ई–आर्थिक, वीरगञ्ज । आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पर्साले लामो समयदेखि कर नबुझाउने करदातालाई कारबाही गर्ने भएको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने मूल्यअभिवृद्धि करका चार सय तीन र आयकरका चार सय २९ करदातामाथि कारबाही प्रक्रिया शुरू भएको कार्यालयले बताएको छ ।
प्रमुख कर अधिकृत ढाकाराम तिवारीले भने, ‘पहिलो चरणमा करदातालाई १५ दिने र सातदिने पत्र पठाइसकेका छौं । यसपछि पुनः तीन दिनको पत्र पठाउनेछौं ।’ पत्र प्राप्त गरेर पनि बक्यौता नबुझाइए उनीहरूको बैंक खाता रोक्का समेत गरिने उनले जानकारी दिए । जिल्लामा एक लाख २४ हजार तीन सय पाँच करदाता रहेको कार्यालयले बताएको छ । यसैबीच बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह नगर्दा चालू आर्थिक वर्ष २०७९र८० को ६ महीनाको अवधिमा आन्तरिक राजस्व कार्यालय वीरगञ्जको राजस्व संकलनमा कमी आएको छ ।
सो कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७९र८० को ६ महीनामा रू। चार अर्ब ७३ करोड १६ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा ६६ दशमलव ६१ प्रतिशत अर्थात् रू। तीन अर्ब १५ करोड १६ लाख मात्र असुली भएको छ । गत आर्थिक वर्ष २०७८र७९ मा सो कार्यालयले नौ अर्ब ४४ करोड ४५ लाख ७५ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा लक्ष्यको ९२ दशमलव ३० प्रतिशत अर्थात् रू। आठ अर्ब ७१ करोड ६९ लाख ६० हजार राजस्व संकलन गरेको थियो ।