२०८३ साउन १० आइतबार

छुटसहितको मुल्यमा खाद्य सामाग्री विक्री गर्न साल्ट ट्रेडिङको तीनवटा मोबाइल भ्यान बाढी प्रभावित क्षेत्रमा

ई आर्थिक    सोमबार, असोज २१ २०८१
6.1K
Shares
छुटसहितको मुल्यमा खाद्य सामाग्री विक्री गर्न साल्ट ट्रेडिङको तीनवटा मोबाइल भ्यान बाढी प्रभावित क्षेत्रमा

ई–आर्थिक, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले चाडपर्वलक्षित प्रयोग गर्दै आएका तीन वटा मोबाइल भ्यान बाढी प्रभावित क्षेत्रमा छुट सहितको खाद्यवस्तु बिक्री गर्न परिचालन गरेको जनाएको छ ।

कर्पोरेसनले आफ्ना बिक्री केन्द्रबाट चाडपर्वका बेलामा दिँदै आएका सहुलियत मूल्यका सामान मोबाइल भ्यानमार्फत बाढी प्रभावित क्षेत्रमा गएर बिक्री गरिरहेको जानकारी गराएको हो । कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत (सिइओ) उर्मिला श्रेष्ठले विगतका वर्षहरूमा ज्येष्ठ नागरिक मात्रै भएका घर घरमा गएर मोबाइल भ्यानमार्फत सहुलियत मूल्यका सामान उपलब्ध गराएकोमा यस पटक भने प्राकृति विपत्ति परेका ठाउँका नागरिकलक्षित मोबाइल भ्यान परिचालन गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “जो बाढी प्रभावित छ, त्यहाँ तत्काल हाम्रो पसलसम्म आउन सक्ने अवस्था नरहेको हुँदा थोरै भए पनि राहत होस् भनेर हामीले प्रभावित क्षेत्रलाई नै प्राथमिकतामा राखेर मोबाइल भ्यानमार्फत सामान वितरण गरिरहेका छौँ ।” उहाँका अनुसार काठमाडौँ उपत्यकामा बल्खु, कलङ्की, नक्खु, पाटन, कुपण्डोल, थापाथली, कपन, कोटेश्वर, कौशलटार र भक्तपुरका विभिन्न ठाउँमा पुगेर माइकिङ गर्दै कर्पोरेसनले सहुलियत मूल्यमा उपलब्ध गराउँदै आएका सामान बिक्री गरिएको छ ।

कर्पोरेसनले नुन प्रतिकेजी दुई रुपियाँ छुट गरेर २४ रुपियाँमा बिक्री गरिरहेको छ । चिनीमा प्रतिकेजी पाँच रुपियाँ छुट गरी प्रतिदुई केजीको प्याकेटमा २०५ रुपियाँमा बिक्री गरेको छ । यस्तै दाल, गेडागुडी, चिउरा, मैदा, आटा, चामलमा प्रतिकेजी सात रुपियाँ छुट गरेको छ भने तेलमा प्रतिलिटर सात रुपियाँ छुटमा बिक्री गर्दै आएको छ । यसबाहेक कर्पोरेसनले आफ्ना शाखा रहेको ठाउँमा बाढी प्रभावित क्षेत्रमा छुट्टै बिक्री केन्द्र स्थापना गरेर पनि छुटका सामान उपलब्ध गराउँदै आएको कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार हाल बाढीबाट बढी प्रभावित जिल्ला धादिङ, सिन्धुली, नुवाकोट, काभ्रेलगायतका जिल्लामा नेपाल चेम्बर अफ कमर्ससँगको समन्वयमा सहुलियत मूल्य पसल सञ्चालन गरेको हो । कर्पोरेसनले असोज ७ गतेदेखि सहुलियत मूल्य सञ्चालन गर्दै आएको छ । कर्पोरेसनका अनुसार उपत्यकामा हाल ११ बिक्री केन्द्र र तीन वटा मोबाइल भ्यानमार्फत सहुलियत मूल्यमा ती खाद्यवस्तु बिक्रीवितरण गर्दै आएको छ । उपत्यकाबाहिर २२ जिल्लामा सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको कर्पोरेसनले आवश्यकताका आधारमा अन्य ठाउँमा पनि थप गर्न सकिने जनाएको छ ।

सरकारको एक करोड अनुदानमा कर्पोरेसनले ती ठाउँमा पसल सञ्चालन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij