ई–आर्थिक, पोखरा । पोखराका ६ वटा सहकारीका हजारौं पीडित बचतकर्ताले सहकारी डुवाउने मूख्य ‘नाइके’ जीबी राई र देबकुमार नेपालीलाई पक्राउ गर्न माग गरेका छन् । वचत फिर्ता र आफूहरुको रकम अपचलन गर्ने सहकारी सञ्चालकलाई कारबाहीको माग गर्दै सडक आन्दोलन पनि सुरु गरेका छन् ।
सूर्यदर्शन, इमेज, शिवशिखर, बलिदानी, मित्रमिलन र विन्दवासिनी सहकारीका पीडित वचतकर्ताले संयुक्त संघर्ष समिति बनाएर पोखरामा बृहत प्रदर्शन गरेका छन् । साथै उनीहरुले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र पोखरा महानगरपालिकामा ज्ञापन पत्र समेत बुझाएका छन् ।
प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, गृहमन्त्री र सबैजसो दलका शीर्ष नेतालाई भेटेर समस्या सुनाउँदा पनि न्याय पाउन नसकेको भन्दै सहकारी पीडितले एकीकृत आन्दोलन सुरु गरेका हुन् ।
सहकारी पीडितले ‘सहकारी ठग विदेशमा चिल्ला गाडीमा सरर, हामी पीडित यहाँ भोक, रोग र प्यासले हरर !’, ‘सहकारी पीडितलाई अझै कति दिन तड्पाउँछस् सरकार ?’ ‘जीबी राई, देवकुमार नेपालीलाई पक्राउ गर’, ‘जीबी राई कहाँ छ, रवि दाइलाई थाहा छ,’ ‘देवकुमार नेपाली कहाँ छ, रवि दाइलाई थाहा छ’, जस्ता नारा लगाउँदै पीडित सडकमा निस्किएका हुन् ।
पोखराका ६ वटा सहकारीबाट मात्र ३ अर्ब रुपैयाँ अपचलन भएको प्रहरीको भनाइ छ । ती सबै सहकारीका सञ्चालक र जिम्मेवार व्यक्तिहरु अधिकांश फरार भएको र उनीहरुलाई राजनीतिक दल र नेताहरुको संरक्षण रहेको पीडितहरुको आरोप छ ।
प्रधानमन्त्री, गृहमन्त्री र प्रमुख दलका शीर्ष नेतालाई आफूहरुको समस्या जानकारी गराउँदा बेवास्ता गरेकाले सामूहिक रुपमा आन्दोलन सुरु गरेको कास्की सहकारी वचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए ।
‘गृृहमन्त्रीलाई भेटेको दुई हप्ता भयो । भेटघाट गर्ने, ज्ञापन पत्र दिने, निवेदन दिने काम दुई वर्षदेखि गरिरहेका छौं । राजनीतिक दलसँग पनि विश्वस्त छैनौं हामी । सरकार क्षणिकजस्तो लाग्यो’, सूर्यदर्शन सहकारीका पीडित भने, ‘अहिले एउटा सरकार छ । यो सरकार पनि कहिलेसम्म हो । यो सहकारीको समाधान खोज्दा अर्कै सरकार थियो । त्यतिखेर पनि केही भएन ।’
पोखराको सूर्यदर्शन सहकारी पीडितले दुई हप्ताअघि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई भेटेर वचत फिर्ताको पहल गरिदिन माग गरेका थिए ।
सहकारीको वचत फिर्ता नपाउँदा कतिपय घरमा झैझगडा भएको, कतिपय परिवारले मृत्यु संस्कार गर्न पनि खर्च नपाएको श्रेष्ठको भनाइ छ । कतिपय अभिभावकले छोराछोरी स्कुल पठाउन र औषधि किन्न पनि नसकेको उनले बताइन् ।
पोखराको सूर्यदर्शन सहकारीले मात्र १८ हजार ७०० जनाको १ अर्ब ३५ करोड रुपैयाँ बचत अपचलन गरेको अनुसन्धान प्रतिवेदन छ । १ अर्ब ११ करोड रुपैयाँ बिगो माग दाबी गर्दै सञ्चालक र उच्च पदस्थ कर्मचारीविरुद्ध अदालतमा मुद्धा दायर भएको छ ।
इमेज सहकारी नाममा बागलुङमा ३ शाखा र पोखरामा बेग्लै सहकारी चलाएका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीबाटमात्र पोखरामा ८ हजार ३ सय पीडित छन् । उनी पनि गत सालको जेठ ५ गतेदेखि फरार छन् ।
पोखराको इमेजबाट ६४ करोड ८८ लाख रुपैयाँ अपचलन भएको छ । बागलुङमासमेत गरी सवा २ अर्ब त इमेज सहकारीबाट मात्र अपचलन भएको तथ्यांक छ ।
पोखराकै शिवशिखर सहकारीका पनि ७ हजार १७० जना पीडित छन् । शिवशिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मालाई पक्राउ गरे पनि बचतकर्ताले रकम फिर्ता पाउन सकेका छैनन् । पोखराको शिवशिखरबाट ५४ करोड २३ लाख ८ हजार अपचलन भएको प्रहरीको तथ्यांक छ ।
पोखराकै बलिदानी सहकारीबाट ६ हजार ३४५ जनाको १० करोड ६९ लाख अपचलन भएको पाइएको छ । यसैगरी मित्रमिलन सहकारीबाट ३ हजार ४४६ जनाको ३१ करोड ७८ लाख २२ हजार रुपैयाँ बचत अपचलन भएको प्रहरीको अनुसन्धानले देखाएको छ । विन्दवासिनी सहकारीबाट करिब १० करोड हिनामिना भएको आरोप छ ।
छुट्टाछुट्टै संघर्ष गर्दा दबाब नपुगेको भन्दै ६ सहकारीका पीडित बचतकर्ता एकै ठाउँमा उभिएका पीडितले बताएका छन् ।