लक्ष्मण फुयाल, काठमाडौं । चालु आर्थिक वर्षको दुई महिना ९ ९अर्ब ६७ करोड रुपैयाँले सेयर धितो कर्जा बढेको छ। गत दुई महिनामा सेयर कर्जा साढे ९ अर्ब रुपैयाँभन्दा धेरैले बढेको हो। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको भदौ महिनाको तथ्याँक अनुसार एक महिनामा बैंक तथा वित्तीय संस्थाले ८ अर्ब ३२ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए । राष्ट्र बैंकको तथ्याङ्क हेर्दा पछिल्लो समय लगानीकर्ताले धमाधम बैंकबाट सेयर धितो कर्जा लिएर सेयर बजारमा लगानी गर्न थालेको देखिएको छ। गत आर्थिक वर्षदेखि नै बढ्न थालेको सेयर धितो कर्जा चालु आर्थिक वर्षमा झनै धेरै बढ्न थालेको देखिन्छ ।
गत असार अन्तिमसम्ममा ९० अर्ब ९ करोड रुपैयाँ रहेको सेयर धितो कर्जा साउन अन्तिमसम्ममा ९१ अर्ब ४४ करोड रुपैयाँ पुगेको थियो ।बैंकहरुमा तरलता बढ्दै गएको र ब्याजदर निरन्तर घट्दै गएको कारण पनि कर्जा बढदै गएको हो । सयेर बजारले केहि समय लय समाउन थालेका कारण पनि लगानीकर्ताहरुले सेयर धितो कर्जा बढाएका सेयर लगानीकर्ताहरुको बताए ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले संस्थागतलाई लगाएको क्याप पूर्ण रुपमा हटाएको थियो। जसको प्रभाव सेयर बजारमा पनि निकै राम्रो देखियो। सो पश्चात एकैपटक ठुलो रकमको कर्जा शेयर बजारमा आएको तथ्याँकले देखाउछ। अहिले लगानीकर्ताले एकल विन्दुको ब्याजदरमा नै सेयर धितो कर्जा पाउने अवस्था बनेको छ। यसले गर्दा समेत अहिले लगानीकर्ताले सस्तो ब्याजदरमा नै कर्जा लिएर बजारमा लगानी बढाउन थालेका हुन्।
सेयर बजारमा प्रवाह सेयर कर्जाको अबस्था
चालु आर्थिक वर्षको भदौसम्म बैंकहरुबाट १ करोड रुपैयाँ माथिको आधारमा कर्जा ६५ अर्ब ९३ करोड १४ लाख रुपैयाँले सेयर धितो कर्जा गएको छ । गत असारसम्म यो रेन्जको कर्जा ५५ अर्ब ९३ करोड २ लाख रुपैयाँ गएको थियो।
यसैगरी, भदौसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १२ अर्ब ८१ करोड ९८ लाख रुपैयाँ रहेको छ । भने २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १३ अर्ब ९८ करोड ९० लाख रुपैयाँ रहेको छ ।
साथै, २५ लाख रुपैयाँसम्को रेन्जको कर्जा ७ अर्ब २ करोड ५४ लाख रुपैयाँ गएको देखिन्छ। असारसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १२ अर्ब ४२ करोड ७७ लाख रुपैयाँ रहेको थियो । २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १४ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ थियो । गत असारमा २५ लाख रुपैयाँसम्को रेन्जको कर्जा ७ अर्ब ३१ करोड २३ लाख रुपैयाँ गएको थियो।
भदौसम्म ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा ३.२ प्रतिशतले बढेको छ भने २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा ३ प्रतिशत र २५ लाख रुपैयाँसम्को रेन्जको कर्जा ३.९ प्रतिशतले घटेको देखिएको छ ।