२०८३ साउन १७ आइतबार

घोराही सिमेन्टको आइपिओ निष्कासनमा गडबडी, तत्काल स्थगित गर्न धितोपत्र बोर्डको निर्देशन

ई आर्थिक    मंगलबार, असार ५ २०८०
1.9K
Shares
घोराही सिमेन्टको आइपिओ निष्कासनमा गडबडी, तत्काल स्थगित गर्न धितोपत्र बोर्डको निर्देशन

ई–आर्थिक, काठमाडौं । क्रेडिट रेटिङमा कैफियत देखिएपछि नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको साधारण सेयर निष्कासन प्रक्रिया तत्काल स्थगित गर्न निर्देशन दिएको छ । बोर्डले निष्कासन अनुमति दिएपछि निष्कासनसमेत सुरु भएको अवस्थामा पहिलो पटक साधारण सेयर निष्कासन स्थगित गरेको हो ।

निष्कासन सुरु भएको चार कार्यदिनपछि १० दिनको म्याद थप्न अनुमति दिएको बोर्डले सेयर आवेदनका क्रममा भएका गडबडी उजागर भएपछि निष्कासन प्रक्रिया रोक्ने निर्णय गरेको हो ।

बोर्डले सोमबार निर्देशन जारी गर्दै रेटिङमा भएको कैफियतको छानबिनका लागि भन्दै कम्पनीको सेयर निष्कासन प्रक्रिया स्थगन गर्न सर्कुलर नै जारी

गरेको छ । नक्कली आवेदक, रेटिङमा कैफियतलगायतका विवादका कारण धितोपत्र बोर्डले पहिलो पटक निष्कासनका क्रममा रहेको साधारण सेयरलाई स्थगित गरेको हो ।

घोराही सिमेन्टलाई प्रदान गरेको इस्युअर रेटिङ, क्रेडिट रेटिङ नियमावली, २०६८ को नियम ३४ को उपनियम ९२० विपरीत भएरनभएकोबारेमा केयर रेटिङ नेपाल लिमिटेडलाई तीन दिनभित्र स्पष्ट गरी पेस गर्न मिति गत जेठ ३० मा पत्राचार गरिएकामा केयर रेटिङ नेपाल लिमिटेडले हालसम्म जानकारी पेस नगरी कुनै आधारबिना म्याद थपका लागि अनुरोध गरेको बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।

कम्पनीको सार्वजनिक निष्कासनमा मागभन्दा बढी कित्ता सेयरका लागि आवेदन प्राप्त भइसकेको अवस्थामा समेत सार्वजनिक निष्कासनको समयावधि थप गर्न सूचना प्रकाशित गरेको बोर्डको भनाइ छ । सर्वसाधारण लगानीकर्ताको सुरक्षा तथा हित संरक्षणलाई मध्यनजर गर्दै उक्त कम्पनीको रेटिङ र सार्वजनिक निष्कासनसम्बन्धी कैफियतको जाँचबुझका लागि हाललाई घोराहीको सार्वजनिक निष्कासनको सम्पूर्ण प्रक्रिया स्थगन गरिएको बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij