२०८३ साउन ११ सोमबार

मूल्यवृद्धिको १ वर्ष नपुग्दै डेरी उद्योगीले फेरि बढाए १४ रुपैयाँ

ई आर्थिक    शनिबार, पौस १६ २०७९
12.2K
Shares
मूल्यवृद्धिको १ वर्ष नपुग्दै डेरी उद्योगीले फेरि बढाए १४ रुपैयाँ

डेरी उद्योग संघको संरक्षणमा केही डेरीले मूल्य बढाए पनि डेरी एसोसिएसनको विमति

केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ भन्छ– ‘एकलौटी रूपमा बढाएको मूल्यमा सहमत छैनौं, सुगममा मात्र मूल्य बढाउन मिल्दैन, दुर्गमका किसानको मूल्य कसले बढाउँछ ?’

डीडीसीका महाप्रबन्धक भन्छन्– ‘डीडीसीको दूधको मूल्य बढेको छैन’

काठमाडौँ : मूल्यवृद्धि गरेको एक वर्ष नपुग्दै डेरी उद्योगीहरूले दूधको खुद्रा मूल्य फेरि बढाएका छन् । डेरी उद्योग संघको संरक्षणमा केही डेरी उद्योगीले किसानको बहाना बनाउँदै दूधमा प्रतिलिटर १४ रुपैयाँ मूल्य बढाएका हुन् । राष्ट्रिय दुग्ध विकास ऐन तथा नीतिअनुसार दुई/दुई वर्षमा मात्रै बजारमूल्य समायोजन गर्न पाइन्छ ।

यसअघि ०७८ माघ २८ मा सरकारले दूधको फ्याटका आधारमा प्रतिलिटर ९ देखि १४ रुपैयाँसम्म मूल्य बढाइसकेको छ । तर सरोकारवाला निकायसँग छलफल र नीतिविपरीत केही उद्योगीले मनलाग्दी मूल्य बढाएका हुन् ।

‘दूधको न्यूनतम मूल्य करिब ६० हुँदा उपभोक्ता मूल्य प्रतिलिटर ८६ रुपैयाँ थियो । अहिले किसानलाई तिर्नुपर्ने मूल्य प्रतिलिटर १०/१२ रुपैयाँ बढेको छ । न्यूनतम मूल्य नै ७०/७२ पुग्यो,’ डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले भने, ‘कि उद्योग बन्द गर्नुपर्‍यो, होइन भने मूल्य समायोजनको विकल्प रहेन । किसानबाट दबाब आएकैले उद्योगीहरूले आफैं मूल्य बढाए । यो संघको निर्णय भने होइन ।’

बढेको मूल्य शनिबार (पुस १६) देखि नै लागू हुने संघले जनाएको छ । अध्यक्ष दाहालले मूल्यवृद्धिको निर्णय संघको नभएको दाबी गरे पनि उनकै राजधानी डेरीले शनिबारदेखि बढेको मूल्य कार्यान्वयन गर्दै छ ।

‘सरकारले न्यूनतम मूल्य तोके पनि बजारमूल्य खुला छाडेको छ । शुक्रबारसम्म आधा लिटर दूधको मूल्य ४३ रुपैयाँ थियो, अब ५० रुपैयाँ पर्छ,’ अध्यक्ष दाहालले भने । सरोकारवाला निकायसँग छलफलबिनै गरिएको मूल्यवृद्धिप्रति किसानहरूकै संस्था केन्द्रीय दुग्ध उत्पादक सहकारी संघले विमति जनाएको छ । डेरी उद्योग संघका सदस्यहरूले गरेको निर्णयमा नेपाल डेरी एसोसिएसनको पनि सहमति छैन ।

‘बिनाछलफल एकलौटी रूपमा गरिएको निर्णयमा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघको सहमति हुन्न,’ अध्यक्ष अमर कुँवरले भने, ‘किसानका समस्या धेरै छन् । तर बजारमा जाने कुरामा स्वविवेकले बढाउन पाइन्छ कि पाइँदैन, त्यो हेर्न जरुरी छ । राज्यले के आधारमा मूल्य बढायो भनेर प्रश्न गर्दा जवाफ के दिने ?’ दूधको मूल्य बढाउनैपरे सबै क्षेत्रमा वृद्धि गर्नुपर्ने कुँवरको तर्क छ । डेरी उद्योगीले सुगम क्षेत्रबाट मात्रै दूध संकलन गर्दै आएका छन् । उनीहरूले दुर्गममा दूध संकलन खर्चिलो भएको भन्दै संकलन गरेका छैनन् । केही डेरीले आफ्नो बजार बनाउन एकलौटी रूपमा मूल्य बढाउँदा दुर्गमका किसानलाई मार पर्ने उनको भनाइ छ ।

‘सुगममा दूधको मूल्य बढाएर आफ्नो बजार बनाउने तर दुर्गममा नजाने ? दुर्गमका किसानको मूल्य कसले बढाइदिने ?’ कुँवरले भने, ‘मूल्य बढाउनैपरे सबै किसानको वृद्धि गर्नुपर्छ । यस विषयमा शनिबार बैठक बसेर निर्णय लिन्छौं ।’ डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले पनि एसोसिएसनमा आबद्ध डेरीले मूल्य नबढाएको दाबी गरे । ‘डेरी उद्योग संघबाट केहीले मूल्य बढाएको जानकारी पाएका छौं । एसोसिएसनमा घरेलु, मझौला, साना र ठूला गरी २ सय ५५ डेरी सदस्य छन् । तिनले मूल्य बढाएका छैनन्,’ उनले भने, ‘मूल्य बढाउन आवश्यक छ । तर अध्ययन गरी सबै निकायलाई जानकारी गराएर मात्रै मूल्य समायोजन गर्छौं ।’

एसोसिएसनका अनुसार बजारमा मागअनुसार दूध उत्पादन भएको छैन । आपूर्तिमा कठिनाइ हुँदा बजार बनाउन डेरीहरूले मूल्य बढाउन थालेका छन् । ‘गत वर्षसम्म दुग्ध पदार्थमा ८० प्रतिशतसम्म आत्मनिर्भर भएका थियौं । अहिले ७० प्रतिशतमा झरेका छौं । कोभिडका कारण किसानले पशुपन्छी पाल्न छाडे, तिनले समयमै भुक्तानी पाएनन्, वैदेशिक रोजगारीतर्फ लागे,’ एसोसिएसनका अध्यक्ष दाहालले भने, ‘जसले गर्दा दूध उत्पादन घट्यो ।’

डेरी उद्योगको निर्णयमा राष्ट्रिय दुग्ध विकास बोर्डले पनि आपत्ति जनाएको छ । नीतिविपरीत उद्योगीको निर्णयले उपभोक्ता मारमा पर्ने बोर्डका अध्यक्ष राजेन्द्र यादवको भनाइ छ । ‘सबै सरोकारवाला निकायसँग छलफल गरेर ०७८ माघमा मूल्य समायोजन गरेका थियौं । ऐन एवं नीतिमा दुई/दुई वर्षमा मात्रै मूल्य समायोजन गर्न सकिने व्यवस्था छ । त्यसमा सबैको सहमति चाहिन्छ,’ यादवले भने, ‘एकलौटी रूपमा मूल्य बढाउन मिल्दैन ।’

लागत बढेकै कारण ०७८ माघ २८ मा सरकारले कच्चा दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाएको थियो । सरकारले कच्चा दूधको मूल्य बढाएलगत्तै दुग्ध विकास संस्थान (डीडीसी) ले पनि उपभोक्ता मूल्य प्रतिलिटर १४ रुपैयाँसम्म वृद्धि गरेको थियो । डीडीसीले फ्याटका आधारमा स्ट्यान्डर्ड दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ, टि–मिल्कमा १० रुपैयाँ, काउ–मिल्कमा १२ र फुलक्रिम मिल्कमा १४ रुपैयाँसम्म बढाएको थियो । अहिले डीडीसीले आधा लिटर स्ट्यान्डर्ड दूधको मूल्य साढे ४२ रुपैयाँ तोकेको छ । उपभोक्ताले भने आधा लिटरको ४५ रुपैयाँ तिर्दै आएका छन् ।

डीडीसीले भने अहिले मूल्य बढाएको छैन । गत वर्षकै मूल्यलाई यथावत् राखिएको महाप्रबन्धक सञ्जीव झाले जनाए । ‘निजी उद्योगीहरूले शनिबारदेखि मूल्य बढाए पनि डीडीसीका उत्पादनमा बढेको छैन,’ झाले भनेको समाचार राजु चौधरीले कान्तिपुरमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij