ई–आर्थिक, काठमाडौं । नेपाली बजारमा लुयुएन ब्राण्डका लोकप्रिय विद्युतीय स्कूटरको बिक्री वितरण गरिरहेको जीरो इमिसन राइड एनले अर्को विद्युतीय स्कूटर ईथ्री नेपालमा भित्र्याएको छ । राइड एन उक्त स्कूटरको नेपालका लागि आधिकारिक वितरक हो ।
अत्याधुनिक विद्युतीय उक्त स्कुटरको एक कार्यक्रमबीच भव्य अनावरण गरिएको थियो । यो स्कूटर नेपाली बजारमा बिक्री वितरण गर्न पाएकोमा वितरक कम्पनीले खुशी व्यक्त गरेको छ ।

यो स्कूटर नवीनतम प्रविधि, आकर्षक डिजाइन र वातावरणमैत्री यातायातको संयोजन प्रदान गर्ने कम्पनीले जनाएको छ । सन् २०१७ मा स्थापना भएको यस कम्पनीले स्कूटर उत्पादन गर्नुभन्दा अघि मोटरसाइकल उत्पादन गर्दथ्यो । र, उक्त कम्पनीले उत्पादन गरेको मोटरसाइकल विश्वभर लोकप्रिय भएको थियो । त्यस्तै कम्पनीले उत्पादन गरेको विद्युतीय स्कूटर पनि संसारभर लोकप्रिय बनिरहेको कम्पनीले जनाएको छ ।
एक हजार पाँच सय वाट रेटेड क्षमताको मोटर पावर भएको, तीन हजार वाट पिक पावर भएको यो स्कूटरले १२० डिग्री सम्मको उकालो सजिलै पार गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ । स्कूटर एक पटक चार्ज गरेपछि एक सय देखि एक सय २० किलोमिटरसम्म गुड्ने बताइएको छ ।
उक्त स्कूटर ५/६ घण्टामा पूर्णरुपमा चार्ज हुने जनाईको छ । रेजेनेरेटिभ ब्रेकिङ, क्रुज कन्ट्रो, प्रोजेक्टर हेडल्याम्प, एलसीडी डिस्प्ले जस्तो अत्याधुनिक विशेषताहरु रहेको यो स्कूटर सुरक्षालाई मुख्य प्राथमिकता दिएर उत्पादन गरिएको कम्पनीले जनाएको छ । यो स्कूटरको मूल्य दुईलाख २५ हजार रुपैयाँ रहेको जनाईको छ ।