२०८३ साउन १० आइतबार

काँकडभिट्टाबाट तीन अर्बको प्लाइउड र भेनियर निर्यात, नेपालगञ्ज नाकाबाट पनि निर्यात दोब्बरले बृद्धि

ई आर्थिक    आइतबार, साउन १३ २०८१
7.6K
Shares
काँकडभिट्टाबाट तीन अर्बको प्लाइउड र भेनियर निर्यात, नेपालगञ्ज नाकाबाट पनि निर्यात दोब्बरले बृद्धि

झापा । आर्थिक वर्ष २०८०/८१ मा पूर्वीनाका काँकडभिट्टाबाट दुई अर्ब ९६ करोड ४१ लाख ९४ हजार मूल्य बराबरको ९९ हजार आठ सय एक मेट्रिक टन काठका सामान भारत निर्यात भएको छ ।

पूर्वीपहाडको खेतबारीमा उत्तिसलगायत छिटो हुर्किने बिरुवा लगाएर प्लाइउड उत्पादन हुँदै आएको छ । काठको पाताबाट भेनियर उड उत्पादन हुने र भेनियर उडलाई प्रशोधन गरेर प्लाइउड बनाउने गरिन्छ । सोही अवधिमा २४ करोड १९ लाख ३४ हजार मूल्य बराबरको २१ हजार नौ सय ९४ मेट्रिक टन भेनियर उड भारत निर्यात भएको थियो भने दुई अर्ब ७१ करोड ९९ लाख २० हजार मूल्य बराबरको ७७ हजार सात सय १२ मेट्रिक टन प्लाइउड निर्यात भएको प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रेश्वर यादवले जानकारी दिनुभयो ।

यस्तै, चार लाख ५९ हजार मूल्य बराबरको ९२ मेट्रिक टन प्लाइउड उत्पादन गर्ने क्रममा निस्कने काठको धुलोसमेत र १८ लाख ८२ हजार मूल्य बराबरको तीन मेट्रिक टन काठबाट बनेका हस्तकलाका सामान भारत निर्यात गरिएको उहाँले जानकारी दिनुभयो । मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेमराज प्रसाईले भारतीय मुद्रा आर्जन गर्न र व्यापार घाटा न्यूनीकरण गर्न प्लाइउडलगायत काठजन्य उत्पादनको निर्यातले ठूलो योगदान पुर्याएको बताउनुभयो ।

केही वर्षयता प्लाइउडको व्यापारमा उतारचढाव आइरहे पनि कच्चापदार्थको सङ्कलन र निर्यातमा अवरोध नभएको उहाँको भनाइ छ । खेतबारीमा अन्नबाली रोप्दा बाँदर र वन्यजन्तुले नाश गरिदिने समस्या भोगिरहेका यहाँका किसानले रुखोपाखो बारीमा छिटो हुर्किने उत्तिसलगायत बिरुवा रोप्न थालेका छन् । यसबाट पर्यावरण संरक्षण र किसानको जीविकोपार्जनका क्षेत्रमा योगदान पुगिरहेको अध्यक्ष प्रसाईले बताउनुभयो । झापा, इलाम, पाँचथर र ताप्लेजुङबाट सङ्कलन गरिएका काठबाट बनेका प्लाइउडलगायत काठजन्य उत्पादन पूर्वीनाका काँकडभिट्टा र तराईका अन्य नाकाबाट समेत भारततर्फ निर्यात भइरहेका छन् ।

नेपालगञ्ज नाकाबाट पनि प्लाइउड निर्यात दोब्बरले बृद्धि

गत केही वर्ष यता नेपालगन्ज नाकाबाट भारततर्फ हुँदैगएको प्लाइउड निकासी अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ ।

नेपाली प्लाइउडको माग भारतका विभिन्न सहरमा बढ्दै गएपछि निर्यात पनि बढ्दै गएको हो । गत आर्थिक वर्ष २०८०–८१ मा नेपालगन्ज नाकाबाट २९ करोड ९३ लाख भन्दा बढीको प्लाइउड भारत निर्यात भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।

सो कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९–८० मा यो नाकाबाट १४ करोड १२ लाख ५४ हजार रुपियाँको मात्र प्लाइउड निर्यात भएको थियो । अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा १६ करोड रुपियाँ बढीको प्लाइउड भारत निर्यात भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख ध्रुव विश्वकर्माले बताउनुभयो ।

उहाँले अघिल्लो आर्थिक वर्ष २०७९–८० मा नेपालगन्ज नाकाबाट १४ करोड १२ लाख ५४ हजार रुपियाँको प्लाइउड निकासी भएकोमा गत आर्थिक वर्ष २०८०–८१ मा दोब्बर बढी २९ करोड ९३ लाख ६१ हजार रुपियाँको निर्यात भएको बताउनुभयो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा १५ करोड ८१ लाख ७ हजार रुपियाँ बढीको प्लाइउड निर्यात भएको छ । निर्यात दोब्बर वृद्धि भएपछि नेपालगन्जका प्लाइउड व्यवसायी उत्साहित छन् । खासगरी नेपालमा उत्पादित उत्तिसका बिरुवाबाट निर्मित प्लाइउडको माग भारतीय बजारमा प्रशस्त रहेको उद्योगी व्यवसायीले बताएका छन् ।

भारतमा प्लाइउडको कच्चा पदार्थको मूल्य बढ्नु र प्लाइउडलाई पनि निर्यातमा नगद अनुदान पाइने वस्तुको सूचीमा समावेश गरिनुले नेपालबाट हुने यसको निर्यात लगातार बढिरहेको बाँकेमा प्लाइउड उत्पादन गर्दै आउनु भएका व्यवसायी पशुपति दयाल मिश्रले बताउनुभयो ।

उहाँले नेपालबाट जाने सस्तो मूल्यको प्लाइउडको खपत भारतको लखनउ, कानपुर, दिल्ली, आगरा, देहरादुन लगायतका बजारसम्म हुनेगरेको बताउनुभयो । नेपालगन्जका अर्का प्लाइउड उद्योगी चम्पालाल बोथराले भारतमा नेपाली प्लाइउडको माग बढ्दै गएपछि आफूहरू निकै उत्साहित भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij