्रास्फीति, घरजग्गा कारोवारमा आएको कमी, युवा जनशक्तीहरुको वैदेशिक पलायलन भई अधिकतम उपभोग गर्न सक्ने वर्गको कमी जस्ता कारणले व्यवसायिक क्षेत्रमा परेको प्रभावले गर्दा नयाँ व्यवसायमा लगानी गर्न तथा संचालनमा रहेका व्यापार व्यवसाय विस्तार गर्न व्यवसायीले थप आँट नगरेको देखिन्छ । त्यसले गर्दा समग्र कर्जा मागमा नै संकुचन आएको छ । चालु अािर्थक वर्षमा व्यापार व्यवसाय र उत्पादनशिल क्षेत्र कर्जा अपेक्षित वृद्धि हुन सकेको छैन ।

बैंकले कर्जा लगानीका लागि कस्ता क्षेत्रलाई प्राथमिकता दिएको छ ?

नेपाल सरकार र नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत प्राथमिकतामा राखेका क्षेत्रहरु खास गरी कृषि, प्रर्यटन, साना तथा घरेलु व्यवसाय संग सम्बन्धित फर्म/कम्पनी जस्ता क्षेत्रमा गरिने लगानीलाई विशेष प्राथमिकता दिई कार्य अगाडि बढाएका छौं ।

कर्जा असूलीको अवस्था कस्तो रहेको छ ?

व्यापार व्यवसाय अझै लयमा फर्कन सकेको छैन । आर्थिक गतिविधि सकृय हुन नसक्दा कर्जा असुली कार्य नै अहिलेको मुख्य चुनौती हो । तथापी समग्र बैंकिङ्ग प्रणालीको औषत मापदण्ड अनुरुपको हाराहारीमा निष्कृय कर्जा रहेकोछ । यस बैंकको पहिलो त्रैमासमा ४.७ प्रतिशत निष्क्रिय कर्जा अनुपात रहेको छ ।

ग्राहकहरुलाई आकर्षित गर्ने सेवा तथा सुविधाहरु के–के छन् ?

ग्राहकलाई आकर्षित गर्ने मुख्य कुरा भनेको छिटो छरितो ,सर्वसुलभ र विश्वसनीय तरिकाले आधुनिक र गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्नु नै हो । यसको अलवा आधुनिक डिजिटल बैंकिङ्ग सेवा, मोवाईल बैंकिङ्ग, सि आश्वा, डिम्याट खाता, सरल कर्जा प्रति ग्राहकको आकर्षण रहेको छ । ग्राहकहरुको सन्तुष्टी हाम्रो सेवाको मूल मर्म हो ।

प्रतिस्पर्धा कस्तो छ ? यसले बैंकलाई कुनै असर गरेको छ ?

नेपाल राष्ट्र बैंकबाट ईजाजत प्राप्त क, ख, ग वर्गका बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन मार्फत सुपरीवेक्षण तथा नियमन गर्दै आएको छ । हालको अवस्थामा क्षेत्रीय स्तरको विकास बैंकले कर्जा विस्तारमा वाणिज्य बैंकसँग प्रतिस्पर्धा गर्न परिरहेको अवस्था छ । अथवा, विकास बैंकको तुलनामा वाणिज्य बैंकको आधार दर कम रहेको छ । विकास बैंकको आधारदर अधिक हुँदा ग्राहकलाई कर्जातर्फ आकर्षित गर्न अत्यधिक प्रतिस्पर्धा गर्नु परेता पनि आधार दरलाई न्यूनतम दरमा घटाउनको लागि यस बैंकले विभिन्न रणनीतिहरुको विकास गर्दै अगाडि बढिरहेको छ ।

नेपालमा विकास बैंकको भविष्य कस्तो देख्नुहुन्छ ?

यसमा नियमकारी निकाय राष्ट्र बैंकले विकास बैंकलाई भोलीका दिनमा कसरी हेर्छ भन्ने कुरामा भर पर्छ । फोर्स मर्जरमार्फत मर्ज गरिएका वित्तीय संस्थामा कर्मचारी व्यवस्थापन, निष्कृय कर्जामा वृद्धि जस्ता कुराले गर्दा अहिले फोर्स मर्जरको पक्षमा राष्ट्र बैंक नगएको हो कि भन्ने देखिन्छ । क्षेत्रीयस्तरका बैंकहरुलाई पूँजी वृद्धि गर्नु पर्ने आवश्यकता छ । त्यसैले समग्रमा विकास बैंकको भविश्य राम्रो छ ।

विकास बैंकका समस्याहरु के कस्ता रहेका छन ?

बैंक सञ्चालन गर्दा विभिन्न समस्याहरु निरन्तर आईनै रहन्छन् । यस्ता समस्याहरुलाई अल्पकालीन तथा दीर्धकालिन गरी दुई भागमा विभाजन गरी त्यसको निराकरण गर्ने गरिएको छ ।

बैंकको भावी योजना के कस्तो छ ?

नियमकारी निकायले तोकेको पूँजी संरचना पूरा गरी शाखा विस्तार गर्ने र पूर्ण क्षमतामा बैंक सञ्चालन गर्ने योजना रहेको छ ।

राष्ट्र बैंकको विकास बैंकलाई हेर्ने दृष्टिकोण कस्तो पाउनुहुन्छ ?

नेपाल राष्ट्र बैंकले समय समयमा गर्ने स्थलगत तथा गैर स्थलगत निरीक्षणको क्रममा औल्याएका कैफियतहरुको विश्लेषण गर्दा बैंक वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको सदुपयोगितालाई विषेश निगरानी गरेको पाईन्छ । विकास बैंकहरुले राष्ट्र बैंकलाई गार्जनको रुपमा हेरेका छन् । र, विकास बैंकप्रति राष्ट्र बैंकको हेर्ने दृष्टिकोण पनि सकारात्मक नै पाएका छौं । राष्ट्र बैंक गार्जन भएकाले उसरले सही नीति नियम तथा निर्देशन दिएको हुन्छ । त्यही नीति नियमको पालना गर्दै हामी अगाडि बढिहरका छौं ।

नेपालका विकास बैंकहरु मर्ज भएर सानो संख्यामा झरिसके । यसरी मर्ज हुँदै जाँदा विकास बैंकको अस्तित्व नै संकटमा पर्ने सम्भावना कत्तिको देख्नुहुन्छ ?

केही वर्ष अघि नेपालको अर्थतन्त्र र जनसंख्याको तुलनामा बैक तथा वित्तीय संस्थाहरुको संख्या धेरै भयो भनी विभिन्न सरोकारवालाहरुले भन्ने गरेका थिए । अन्तराष्ट्रिय नियमनकारी निकाय अन्तराष्ट्रिय मुद्राकोषले समेत संख्या धेरै भयो भन्ने सन्र्दमा नेपाल राष्ट्र बैंकले मर्जलाई प्राथामिकतामा राखेर निर्देशिका तयार गरेको हो । फलस्वस्प धेरै बैंक तथा वित्तीय संस्थाहरु मर्जर र प्राप्तिमार्फत एकिकृत भएको देखिन्छ । हाल आएर मर्जलाई प्राथामिकतामा नराखेता पनि उपयुक्त संस्था भेटिए मर्ज तथा एक्युजिसन नहुने भन्ने पनि हुदैन तसर्थ अझैे पनि वित्तीय समाबेसिता लगायतका अवधाराणा अनुसार क्षेत्रीयस्तर विकास बैंकको आवश्यकता रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij