ई-आर्थिक, कास्की । रास्वपाका सभापति रवि लामिछाने चौथोपटक अदालत लगिएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतमा पेस गरिएको हो ।
यसअघि कात्तिक २० गते कास्की जिल्ला अदालतले १० दिनको म्याद सकिएपछि आइतबार प्रहरीले लामिछाने लगायतलाई अदालतमा पेस गरेको हो ।
त्यसअघि थप गरिएको म्यादमा तिहार बिदा पनि परेपछि अदालतले तिहार बिदाको समेत गणना गर्दै १० दिनको समय दिएको थियो जसको समय शुक्रबार रातिबाट सकिएको छ । शनिबार(हिजो) बिदा भएकाले आज प्रहरीले लामिछानेलाई अदालतलमा पेस गर्न लागेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिसमेत रहनुभएका लामिछानेलाई चौथो पटक म्याद थपका लागि अदालत लगिएको हो । लामिछानेको मुद्दा न्यायाधीश नवराज दाहालको इजलासमा छ । पोखराको सूर्यदर्शन सहकारीको रकम गोरखा मिडियामा लगी हिनामिना गरेको अभियोगमा कात्तिक २ गते पक्राउ पर्नुभएका लामिछानेलाई कात्तिक २० गते १४ गतेबाट लागू हुनेगरी १० दिन म्याद थप गरिएको थियो ।
लामिछानेलाई पहिलो पटक कात्तिक ४ गते ६ दिन, दोस्रो पटक ७ दिन म्याद थप भएको थियो ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्कका पूर्व उपाध्यक्ष छविलाल जोशी, कर्मचारी गीता पछाई र नेचर हब्र्स इन्टरनेसनलका सञ्चालक रामबहादुर खनाललाई म्याद थपका लागि अदालत लगिएको छ । उनीहरुविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण अभियोगमा अनुसन्धान जारी छ ।