ई–आर्थिक, काठमाडौं । भुक्तानी प्रणाली सेवाप्रदायक कम्पनी नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले सोही प्रकृतिको अर्को कम्पनी नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् लिमिटेड (नेप्स) लाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको छ । एकीकृतपछि कम्पनीको नाम ‘नेपाल क्लियरिङ हाउस लिमिटेड’ कायम भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार साविकको नेप्सेको सम्पूर्ण दायित्व तथा सम्पत्ति आजबाट नेपाल क्लियरिङ हाउसमा सरेको हो । गत चैतमा एनसीएचएलले नेप्सलाई प्राप्ति गर्नेसम्बन्धी सम्झौता भएको थियो । उक्त सम्झौतापछि दुवै संस्थाहरुले छुट्टाछुट्टै विशेष साधारणसभामार्फत आफ्नो शेयरधनीहरुको समर्थन लिई नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति मागेका थिए ।
बैंक वित्तीय संस्थाबाट प्रवद्र्धित दुवै संस्था नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त गरी विगत लामो समयदेखि सञ्चालनमा थिए । नेप्सले हालसम्म विभिन्न कार्ड स्किमका लागि कार्ड स्वीचको पूर्वाधार विस्तार गर्दै बैंक वित्तीय संस्थालाई सेवा दिँदै आएको थियो । त्यस्तै एनसिएचएलले कार्ड बाहेकका विभिन्न विद्युतीय भुक्तानी प्रणाली, पूर्वाधार प्ल्याटफर्ममार्फत आफ्नो सदस्यहरुलाई सेवा दिँदै आएको थियो ।
प्राप्ति प्रक्रिया सकिएसँगै दुवै संस्थाका प्रणाली, पूर्वाधार र कारोबारलाई एकीकृत गरिएको छ । विसं २०६५ पुसमा स्थापना भएको एनसीएचएलले एनसीएचएल–इसीसी, एनसीएचएल–आइपीएस, कनेक्ट आइपीएस, कर्पोरेट पे, कनेक्ट आरटीजिएस, नेसनल पेमेन्ट इन्टरफेस, नेपाल पे क्युआरजस्ता भुक्तानी प्रणाली सञ्चालन गर्दै आएको छ ।