ई–आर्थिक, जुम्ला । यस जिल्लामा १५० मेगावाट(मेवा) क्षमताको जवातिला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणबाट उक्त परियोजना अगाडि बढेको हो ।
प्राधिकरणको करीब ३५ अर्ब रुपैयाँ लगानीमा सो जलविद्युुत् परियोजना अगाडि बढेको कर्णाली प्रदेशका निवर्तमान जुम्लाका सांसद नरेश भण्डारीले जानकारी दिए। उनका अनुसार उक्त कार्यका लागि अहिले नेपाल विद्युत् प्राधिकरणले प्रक्रिया अगाडि बढाएको छ ।
जुम्ला र कर्णालीका पानीबाट उत्पादन हुने १५० मेवा क्षमताको जलविद्युतको बृहत् परियोजना बन्ने भएपछि यसक्षेत्रमा दीर्घकालीन रुपमा बिजुलीको व्यवस्थापन हुने छ । तिला र जवाको पानी प्रयोग गर्नेगरी परियोजना अगाडि बढेको उनको भनाइ छ ।
उक्त परियोजना कर्णालीकै लाइफ चेन्जर परियोजना हुने बताइएको छ । सो योजना क्रमागत रहेको छ । जुम्लामा विद्युत् अभावले लामो समयदेखि सकस भइरहेको समयमा राष्ट्रिय प्रसारण लाइन पुगेको छ ।
विजुलीको पर्याप्त क्षमता नपुग्दा भरपुर बत्ती प्रयोग गर्न यहाँका नागरिकले नपाएको तिला गाउँपालिका–१ का स्थानीयवासी हरि बुढाले जानकारी दिए । सुर्खेत, दैलेख, कालिकोट हुँदै प्रसारणलाइन जुम्ला पुगेको छ । तिलाजवाको पानी मिसाएर जलविद्युत् उत्पादन गर्न सकिएमा राहत पाउने यहाँका स्थानीयवासीको भनाइ छ ।