ई–आर्थिक, काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नोटको प्रयोग घट्दै गएकोले अब सहकारीले पनि सूचना प्रविधिमा जोडिएर विद्युतीय भुक्तानी गर्न तयार हुनुपर्ने बताएका छन् । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको पहिलो डिजिटल कन्क्लेभमा प्रमुख वक्ता रहेका पूर्व अर्थमन्त्री खतिवडाले बढ्दो सूचना प्रविधिको विकासले बैंकको शाखा र नोटको कारोबार कम हुँदै गएकोले सहकारीहरुले पनि त्यसतर्फ लाग्नुपर्ने बताए ।
जसले नोट बोक्छ, उसले सँगै जोखिम पनि बोक्ने भन्दै प्रविधिमा जोडिन आवश्यक छ भन्दै उनले भने, ‘अब एटीएम मेसिनको अस्तित्व सकियो, अब नोटको प्रयोग नै हुँदैन, नोट बोकेका छौं भने जोखिम बोकेका छौं, अहिले बैंक ब्रान्चलेस भइसके, सहकारीमा पनि अब सेवाकेन्द्र आवश्यक छ कि छैन बुझ्नुपर्छ ।’ सहकारीको कारोबार डिजिटल हुनसक्यो भने पारदर्शिता कायम भई क्रमशः समस्या समाधान हुने खतिवडाको भनाइ छ ।
सहकारी वित्तीय कारोबार मात्रै नभई सामाजिक पुँजी निर्माण र सहकार्य भएको बताउँदै भौतिक रुपमा उपस्थित हुनुपर्ने खतिवडाले बताएका छन् । ‘केन्द्रीय बैंकबाट डिजिटल करेन्सी निकाल्ने कुरा आइरहेको छ, राष्ट्रबैंकले छिटो डिजिटल करेन्सी ल्याउनुपर्छ र भुक्तानी गर्न पर्यो भने राष्ट्र बैंकको वेबसाइटमा गएर कारोबार गर्नुपर्छ भन्दै डिजिटल करेन्सीको कारोबारका लागि आफू सक्षम हुनुपर्छ र नभए हराएर जानुको विकल्प रहन्न त्यसैले सहकारी सूचना प्रविधिमा अगाडि बढ्नुुपर्छ’, उनले भने ।
यसैगरी उनले सहकारी क्षेत्रले सदस्यलाई सूचना प्रविधिमा पनि अगाडि बढाउनुपर्ने भन्दै स्मार्ट सहकारीको अवधारणालाई अंगाल्नुपर्ने बताएका छन् । सहकारीहरु स्मार्ट हुन नसकेमा अस्तित्व नै नामेट हुने उनको भनाइ छ । साथै सामाजिक सञ्जालको उपयोग गरेर सदस्यलाई सहकारीको गतिविधिको जानकारी दिने वातावरण बनाउन आवश्यक रहेको उनले बताए ।
साधारण सभाको सूचनामा कार्यालयको ढोकामा टाँस्ने र घरमा पत्र पठाउने प्रचलनको अन्त्य हुनुपर्ने भन्दै उनले भने, ‘कतिपय सहकारीको साधारण सभा सकिएपछि सदस्यले सूचना पाउने गरेका छन् ।’ सन् २०३० सम्मको सहकारी कस्तो हुने, कस्ता प्रविधिको प्रयोग गर्ने र सदस्यलाई सेवा दिने भनेर सोच्ने बेला आइसकेको उनको भनाइ छ ।
साथै, उत्पादन, वितरण र उपभोक्ताको क्षेत्रमा काम गर्ने सहकारी बाहेकका सहकारीलाई क्षेत्रगत र उद्देश्य केन्द्रित बनाउन जरुरी भएको खतिवडाले सुझाएका छन् । सदस्यको हितमा काम नगर्ने सहकारीको भविष्य नरहेको भन्दै उनले नाफामुखी, सदस्य र समुदाय केन्द्रित नरहेका सहकारी काम नभएको बताए । सामाजिक पुँजी निर्माण गरी सदस्य केन्द्रित संस्था समाजमा आवश्यक रहेको उनको भनाइ छ ।