वितरणतर्फ ७.९९ र प्रविधितर्फ ४.६० प्रतिशत चुहावट, गत वर्षको तुलनामा ५.९३ प्रतिशत कम
काठमाडौँ : चालु आर्थिक वर्षको सात महिना (साउनदेखि माघ) मा नेपालको समग्र विद्युत् चुहावट १२.५९ प्रतिशतमा झरेको छ । उक्त अवधिमा वितरणतर्फ ७.९९ र प्रसारणतर्फ ४.६० प्रतिशत चुहावट भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा विद्युत् चुहावट १८.५२ प्रतिशत थियो । समग्रमा ५.९३ प्रतिशत चुहावट घटाउन सफल भएको नेपाल विद्युत् प्राधिकरणको दाबी छ ।
प्राधिकरणका अनुसार सात महिनामा ४ करोड ५८ लाख युनिट विद्युत् चुहावट भएको छ । चालु आर्थिक वर्षको माघसम्ममा वितरण प्रणालीमा ५ अर्ब ७३ करोड २२ लाख युनिट विद्युत् प्राप्त भएको थियो । त्यसमध्ये ५ अर्ब २७ करोड ४१ लाख युनिट बिक्री भएको हो । चुहावटको सबैभन्दा ठूलो हिस्सा वितरणतर्फ हुन्छ । प्राधिकरणले चालु आवमा समग्र प्रणालीको विद्युत् चुहावटलाई १४ प्रतिशत र वितरणतर्फ ८.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गर्मीमा तराई क्षेत्रमा केही मात्रामा चुहावट बढे पनि प्राविधिक र गैरप्राविधिक चुहावटका लागि चालिएका कदमलाई अझै प्रभावकारी बनाएर यस वर्षका लागि तोकिएको लक्ष्यभन्दा चुहावटलाई तल झार्ने गरी काम भइरहेको बताए ।
‘मिटर रिसिलिङ गर्ने, बक्यौता नतिर्ने तथा कालोपाटीमा रहेका ग्राहकको लाइन काट्ने, छड्के मिटर रिडिङ गर्ने, हुकिङलगायतबाट हुने विद्युत् चोरी नियन्त्रणका लागि नियमित अनुगमन तथा कारबाही गर्नेलगायत अभियान देशैभर सञ्चालन गरिएको छ,’ घिसिङले भने, ‘यस अवधिमा धेरै पुराना तथा ओभरलोड भएका कन्डक्टर तथा ट्रान्सफर्मरहरू फेरिएका छन् । नयाँ सबस्टेसन निर्माण र पुरानालाई स्तरोन्नति गरिएको छ । औद्योगिक क्षेत्रमा विद्युत् खपत बढेको छ, थ्री फेज मिटरको प्रयोगलाई प्रोत्साहन गरिएको छ । समग्रमा प्रसारण तथा वितरण प्रणालीमा गरिएको ठूलो लगानीको नतिजा चुहावट नियन्त्रणमा देखिएको छ ।’
गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महसुल बक्यौता असुलीमा कडाइ, मिटर बाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारबाही, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने, मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रूपमा चलाइरहेको प्राधिकरणको भनाइ छ । प्रत्येक प्रादेशिक तथा प्रदेश डिभिजन कार्यालय र ती मातहतका वितरण केन्द्रलाई चुहावट नियन्त्रणको लक्ष्य तोकिएको छ । लाइन सुधार तथा विस्तारका लागि पर्याप्त बजेटको व्यवस्था गरिएको छ । प्राधिकरणका वितरण केन्द्रहरूले स्थानीय प्रशासनको सहयोगमा विद्युत् चोरी गर्नेलाई दैनिक रूपमा नियन्त्रणमा लिँदै कारबाही गर्दै आएका छन् ।
मधेशको चुहावट ११.७८ प्रतिशत
प्राधिकरणका सात प्रादेशिक कार्यालय र दुई प्रदेश डिभिजन कार्यालय मातहतका वितरण केन्द्रमध्ये सबैभन्दा बढी विद्युत् चुहावट रहेको मधेश प्रदेश प्रादेशिक कार्यालय, जनकपुरको चुहावट माघसम्ममा ११.७८ प्रतिशतमा झरेको छ । कार्यालयमातहतका २३ वटा वितरण केन्द्रको गत वर्षको माघसम्मको समग्र विद्युत् चुहावट १२.३० प्रतिशत थियो । सर्लाहीको मलंगवा वितरण केन्द्रको सबैभन्दा बढी ४०.९७ प्रतिशत विद्युत् चुहावट छ । गत वर्ष त्यहाँ ४१.८६ प्रतिशत विद्युत् चुहावट थियो । रौतहटको मौलापुर वितरण केन्द्रको विद्युत् चुहावट ३८.६४ प्रतिशत छ । गत वर्ष त्यस केन्द्रको चुहावट १५.८६ प्रतिशत थियो । रौतहटकै गौर वितरण केन्द्रको चुहावट गत वर्ष ३०.५२ प्रतिशत रहेकोमा यस वर्ष ३२.४७ प्रतिशत छ । बाराको सिम्रौनगढ वितरण केन्द्रको विद्युत् चुहावट ३८.३९ प्रतिशत छ । गत वर्ष त्यहाँ ३९.३४ चुहावट प्रतिशत थियो ।
कोशी प्रादेशिक कार्यालय विराटनगर मातहतका २४ वटा वितरण केन्द्रको माघसम्मको समग्र विद्युत् चुहावट ८.१७ प्रतिशत छ । अघिल्लो वर्ष सोही अवधिमा चुहावट १० प्रतिशत थियो । प्रादेशिक कार्यालयअन्तर्गत सबैभन्दा बढी विद्युत् चुहावट मोरङको रंगेली वितरण केन्द्रको छ । यस केन्द्रको विद्युत् चुहावट १९.९५ प्रतिशत छ । अघिल्लो वर्ष १६.०५ प्रतिशत थियो ।
वाग्मती प्रदेशअन्तर्गत प्रदेश डिभिजन कार्यालय हेटौंडा मातहतका ६ वटा वितरण केन्द्रको गत वर्षको माघसम्मको ४.६३ प्रतिशत रहेको समग्र विद्युत् चुहावट यस वर्ष सोही अवधिमा ५.९९ प्रतिशत छ । डिभिजन कार्यालयअन्तर्गत सबैभन्दा बढी मकवानपुरको पालुङ वितरण केन्द्रको २४.६९ प्रतिशत विद्युत् चुहावट छ । गत वर्ष त्यस केन्द्रको २९.७५ प्रतिशत चुहावट थियो । वाग्मती प्रादेशिक कार्यालय काठमाडौं मातहतका २० वटा वितरण केन्द्रको समग्र विद्युत् चुहावट ६.२५ प्रतिशत छ । अघिल्लो वर्ष ९.३० प्रतिशत थियो । कार्यालयमातहत सिन्धुपाल्चोक वितरण केन्द्रको सबैभन्दा बढी २२.२६ प्रतिशत चुहावट छ । अघिल्लो वर्ष त्यस केन्द्रको २८.९१ प्रतिशत चुहावट थियो ।
गण्डकी प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय पोखरा मातहतका १२ वटा वितरण केन्द्रको गत वर्षको माघसम्मको समग्र विद्युत् चुहावट ८.०३ प्रतिशत रहेकोमा यस वर्षको सोही अवधिमा ७.२५ प्रतिशत छ । कार्यालयअन्तर्गत सबैभन्दा बढी चुहावट म्याग्दीको तातोपानी वितरण केन्द्रको छ । केन्द्रको चुहावट अघिल्लो वर्ष ५.१७ प्रतिशत रहेकोमा यस वर्ष बढेर ३२.६७ प्रतिशत पुगेको छ । लुम्बिनी प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय बुटवल मातहतका ११ वटा वितरण केन्द्रको समग्र विद्युत् चुहावट ६.९६ प्रतिशत छ । गत वर्ष १०.१४ प्रतिशत थियो । कार्यालयअन्तर्गत सबैभन्दा बढी चुहावट पाल्पा वितरण केन्द्रको २१.३३ प्रतिशत छ । गत वर्ष केन्द्रको चुहावट १६.९५ प्रतिशत थियो ।
लुम्बिनी प्रदेशअन्तर्गत प्रदेश डिभिजन कार्यालय नेपालगन्ज मातहतका ९ वटा वितरण केन्द्रको गत वर्षको माघसम्मको समग्र विद्युत् चुहावट ७.४१ प्रतिशत रहेकोमा यस वर्ष सोही अवधिमा ५.०६ प्रतिशत छ । कार्यालयअन्तर्गत सबैभन्दा बढी विद्युत् चुहावट रोल्पा वितरण केन्द्रको १५.७२ प्रतिशत छ । गत वर्ष त्यस केन्द्रको चुहावट १७.१० प्रतिशत थियो । कर्णाली प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय सुर्खेत मातहतका ७ वटा वितरण केन्द्रको समग्र विद्युत् चुहावट १५.७४ प्रतिशत छ । गत वर्ष १५.६९ प्रतिशत थियो । कार्यालयअन्तर्गत सबैभन्दा बढी चुहावट रुकुम (पश्चिम) वितरण केन्द्रको छ । केन्द्रको चुहावट गत वर्ष २३.९० प्रतिशत रहेकोमा यस वर्ष बढेर ३६.४६ प्रतिशत पुगेको छ ।
सुदूरपश्चिम प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय अत्तरिया मातहत १२ वटा वितरण केन्द्रको माघसम्मको समग्र विद्युत् चुहावट ७.१६ प्रतिशत छ । गत वर्षको सोही अवधिमा चुहावट ७.२७ प्रतिशत थियो । कार्यालयअन्तर्गत सबैभन्दा बढी चुहावट बझाङ वितरण केन्द्रको छ । गत वर्ष २१.२० प्रतिशत रहेको केन्द्रको चुहावट यस वर्ष घटेर २०.९१ प्रतिशतमा झरेको समाचार कान्तिपुरले लेखेको छ ।