२०८३ भाद्र २९ सोमबार

एक अभिकर्ता ‘एक बीमा कम्पनी’ नीति लागू

ई आर्थिक    बिहिबार, चैत्र ९ २०७९
5.4K
Shares
एक अभिकर्ता ‘एक बीमा कम्पनी’ नीति लागू

काठमाडौं । नेपाल बीमा प्राधिकरणले एकजना बीमा अभिकर्ताले समान किसिमको एकभन्दा बढी बीमा कम्पनीमा काम गर्न नपाउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

बीमा ऐन, २०७९ को दफा ९३ को उपदफा ६ मा कुनै एक बीमकको बीमा अभिकर्ताले सोही अवधिमा अर्को उस्तै किसिमको बीमकको बीमा अभिकर्ता भई काम गर्न नपाउने उल्लेख छ ।

बीमा ऐन, २०७९ को उक्त व्यवस्थाअनुसार प्राधिकरणले ‘एक अभिकर्ता, एक बीमा कम्पनी’ नीति लागू गरेको हो । उक्त व्यवस्था लागू भएसँगै अब एक व्यक्तिले समान किसिमको एकभन्दा बढी बीमा कम्पनीको अभिकर्ता भएर काम गर्न पाउने छैन । प्राधिकरणका अनुसार फागुनसम्ममा बीमा अभिकर्ताको संख्या २ लाख ५६ हजार ३२२ पुगेको छ । तीमध्ये ५ हजार ४५ अभिकर्ता समान किसिमका एकभन्दा बढी बीमा कम्पनीमा आबद्ध छन् । प्राधिकरणका अनुसार समान किसिमको व्यवसाय गर्ने दुई बीमा कम्पनीमा आबद्ध अभिकर्ताको संख्या ४ हजार ८ सय ४७, तीन कम्पनीमा आबद्ध १ सय ७८, चार कम्पनीमा आबद्ध १६, पाँच कम्पनीमा २ र १० कम्पनीमा आबद्ध २ जना छन् ।

बीमा प्राधिकरणले ‘एक अभिकर्ता, एक बीमा कम्पनी’ नीति लागू गरेसँगै नवीकरण गर्दा अब समान किसिमको एकभन्दा बढी बीमा कम्पनीमा आबद्ध अभिकर्ताले अनलाइनमार्फत एउटा मात्र कम्पनी छान्न पाउनेछन् । अभिकर्ताले मोबाइलमा प्राप्त हुने वान टाइम पासवर्ड (ओटीपी) मार्फत कम्पनी छनोट गरी नवीकरण गर्न पाउने व्यवस्था गरिएको छ ।

प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल प्राधिकरणले बीमा ऐनमा भएको एक बीमकको बीमा अभिकर्ताले सोही अवधिमा अर्को समान किसिमको बीमकको बीमा अभिकर्ता भई कार्य गर्न नपाउने व्यवस्था कार्यान्वयनसँगै अभिकर्ता, बीमा कम्पनी र प्राधिकरणलाई सबैलाई फाइदा हुने बताउँछन् ।

सिलवाल भन्छन्, ‘हामीले ऐनमा भएको व्यवस्था कार्यान्वयन गरेका हौं । उक्त व्यवस्था कार्यान्वयनमा आएसँगै अब अभिकर्तालाई नवीकरण गर्न सहज हुनेछ र उनीहरूले एउटा मात्र कम्पनीमा इमानदारीसाथ आबद्ध भएर काम गर्नेछन् ।’

अब बीमा कम्पनीहरूलाई आफ्ना अभिकर्ताबारे सम्पूर्ण जानकारी हुने र प्राधिकरणलाई पनि नियमन गर्न सहज हुने उनले बताएको समाचार अनन्त्य सुन्दरले आर्थिक अभियानमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij