२०८३ भाद्र २८ आइतबार

‘चुक्ता पुँजी एक अर्ब २० करोड पुर्‍याउने योजना छ’

ई आर्थिक    मंगलबार, मंसिर २५ २०८१
42.4K
Shares
‘चुक्ता पुँजी एक अर्ब २० करोड पुर्‍याउने योजना छ’

योगेन्द्र पुन

प्रमुख कार्यकारी अधिकृत

सालपा विकास बैंक लि.

सालपा विकास बैंकको हालको अवस्था कस्तो छ ?

सालपा विकास बैंक, नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजतपत्र प्राप्त संस्था हो । यो एक जिल्ला कार्यक्षेत्र भएको विकास बैंक हो । यस बैंकको कार्यक्षेत्र भनेको खोटाङ जिल्ला हो । तर यो बैंक संभवत नेपालको सबैभन्दा बढी संख्यामा संस्थापक शेयरधनी भएको विकास बैंक हो । यस बैंकमा ६८ जिल्लाका झण्डै तीनहजार पाँच सय जना संस्थापक शेयरधनीहरुको लगानी रहेको छ । यस बैंकले आ.व. २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण अनुसार ७७ लाख ४७ हजार ७ सय ८० रुपैयाँ खुद नाफा कमाएको छ ।

बैंकको पूँजी संरचना कस्तो छ ? पूँजी वृद्धि गर्ने सम्बन्धमा बैंकले के सोचाई राखेको छ ?

यस बैंकको हालको चुक्ता पूँजी रु ३५ करोड रुपैयाँ रहेको छ भने छिट्टै सर्वसाधारणका लागि आ.पि.ओ. जारी गर्ने र त्यस पछि अग्राधिकार शेयर जारी गरी प्रदेशस्तरको विकास बैंकको लागि आवश्यक चुक्ता पुँजी एक अर्ब २० करोड पुर्‍ याउने योजना रहेको छ ।

बैंकमा हालको बचत संकलन तथा निक्षेपको अवस्था कस्तो छ ?

निक्षेप संकलन तथा बचतको कुरा गर्दा यस बैंकको एक अर्ब १२ करोड रुपैयाँको हाराहारीमा निक्षेप संकलन गरेको छ । बैंकले गत ६ महिनाको समयवधीमा करिब २६ प्रतिशतले निक्षेप संकलन बढाएको छ भने यही आ.व. भित्र निक्षेप शतप्रतिशतले बढाउने योजना रहेकोछ । बैंकमा मुद्धति निक्षेप, बचत निक्षेप र कर्जाको हिस्सा क्रमशः ४३.४०प्रतिशत , ३९.४० प्रतिशत र ४४.२५ प्रतिशत रहेकोछ ।

कर्जा लगानीको अवस्था कस्तो छ ?

यस विकास बैंकले ९० करोड रुपैयाँको हाराहारीमा कर्जा लगानी गरिरकेको छ । बैंकले गत ६ महिनाको समयवधीमा करिब १२.६५ प्रतिशतले कर्जा लगानी बढाएकोछ भने यही आ.व. भित्र बैंकको थप ४ जिल्लामा कार्यक्षेत्र विस्तार गर्ने योजना रहेकोले कर्जा लगानी उल्लेख्य मात्रामा बढाउने योजना रहेकोछ ।

बैंकले कर्जा लगानीका लागि कस्ता क्षेत्रलाई प्राथमिकता दिएको छ ?

यस बैंकले कृषि, पर्यटन, विपन्न वर्ग, व्यापारिक र कन्ज्युमर (उपभोक्ता) जस्ता क्षेत्रहरुलाई कर्जा लगानीका लागि प्राथमिकता दिएको छ र त्यही क्षेत्रमा केन्द्रित रहेर कर्जा लगानी गरिरहेको छौं ।

कर्जा असूलीको अवस्था कस्तो रहेको छ ?

देशको अर्थतन्त्र नै चलयमान अवस्थामा छैन । व्यापार व्यवसाय अपेक्षा अनुसार हुन सकेको छैन । यसको प्रभाव बैंकिङ क्षेत्रमा पनि पर्छ । यस्तो विषम परिस्थितिमा पनि यस बैंकको असुलीको अवस्था औसत रहेको छ । गत आवमा निष्कृय कर्जा ३.४२ प्रतिशत रहेको छ । तर यस बैैंकको राम्रो पक्ष चाहिं २०८०/८१ सम्म गैहृ बैंकिङ सम्पत्ति शुन्य रहेको छ ।

ग्राहकहरुलाई आकर्षित गर्ने सेवा तथा सुविधाहरु के–के छन् ?

यस बैंकको ग्राहकहरुलाई आकर्षित गर्ने सेवा तथा सुविधाहरुमध्ये मुद्धति निक्षेपमा बैकिङ क्षेत्रकै सर्वाधिक ८ प्रतिशत (एक वर्षे मुद्धतिमा) व्याजदर, बैंकको आकार सानो भएपनि डिजिटल बैंकिङ सेवाहरु, सबै शाखाहरुबाट छिटो र छरितो सुन कर्जा र लघुवित्त कर्जाको सुविधा, प्रोफेशनल लोनको सुविधा, २४ घण्टा भित्रै कर्जा सम्बन्धि निर्णय गरिसक्ने आदि रहेका छन् ।

प्रतिस्पर्धा कस्तो छ ? यसले बैंकलाई कुनै असर गरेको छ ?

प्रतिस्पर्धा त उच्च रहेकोछ । सबै वर्ग र आकारका (क, ख र ग वर्ग) बैंक तथा वित्तीय संस्थाहरुले एउटै किसिमको सेवा तथा सुविधाहरु दिने, तिनीहरुको वार्षिक व्यवसायिक वृद्धि योजनाको आकारभन्दा कर्जाको माग तथा वृद्धिदर निकै कम हुनु जस्ता कारणहरुले गर्दा बैंकलाई असर त परेकोछ नै तर, बैंकको आकर्षक सेवा तथा सुविधाहरु भएको हुनाले प्रतिस्पर्धा रमाइलो लागिरहेको छ । प्रतिस्पर्धाले अझ राम्रो हुँदै जानुपर्ने दवाब सृजना गर्ने हुनाले यो संस्थाको लागि अति आवश्यक हो जस्तो लाग्छ ।

नेपालमा विकास बैंकको भविष्य कस्तो देख्नुहुन्छ ?

नेपालमा विकास बैंकहरुको भविष्य राम्रो देखिन्छ किनभने यस वर्गको संख्या निकै कम भइसकेको छ । यसमा नियामक निकायबाट विभिन्न वर्गका बैंक तथा वित्तीय संस्थाहरुका लागि क्षेत्रगत भिन्नता र सेवा तथा सुविधाहरुको आकार तथा प्रकारमा स्पष्ट भिन्नताकोे व्यवस्था गर्दै कुन वर्गको औचित्य तथा महत्व के हो भन्ने सम्बन्धि स्पष्ट सीमारेखाहरु निर्धारण गरेमा विकास बैंकहरुको भविष्य राम्रो देखिन्छ ।

यस बैंकका समस्याहरु के कस्ता रहेका छन् ?

बैंकको भौगोलिक अवस्थितिको कारणले गर्दा कर्मचारीहरुलाई भौतिक रुपमा तालिममा उपस्थित गराउन नसक्नु प्रमुख समस्या रहेकोछ, बैंकका शाखाहरु धेरैजसो ग्रामिण भेगमा रहेका हुनाले वर्षाको समयमा बैकिङ कठिन हुन्छ, बैंकिङलाई आवश्यक सपोर्ट सर्भिस गर्ने निकायहरु नजिकमा नहुँनु, दुर्गममा रहेको शाखाहरुमा कर्मचारी व्यवस्थापन गर्न जस्ता आदि समस्याहरु छन् ।

बैंकको भावी योजना के कस्तो छ ?

बैंकको भावी योजना अन्तर्गत बैकको कार्यक्षेत्र एक वर्ष भित्र ५ जिल्लामा विस्तार गर्ने रहेको छ । त्यसपछि प्रदेशस्तर हुँदै राष्ट्रियस्तरको विकास बैंक बनाउने योजना रहेको छ । साथै बैंकको संचालन र प्रशासनलाई डिजिटल एवं अनलाइन बनाउदै लैजाने रहेकोछ ।

राष्ट्र बैंकको हेर्ने दृष्टिकोण कस्तो पाउनुहुन्छ ?

नेपाल राष्ट्र बैंक नियमनकारी निकाय हुँदाहुँदै पनि अविभावककोे भूमिका समेत निभाएको महशुस गरेको छु ।

नेपालका विकास बैंकहरु मर्ज भएर सानो संख्यामा झरिसके । यसरी मर्ज हुँदै जाँदा विकास बैंकको अस्तित्व नै संकटमा पर्ने सम्भावना कत्तिको देख्नुहुन्छ ?

विगतमा मर्ज हुनुको कारण विकास बैंकहरुको संख्या अत्यधिक भएर हो । अहिले यो संख्या न्युन भइसकेको छ । त्यस बाहेक नेपालमा वित्तीय पारिस्थितिक प्रणाली मिलाएर राख्न विभिन्न वर्गका बैंक तथा वित्तीय संस्थाहरु आवश्यक रहेको विगतको अनुभवले देखाएको छ । भौगोलिक रुपमा बैंकिङ सुविधा पहँुचको हिसाबले विकास बैंकहरुको योगदान झनै बढी रहेको विभिन्न रिपोर्टहरुले देखाएको छ । यी माथि उल्लेखित आधारहरुमा विकास बैंकहरुको अस्तित्व संकटमा पर्ने सम्भावना देखिदैन । बरु अझै राम्रो हुँदै जाने परिदृश्य देखिको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij