२०८३ साउन ११ सोमबार

अन्जन श्रेष्ठ प्यानलका मुल सारथी तयार, श्रेष्ठलाई निजीक्षेत्रका चर्चित र दरिला अभियान्ताको साथ

ई आर्थिक    बुधबार, चैत्र १ २०७९
17.5K
Shares
अन्जन श्रेष्ठ प्यानलका मुल सारथी तयार, श्रेष्ठलाई निजीक्षेत्रका चर्चित र दरिला अभियान्ताको साथ

तीन उपाध्यक्ष मध्ये बस्तुगतमा मनिषलाल प्रधान, जिल्ला नगरमा अरूणराज सुमार्गी र एसोसिएटमा ज्योत्सना श्रेष्ठ चुनावी मैदानमा उत्रिदै

ई–आर्थिक, काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंंघमा बरिष्ठ उपाध्यक्षको उम्मेद्वार अन्जन श्रेष्ठले आफ्नो प्यानलका मूल सारथीको टुंगो लगाएका छन् । महासंघको यही चैत २८ र २९ गते हुने साधारणसभामा वरिष्ठ उपाध्यक्षका उम्मेदवार श्रेष्ठले आफ्नो प्यानलमा उपाध्यक्षका उम्मेदवारहरुको टुंगो लगाएका हुन् । श्रेष्ठ महासंघमा हाल बस्तुगत तर्फबाट उपाध्यक्ष हुन् ।

लामो समयदेखि निजीक्षेत्रका अभियानमा सक्रिय उनी नाडा अटोमावाइल एसोसिएसनका पूर्वअध्यक्ष हुन् । उनी हुन्डाई मोटरका लागि नेपालको अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.का कार्यकारी निर्देशक हुन् ।

महासंघको बस्तुगत उपाध्यक्षको उम्मेद्वारी दिएर निजी क्षेत्रका चर्चित अभियान्ता मनिषलाल प्रधानले श्रेष्ठलाई साथ दिदैछन् । प्रधान महासंघमा हाल कार्यकारीणी सदस्यका साथै निर्यात प्रबद्र्धन समितिको सभापति हुन् । विभिन्न उद्योग व्यवसाय सञ्चालन गर्दै आएका उनी नेपाल रत्न तथा आभुषण संघको अध्यक्ष समेत भइसकेका छन् । निजीक्षेत्रको अभियानमा उनले ललितपुर उद्योग वाणिज्य संघबाट आफ्नो योगदान सुरु गरेका थिए । त्यसपछि निजीक्षेत्रको हरेक क्रियाकलापमा उनले सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।

त्यस्तै श्रेष्ठको प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा अरुणराज सुमार्गीले उम्मेदवार दिने भएका छन् । सुमार्गी पनि निजी क्षेत्रको अभियानमा लामो समयदेखि सक्रिय रहँदै आएका छन् । विभिन्न उद्योग व्यवसायमा आबद्ध उनी मकवानपुर उद्योग बाणिज्य संघको पूर्वअध्यक्ष पनि हुन् । सुमार्गी हाल महासंघमा कार्यकारिणी सदस्यका साथै कृषि उद्यम केन्द्रको सभापति हुन् ।

त्यसैगरी एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठले उम्मेद्वारी दिने पक्का भएको छ । मेरिगोल्ड ज्वेलरीकी सञ्चालक श्रेष्ठ नेपाल रत्न तथा आभुषण संघको अध्यक्ष हुन् । महासंघमा हाल कार्यकारिणी सदस्यका साथै पर्यटन समितिका सभापति रहेर निजीक्षेत्रको अभियानमा उनले सक्रिय योगदान पु¥याउँदै आएकी छन् ।

अन्जन श्रेष्ठले तयार पारेको उपाध्यक्षको टिममा महिलाको समेत प्रतिनिधित्व हुने भएपछि अन्य उम्मेद्वारको प्यानल भन्दा यो प्यानल केही समावेश बन्ने देखिन्छ । श्रेष्ठले आफ्नो मुल प्यानलमै महिलालाई प्राथमिकतामा राख्न खोज्नु राम्रो पक्ष भएको एक महिला उद्यमीले प्रतिक्रिया दिइन् । मुल टिममै महिलालाई प्राथमिकतामा राखेजस्तै श्रेष्ठको यो प्यानलमा अन्य उम्मेद्वारमा पनि महिलालाई प्राथमिकता दिनुपर्ने उनले बताइन् । यसो हुँदा श्रेष्ठ प्यान थप समावेशी बन्ने उनको तर्क छ ।

त्यसो त अन्जनले मुल टिममा महासंघ बुझेका, विभिन्न आर्थिक क्षेत्रमा विशेष दख्खल राखेका, जिल्ला तथा बस्तुगत संघ हाकेका व्यक्तिहरुलाई समावेश गरेका छन् । यसरी हेर्दा अन्जन श्रेष्ठको प्यानल परिपक्व बन्ने महासंघका एक कार्यकारिणी सदस्य बताउँछन् । आफ्नो प्यानलमा अन्य उम्मेद्वार पनि यस्तै परिपक्वलाई राखे भने अन्जन श्रेष्ठ प्यानल बलियो हुने देखिएको महासंघका ती कार्यकारिणी सदस्यको भनाई छ ।

अन्जनले आफ्नो मूल प्यानलका साथमा राजधानीमा एक पत्रकार सम्मेलनमार्फत परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रम पनि सम्पन्न गरेका छन् । उक्त कार्यक्रममा अन्जन लगायत उनका तीनै जना मुल सारथीले मुलुकको बर्तमान अवस्था, बैंकको ब्याजदरको विषय, अर्थतन्त्रको संकुचन र महासंघको भूमिका विषयमा आ–आफ्ना तर्क र भनाईहरू राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij