ई–आर्थिक, काठमाडौं । काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को बजेट यथार्थपरक बनाउन माग गरेको छ ।
संस्थाको ७३औं वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले यस्तो बताएका हुन् । मल्लले मुलुकको बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय मार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा जोड दिए ।
उनले आगामी बजेट वस्तुनिष्ठ र कार्यान्वयनमुखी हुनुपर्ने समेत बताए । ‘बजेट सधैं महत्त्वाकांक्षी र ठूलो आकारको बनाउने तर स्रोत अभावमा पछि घटाउने गरिएको छ । बजेट यथार्थपरक एवम् घाँटी हेरी हड्डी निल्न सक्ने हुनुपर्छ,’ उनले भने ।
आर्थिक गतिविधि विस्तार गरी राजस्व लक्ष्य वृद्धि गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । उनले करको दर नभई दायरा विस्तार गरी नागरिकतासँगै प्यानकार्ड दिने व्यवस्था गर्नुपर्ने बताए ।
अर्थतन्त्रको वाह्य सूचकमा सुधारका केही संकेत देखिए पनि आन्तरिकतर्फ सुस्तता कायमै रहेको मल्लले बताए । आयातको तुलनामा निर्यात निकै कम हुँदा यो वर्ष पनि व्यापार घाटा उच्च हुने देखिएको उनको भनाइ छ ।
पूँजीगत खर्च हुन नसक्ने तथा उत्पादनशील क्षेत्रमा लगानी प्रवाह हुन नसक्दा ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने सरकारी लक्ष्य पूरा हुनेमा चुनौती रहेको मल्लले बताए । मुलुकलाई आत्मनिर्भर बनाउन अर्थतन्त्रका हरेक क्षेत्रमा उत्पादन र उत्पादकत्व बढ्नु अनिवार्य रहेको उनले उल्लेख गरे ।
तुलनात्मक लाभ भएका कृषि, जलस्रोत, पर्यटन तथा सूचना प्रविधि क्षेत्रका स्वदेशी तथा विदेशी लगानी आर्कषित गर्नुपर्ने उनको भनाइ छ ।
चेम्बरको ७३औं वार्षिक साधारणसभा उद्घाटन गर्दै उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक विकास र समृद्धिको कार्यभार पूरा गर्न सरकार प्रयासरत रहेको बताए ।
आर्थिक उन्नतिका लागि निजी क्षेत्रको प्रर्वद्धन र सुरक्षा गर्न सरकार अत्यन्तै गम्भीर रहेको उनले बताए । पूँजी निर्माण, पूँजीगत खर्चमा सुधार एवम् व्यापार घाटा नियन्त्रण सरकारको प्रमुख कार्यभार रहेको परराष्ट्रमन्त्री श्रेष्ठले बताए ।
अध्यक्षमा कमलेश अग्रवाल निर्विरोध निर्वाचित

यसैबीच नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्विरोध निर्वाचित भएका छन् ।
काठमाडौंको जमलस्थित चेम्बर भवनमा भएको ७३औं वार्षिक साधारणसभाबाट अग्रवाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । उनी यसअघि चेम्बरको वरिष्ठ उपाध्यक्ष थिए ।
दुई दशकदेखि चेम्बरमा आवद्ध अग्रवालको उद्योग वाणिज्य क्षेत्रमा ४० वर्ष लामो व्यावसायिक अनुभव छ । उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातोकोत्तर गरेका छन् ।
निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नवनिर्वाचित अध्यक्ष अग्रवाललाई कार्यभार हस्तान्तरण एवम् शुभकामना व्यक्त गरे ।
अग्रवाल यसअघि चेम्बरको वरिष्ठ उपाध्यक्ष थिए । यसैगरी वरिष्ठ उपाध्यक्षमा दीपक मलहोत्रा निर्वाचित भएका छन् भने उपाध्यक्षहरुमा वाणिज्यतर्फ उर्मिला श्रेष्ठ, उद्योगतर्फ दीपक श्रेष्ठ, जिल्लानगरतर्फ सन्तोषकुमार पाण्डे, वस्तुगततर्फ सुरेन्द्रकुमार श्रेष्ठ, संस्थागत द्विराष्ट्रियबाट निलकण्ठ चौलागाईँ र मानार्थ उपाध्यक्षमा अर्जुनप्रसाद शर्मा निर्वाचित भएका छन् ।
यसैगरी प्रदेश अध्यक्षहरुमा कोशीबाट सुरेशमान श्रेष्ठ, मधेशबाट अमरनाथ गुप्ता, बागमतीबाट सिद्धिलाल श्रेष्ठ, गण्डकीबाट किसान सुनार, लुम्बिनीबाट टंकप्रसाद पोखरेल, कर्णालीबाट लक्ष्मण न्यौपाने र सुदुरपश्चिमबाट विनोद मल्ल सर्वसम्मत रुपमा चयन भएका छन् । यसैगरी चेम्बर नयाँ कार्यसमितिले सदस्यहरुमा लीमा अधिकारी, नयन बहादूर खत्री र सुशान कर्माचार्यलाई सदस्यमा मनोनित गरेका छन् ।
