ई–आर्थिक, काठमाडौं । त्रियुगा नगर शिक्षाले नगरसभामा अनुमोदनका लागि अघि सारेको निर्णयमाथि तीब्र असन्तुष्टि जनाईएको छ । शिक्षक दरबन्दी मिलान तथा विद्यालय घटुवा सम्बन्धी निर्णय नगर शिक्षाले अनुमोदनका लागि अघि सारेकोमा असहमती जनाईएको हो । उपमेयर महेश्वरी राई, वडाध्यक्षहरु वडा नं. ८ का राजकुमार राउत, वडा नं. २ का घमानसिंह खत्री, वडा नं. १६ का मानबहादुर राई, वडा नं. ७ का अम्बरबहादुर दनुवार, वडा नं. ६ का योगेन्द्रबहादुर दाहाल, वडा नं. १४ का हिमराज मगर, वडा नं. १० का किरण पाण्डे, वडा नं. १५ का गणेशप्रशाद तिम्सिनाले नगरसभा सुरुअघि असहमती जनाएका छन् । त्यस्तै कार्यपालिका सदस्यहरु विमल राई, गिता उप्रेती, रेनुका श्रेष्ठ, कुन्ति परियार, रेख थापा मगर, सुनिता गजमेयर, डिल्लीसेर राईर लेसमेत असहमती जनाएका छन् ।
असहमति जनाउने १७ नम्बर सूचिमा ११ नम्बरका वडा अध्यक्ष सुमन्त कुमार कोइरालाको पनि नाम उल्लेख छ । तथापी त्यो असहमतिमा उनको हस्ताक्षर छैन । वडा अध्यक्ष कोइरालाको हस्ताक्षर नभएपनि उनले समेत यो बिषयमा असहमति जनाएको असहमति जनाउने एक जनप्रतिनिधिले बताए ।

उपमेयर राईको अध्यक्षतामा बैंठक नै बसी १६ जनाले असहमतीपत्रमा हस्ताक्षर गरि मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई बुझाएका छन् । उनीहरुको असहमतीको निर्णयलाई अनुमोदन नगर्न माग राख्दै माग पूरा नभए आन्दोलनको चेतावनी दिएका छन् । कार्यपालिकाको असार ८ गतेको ३४ औं बैठकको निर्णय नम्बर ६६० मा नगर शिक्षाको निर्णय अनुमोदन गर्ने बुँदाप्रति असहमती जनाएका हुन् । असहमती पत्रलाई कार्यपालिकाको बैंठकमा टाँस्न मागसमेत गरिएको छ ।
उनीहरुको असहमतीका कारण नगरसभा समयमा सुरु हुन सकेन । अपरान्ह ४ बजेदेखि मात्र सुरु भएको हो । असहमती पत्र बुझाएपछि नगरसभा सुरु भएको हो ।
मेयरका हजुरबाको नाममा १५ लाख बजेट, जनप्रतिनिधिको आपत्ती

यसैबीच त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतको हजुरबाको नाममा १५ लाख बजेट छुट्याइएकोमा जनप्रतिनिधिहरुले आपत्ती जनाएका छन् ।
मेयर बस्नेतका हजुरबा लोकबहादुर बस्नेतको नामबाट ‘लोकबहादुर स्मृति उदयपुर गोल्डकप’को शिर्षकबाट यसपटक बजेटमा १५ लाख छुट्याइएको छ । त्यही बजेटको बिषयलाई लिएर जनप्रतिनिधिले आलोचना गरेका हुन् ।
त्रियुगा नगरपालिका वडा नं. १६ का वडा सदस्य प्रवेश खड्काले यस्तो परिपाटीले शुसासनमा प्रश्न चिन्ह खडा गर्ने बताए । ‘जिम्मेवार जनप्रतिनिधिले परिवारको नाममा जथाभावी बजेट छुट्याइनु राम्रो कुरा होइन्’– उनले भने– ‘मेयरले हजुरबाको नाममा बजेट छुट्याउनु भयो, भोली वडाअध्यक्षले बुवाको नाममा बजेट छुट्याउनु होला र त्यसैगरी वडा सदस्यले दाईको नाममा बजेट छुट्याउदै जालान यसरी सरकारी बजेट व्यक्तिको नाममा छुट्याउने कसैलाई छुट छैन् ।’ वडासदस्य खड्काले जनप्रतिनिधिका परिवारको नाममा यसरी छुट्याइएको बजेटलाई करेक्सन गर्नपर्ने माग पनि गरे ।