बैंक वित्तीय क्षेत्र सुधारका लागि विभिन्न क्षेत्र र व्यक्तिबाट विभिन्न खाले सुधारका सुझाबहरु आइरहेका छन् । यसैक्रममा १० बर्ष बैकिङ्ग क्षेत्रमा अनुभव बटुलेका गोपीकृष्ण न्यौपानेले ७ बुंदे सुझाव दिएका छन् । समसामयिक उहाँको सुझाबलाई यहाँ प्रस्तुत गरिएको हो ।
१. बैकबाट दैनिक रु. १ लाख सम्म मात्र नगद निकाल्न पाउने व्यवस्था गरौं । एटिमको दैनिक निकाल्न पाउने लिमिट ५ लाख बनाऔं ।
२. संस्थागत डिपोजिटमा ३ प्रतिशत भन्दा बढी ब्याज नदिने व्यवस्था गरौं ।
३. कर्जाको अधिकतम व्याजदर १० प्रतिशतभन्दा बढी नहुनेगरी व्यवस्था गरौं ।
४. विश्व अर्थतन्त्रमा परेको संकटले बिस्तारै नेपाललाई छुदैछ, त्यसैले सरल कर्जा मार्फत व्यवसाय चलायमान बनाउन बित्तीय टुल्सहरुको प्रयोग गरौं । व्यवसाय निरन्तरता कर्जालाई अझ २०८१ असार मसान्तसम्म भुक्तानी गर्ने म्याद थप गरौं ।
५. बिदेशी मुद्राको संचितीमा केही सुधार भएको भएता पनि यो अस्थायी मात्र हो । बिदेसी मुद्रा खर्च हुने मूख्यमूख्य कारणहरुको बारेमा छलफल गरौं । उदाहरणको लागि स्नातकोत्तर गर्न, विद्यावारिधि गर्न, स्नातकमा पनि पूर्ण छात्रबृत्तिमा अध्ययन गर्न जाने बाहेक बिदेशमा अध्ययन गर्न जानेलाई कर्जा सुबिधा, बिदेशी मुद्रा सटही सुबिधा र एनओसीमा कडाइ गरौं । भौतिक संरचना निर्माण गर्ने प्रयोजनका लागि लिइने शैक्षिक कर्जालाई प्राथमिकता प्राप्त कर्जामा वर्गीकरण गरी सहुलियत दिऔं ।
६. हरेक पालिकामा बैंक पुगिसकेकोले डिप्राइभ्ड सेक्टरको कर्जा बैंक मार्फत दिएर माइक्रोफाइनान्सलाई बैकले एक्वीजिसिन गर्ने व्यवस्था गरौं । कृषि कर्जालाई सरलिकृत गरौं, वडालाई ग्यारेण्टरको रुपमा बिकास गरौं ।
७. बिदेशबाट सीप सहित नेपाल फर्केर आउने व्यक्तिलाई नार्क, सिटिइभिटी, नाष्ट जस्ता संस्थाहरुबाट परियोजना संभाव्यता अध्ययन गरी प्रतिबेदन बनाई संस्थागत सिष्टममा सस्तो दरको कर्जा उपलब्ध गराऔं । उक्त व्यक्तिले कमाएर ल्याएको रकम लाई ३० प्रतिशत मानी ७० प्रतिशतसम्म सहुलियत दरको बढीमा १० बर्षे परियोजना कर्जा प्रदान गरौं ।