२०८३ साउन ११ सोमबार

आयुर्वेदिक उपचार पद्धतिबाट उपचार गराउनेको सङ्ख्या क्रमिकरूपले वृद्धि

ई आर्थिक    बुधबार, असार ६ २०८०
1.8K
Shares
आयुर्वेदिक उपचार पद्धतिबाट उपचार गराउनेको सङ्ख्या क्रमिकरूपले वृद्धि

ई–आर्थिक, रसुवा : हिमाली जिल्ला रसुवामा पछिल्लो समय आयुर्वेदिक उपचार पद्धतिबाट उपचार गराउनेको सङ्ख्या क्रमिकरूपले वृद्धि हुन थालेको छ।

प्रभावकारी प्रचारप्रसार एवं जडीबुटी मिश्रण औषधि उपभोगबाट शारीरिक फाइदाको प्रभाव बढ्नुको साथसाथै सःशुल्क तथा निःशुल्क औषधि एकैथलोबाट पाउन थालेपछि स्थानीयवासी आयुर्वेदिक उपचार पद्धतिमा आकर्षित हुन थालेका हुन्।

उत्तरी भेगको सदरमुकाम धुञ्चे तथा दक्षिणी भेगका लागि कालिका गापाको भदौरे एवं उत्तरगया गापाको माझगाउँ आयुर्वेदिक स्वास्थ्य केन्द्रबाट रसुवावासीलाई उपचार सेवा प्रदान भइरहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धुञ्चेका वरिष्ठ वैद्य प्रेमशङ्कर प्रसादले जानकारी दिए।

गत साउनदेखि हालसम्म आयुर्वेद स्वास्थ्य केन्द्रबाट उपचार गराउनेको सङ्ख्या नौ हजार छ सय ४१ रहेको र तीमध्ये पाँच हजार दुई सय १२ जना महिला रहेको केन्द्रले जनाएको छ। उपचारमा आउनेमा गानुगोला, कमलपित्त, बाथरोग, पाइल्स, ज्वरो, रुघाखोकी, शरीर सुनिने, दाँत दुख्नेजस्ता विविध प्रकारका बिरामी रहेका छन्।

गत वर्षको तुलनामा आयुर्वेदिक उपचार गराउने स्थानीयको सङ्ख्या उल्लेखनीयरूपमा वृद्धि भएको छ। चिकित्सकले सिफारिस गरेका औषधि नियमित सेवन गर्दा लामो समयदेखिको रोग हट्दै गएको सेवाग्राहीले बताएका छन्।

दुई हजार ५८ जनालाई गानुगोला, दुई हजार एक सय ९२ मा बाथरोग, चार सय ४० जनामा खोकी, ५० जनामा ज्वरो र ३५ जनामा पाइल्सको समस्या देखिएको वैद्य प्रेम शङ्करले बताए।

पाइल्स भएका बिरामीले मासु, आलु, चाउचाउ, बिस्कुट, प्लास्टिकमा पोको पारिएको खाना, अदुवा, चिल्लो, पिरो, अमिलोजस्ता चिज नखान वैद्यले सुझावसमेत दिए।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij