२०८३ साउन ११ सोमबार

दुई दिनदेखि रोकिएको मन्थली-लुक्ला उडान पुन सुरु

ई आर्थिक    बुधबार, असोज ३० २०८१
2.3K
Shares
दुई दिनदेखि रोकिएको मन्थली-लुक्ला उडान पुन सुरु

ई-आर्थिक, मन्थली । दुईदिनदेखि रोकिएको मन्थली-लुक्ला उडान पुन सुरु भएको छ । मौसम खुलेसंगै उडान सुरु भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । सोलुखुम्बुको खुम्बु क्षेत्रमा मौसम खराब हुँदा सोमबारदेखि मन्थली–लुक्ला उडान ठप्प भएको थियो ।

मौसम खुलेपछि बुधबार बिहान ९ बजेदेखि मन्थली–लुक्ला उडान सुरु भएको नागरिक उड्डयन प्राधिकरण मन्थलीका जनाएको हो  । मौसम खुलेपछि बिहान ९ बजेदेखि नै उडान सुरु भएको छ । उडान सुरु भएको एक घण्टामै १० वटाभन्दा बढी उडान भइसकेका क्यानले जनाएको छ ।

सोलुखुम्बुको लुक्ला जान मन्थली आएका एक हजारभन्दा बढि विदेशी पर्यटक दुई दिनदेखि रोकिएका थिए  । काठमाडौँबाट मन्थलीसम्म सडकबाट आउने र मन्थलीबाट लुक्ला हवाईजहाजमा जान भनी आएका एक हजार तीन सय विदेशी पर्यटक लुक्लामा मौसम प्रतिकुल भएपछि रोकिएका हुन् ।

रोकिएका पर्यटकहरु कोही सडकबाट सोलुखुम्बु सदरमुकाम फाप्लुतर्फ लागेका छन् भने कोही हेलिकोप्टरमार्फत सुर्के जान थालेका छन् । नागरिक उड्डयन प्राधिकरण कार्यालय मन्थलीका प्रमुख हिरोण शाहका अनुसार समिट, तारा र सीता एअरलाइन्समार्फत लुक्ला जाने तयारीमा रहेका विदेशी पर्यटक रोकिएका हुन् ।

सरकारले सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी पर्यटकहरूलाई रामेछापको मन्थली विमानस्थलबाट लुक्ला पुर्‍याउने र ल्याउने व्यवस्था गरेको छ । नागरिक उड्डयन प्राधिकरणले (वसन्त ऋतु) को चैतदेखि जेठ महिनासम्म र (शरद ऋतु) को असोज पहिलो सातादेखि मङ्सिरको १५ सम्म मन्थली विमानस्थलबाट लुक्ला पर्यटक लैजाने र ल्याउने व्यवस्था गरेको छ ।

मन्थलीबाट पर्यटकीय याममा दैनिक ५५ देखि ६० उडान हुने गरेको नागरिक उड्डयन प्राधिकरण मन्थलीका सूचना अधिकारी प्रज्वल गुरागाईंले जानकारी दिए । पर्यटकहरु शरद ऋतुका बेला सगरमाथा आधार शिविर पदयात्राका लागि जाने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij