ई–आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू पूँजी कर्जासम्बन्धी नीति संशोधन गर्न राष्ट्र बैंक तयार रहेको बताएका छन् । बिहीवार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सरोकारवाला निकायका केही असहमति भए चालू पूँजी कर्जासम्बन्धी नीति संसोधन गर्न राष्ट्र बैंक तयार रहेको बताएका हुन् ।
गभर्नर अधिकारीले उद्योगी, व्यवसायी, बैंकर लगायत सरोकारवाला निकायले दिने सुझावमा उक्त नीति संसोधन गर्न तयार रहेको बताए । उनले उद्योगीको माग अनुसार चालू पूँजी कर्जासम्बन्धी नीति फिर्ता भने हुन नसक्ने संकेत गरे ।
गभर्नर अधिकारीले बजारलाई अनुशासनमा राख्नका लागि राष्ट्र बैंकले चालू पूँजी कर्जासम्बन्धी नीति कार्यान्वयनमा ल्याएको बताए । उनले चालू पूँजी कर्जा नीतिका विषयमा सबै सरोकावारवालाहरू बहस गर्न तयार रहेको भन्दै सरोकारवालाहरू भने अनुशासनमा बस्नुपर्ने बताए । उनले राष्ट्र बैंकले लामो छलफल गरेर चालू पूँजी कर्जासम्बन्धी नीति कात्तिक १ गतेबाट कार्यान्वयनमा ल्याएको बताए ।
‘बीचमा निजी क्षेत्रबाट राष्ट्र बैंकले बजारलाई सुधार गर्न ल्याएका नीतिमा असन्तुष्टि देखिएका छन् । राष्ट्र बैंक सबैसँग अर्थतन्त्रका विषयमा खुला छलफल गर्न तयार छ,’ उनले भने ।
गभर्नर अधिकारीले नेपालको अर्थतन्त्र पछिल्लो समय तुलनात्मक रूपमा सुधार हुँदै सहज अवस्थामा आएको बताए । पछिल्लो तीन महिनामा शोधनान्तर बचतमा गएको उनको भनाइ छ । उनले तथ्यांकबाट अर्थतन्त्र नराम्रो अवस्थाबाट उठ्न खोजिरहेको बताए ।
गभर्नर अधिकारीले अर्थतन्त्रमा अझै केही समस्या रहेको स्वीकार गरे । उनले मुलुककै आन्तरिक कारण मात्र नभएर बाह्य कारणले अर्थतन्त्रमा दबाब रहेको बताए ।
गभर्नर अधिकारीले दक्षिण एशियाली मुलुक भारतबाहेक अन्य मुलुकहरू भन्दा नेपालको अर्थतन्त्र राम्रो रहेको बताए । उनले राष्ट्र बैंकलाई करीब अढाई खर्बको विदेशी मुद्रा सञ्चिति गर्न ५५ वर्ष लागेकोमा पछिल्लो एक वर्षमा नै २।३४ अर्बको विदेशी मुद्रा गुमाउनुपरेको बताए ।
राष्ट्र बैंकले लिएका नीतिका कारण पछिल्लो ३ महिनामा गत वर्षको तुलनामा १ खर्ब शोधनान्तर स्थितिमा सुधार भएको उनको भनाइ छ । उनले बजारमा देखिएको तरलता अभाव विस्तारै सुधार हुँदै जाँदा उच्चरूपमा वृद्धि भएको ब्याजदरमा करेक्शन हुने विश्वास लिएको बताए ।
उनले कोरोना महामारीको क्रममा दिइएको सहुलियतका साइट इफेक्टहरू अहिले अर्थतन्त्रमा देखिएको बताए ।