२०८३ साउन ११ सोमबार

कालिञ्चोक केबलकारको आइपीओ खुल्यो, कसरी दिने आवेदन ?

ई आर्थिक    मंगलबार, मंसिर ६ २०७९
26.8K
Shares
कालिञ्चोक केबलकारको आइपीओ खुल्यो, कसरी दिने आवेदन ?

ई–आर्थिक, काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले आईपीओ निष्काशन गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यहि मंसिर १४ गतेदेखि १ लाख ८ हजार कित्ता अर्थात एक करोड ८ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्ने भएको हो ।

कम्पनीले जारी पुँजी ६० करोडको २० प्रतिशतले हुन आउने रकम सर्वसाधारणमा बराबरको कुल १२ करोड रुपयाँ बराबरको आइपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कुल सेयरमध्ये १ करोड २० लाख बराबरको १ लाख २० हजार कित्ता सेयर आयोजना प्रभावितका लागि छुट्याएको छ । १० करोड ८० लाख रुपैयाँ अर्थात १० लाख ८० हजार कित्ता सर्वसाधरणलाई छुटेयाएको छ । सर्वसाधरणलाई छुट्याइएको सेयरको १० प्रतिशत हुन आउने १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि निष्कासन गरिएको हो ।

कम्पनीको सेयरमा मंसिर १४ गतेदेखि छिटोमा मंसिर २८ गतेसम्म र ढिलोमा पुस १४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त सेयरमा न्यूनतम १० कित्तादेखि ४ हजार ९९० कित्ता सम्मका लागि आवेदन दिन सकिनेछ ।

कहाँ कसरी दिने आवेदन ?

धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका संशोधन गरी बैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर निष्कासन गरेपछि मात्र सर्वसाधारणमा बिक्री गर्न सकिने व्यवस्था गरेको छ । कुनै पनि कम्पनीले साधारण सेयर निष्कासन गर्दा निष्काशन गरिने सेयरको १० प्रतिशत श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गर्ने नेपालीहरुका लागि छुट्याउनु पर्ने व्यवस्था गरेको छ ।

आइपीओ नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिइ विदेशमा बसेर काम गर्नेले मात्र पाउने व्यवस्था छ । बैदेशिक रोजगारमा गएका लागि छु्याएको सेयरमा आवेदन दिंदा विप्रेषण (रेमिट्यान्स) बचत खाता मार्फत मात्र भुक्तानी गर्नुपर्नेछ । सेयर आवेदन दिने विप्रेषण (रेमिट्यान्स) बचत खातामा पछिल्लो ६ महिनामा कम्तीमा ५० हजार नेपाली रुपैयाँ सम्बन्धित व्यक्तिले आफू रोजगार रहेको मुलुकबाट जम्मा गरेको हुनुपर्ने छ ।

विदेशमा बसी रोजगार गरिरहेका नेपाली नागरिकका लागि हितग्राही खाता खोल्दा विद्युतीय माध्यमबाट समेत ग्राहक पहिचान विवरण रुजु गरी खोल्न सकिनेछ । विदेशमा बसी रोजगार गरिरहेका नेपाली नागरिकहरुका लागि बोर्डबाट धितोपत्र खरिद दरखास्त संकलन सम्बन्धी कार्य गर्न अनुमति प्राप्त आस्वा सदस्य बैंक वा वित्तीय संस्थाले विद्युतीय माध्यमबाट सिआरएन नम्बर लिई आवेदन दिने व्यवस्था गरिएको छ ।

बैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएको सेयर निष्कासन तथा बाँडफाँड भएपछि मात्र सर्वसाधारणको लागि प्रारम्भिक सार्वजनिक निष्काशन गर्नु पर्नेछ ।

नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रवन्धक रहेकोे छ ।

आईपीओबाट प्राप्त हुने रकमले केवकारमा गोण्डुला थप्नेदेखि स्टार लेभलको होटल सञ्चालन गर्ने कम्पनीले जनाएको छ । पर्यटकहरुको आगमन तिव्र भएसँगै केवलकारमा थप २ वटासम्म गोण्डुला थप गर्ने कम्पनीको योजना रहेको छ । स्टार लेभल सुविधासम्पन्न होटलमा ३५ वटा कोठा रहने प्रस्ताव छ ।

कोरोना महामारीले पर्यटकको आगामनमा कमी आएपछि अघिल्लो वर्ष आम्दानी घटेपनि सन् २०२२ मा भने कम्पनीले आफ्नो आम्दानीमा उल्लेख्य सुधार गरेको छ । हालसम्म कम्पनीले ५० हजार पर्यटकलाई केबलकार सेवा प्रदान गरेको छ भने २ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ । यो वर्ष सुरु भएपछि यात्रुको संख्यामा वृद्धि भएकाले सन् २०२२ मा गत वर्षको भन्दा यो वर्ष आम्दानी बढ्ने कालिञ्चोक केबलकारले जनाएको छ ।

सन् २०२१ मा कालिञ्चोक दर्शन लिमिटेडले ३ करोड ६९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । सन् २०२० मा कम्पनीले ३ करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

दोलखामा निजी लगानीमा सञ्चालित कालिञ्चोक केबलकारले कुरी उपत्यकाबाट कालिञ्चोकसम्म १ किलोमिटर लामो दूरीमा केबलकार सञ्चालन गरिरहेको छ । प्रतिघण्टा १९२ यात्रु ओसारपसार गर्ने क्षमता रहेको केवलकारमा ४ वटा गोन्डोला रहेका छन् । सेयर पूँजी २९ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको ऋण २२ करोड २० लाख रुपैयाँ छ ।

कालिञ्चोक दर्शन लिमिटेडले दोलखामा सञ्चालन गरेको हो । कम्पनीमा ८५ जना संस्थापक लगानीकर्ताहरु (प्रवद्र्धकहरु) ले १८ करोड ५० लाख रुपैयाँ लगानी गरेका छन् । बाँकी १२ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ ।

रेटिङ कस्तो छ ?

कालिञ्चोक केबलकारले डबल बी रेटिङ प्लस इस्यूअर पाएको छ । कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि सम्पन्न गरेको रेटिङमा क्रेडिट रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले कम्पनीको आईपीओलाई ‘केयर एनपी डबल बी बी प्लस रेटिङ’ दिएको हो ।

केयर रेटिङ्ग नेपालले आईपीओ निष्काशनको तयारीमा रहेको कालिञ्चोक केबलकारलाई वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम जनाउने रेटिङ दिएको हो । डबल बीबी प्लस रेटिङ प्राप्त संस्थाहरु वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिममा रहेको मानिन्छन् ।

रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले ‘ए’ देखि ‘सी’ सम्म रेटिङ्ग प्रदान गर्दछ जसमा ए ले आधारभुत अवस्था बलियो रहेको देखाउँछ भने बी र सी ले क्रमश सोभन्दा कमजोर वित्तीय अवस्था रहेको जनाउँछ । रेटिङ वर्ग ‘एए’ देखि ‘सी’ सम्मका रेटिङ संकेत पछाडि रहने प्लस (जोडं) वा माइन (घटाउ) चिह्नले सम्बन्धित रेटिङ वर्गभित्रको तुलनात्मक स्थितिलाई जनाउँदछ । यसको अर्थ बीबी प्लसको स्थिति बीबीबीभन्दा एक चिह्नमाथि रहन्छ । जब कि बीबीबी माइनसको स्थिति बीबीबीभन्दा एक चिन्ह तल रहन्छ ।

उक्त रेटिङ निष्काशनकर्ताको सामान्य क्रेडिट विश्वसनीयता सम्बन्धी राय मात्र हो र यो कुनै खास सेयर विशेषको राय भने होइन । रेटिङले कम्पनीको कुनै धितोपत्र खरीद, बिक्री वा स्वामित्वमा राख्न सिफारिस गरेको जनाउँदैन । साथै, यो कुनै मूल्य निर्धारण वा सूचीकृत मूल्य बारेको टिप्पणी पनि होइन ।

कम्पनीका बारेमा

कालिञ्चोक दर्शन लिमिटेड जनवरी २०, २०१५ मा स्थापित भएको पब्लिक लिमिटेड कम्पनी हो । जसमा विभिन्न पृष्ठभूमिमा आबद्ध रहेका संस्थागत तथा व्यगित प्रवद्र्धकहरू रहेका छन् ।

कालिञ्चोकमा केबलकार परियोजना स्थापना र सञ्चालनका लागि सात सदस्यीय सञ्चालक समिति छ । जसमा हस्पिटालिटी र पर्यटनका विभिन्न क्षेत्रहरूमा अनुभव रहेको नेतृत्व छ ।

नेपाल लगानी बोर्डका सदस्य समेत रहेका बालकृष्ण शिवाकोटी बोर्डको अध्यक्ष भई नेतृत्व गरेका छन् । अध्यक्ष शिवाकोटी मेगा बैंक नेपाल लिमिटेड र जिरी चिया उद्योग (चिया प्रशोधन) का डाइरेक्टर भैसकेका व्यक्ति हुन् । शिवाकोटी अहिले दोलखाबाट प्रतिनिधिसभाको उम्मेद्वार छन् । त्यस्तै कम्पनीको प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटी पनि आर्थिक क्षेत्रका जानकार मानिनुहुन्छ ।

बैंक वित्तीय संस्था लगायत विभिन्न उद्योग व्यवसायमा उनीसँग लामो २० बर्ष बढी समय काम गरेको अनुभव रहेको छ । उनी यसअघि कालिञ्चोक विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको भूमिकामा समेत बसिसकेका छन् । काठमाडौंबाट करिब ६ घण्टाको दूरीमा रहेको केबुलकार आयोजना नेपालको प्रमुख धार्मिक पर्यटकीय गन्तव्य स्थल हो ।

केबलकार सुविधाको शीर्ष स्टेशनमा अवस्थित कालिञ्चोक मन्दिरले धेरै तीर्थयात्रीहरूलाई आकर्षित गर्दछ । वर्षा सिजन बाहेक वर्षभरि नै दर्शकको चहलपहल कम हुने गर्दछ । यसको अतिरिक्त, जाडो समयमा मौसममा यस साइटले धेरै स्वदेशी र विदेशी पर्यटकहरूलाई पनि आकर्षित गर्दछ जो घुम्न र जाडोको लागि यो ठाउँको भ्रमण गछर्न । हाल यस क्षेत्रमा सडक कालोपत्र गर्ने कार्य भैरहेकाले साहसिक खेल, पर्यटक आगमन, विशेष गरी आन्तरिक, थप वृद्धि हुने अपेक्षा गरिएको छ ।

कालिन्चोक केबलकार लिमिटेडलाई तोकिएको मूल्याङ्कनमा भौगोलिक एकाग्रता जोखिम, सञ्चादनको सानो सतर, मौसमी रुपमा मात्र संकलन हुने राजस्व, प्रस्तावित होटल निर्माण र कार्यान्वयनको जोखिम, र अस्थीर बैंक ब्याजदरले असर पार्ने रेटिङ्ग रिर्पोटमा उल्लेख गरिएको छ ।

यस्तै अनुभवी प्रवर्दक, रणनीति स्थानमा परियोजना निर्माण हुनु, मध्यम पूँजी संरचना र स्थीर इक्विटी लगानी र ऋण सूचकहरू कोभिड माहामारीबाट सञ्चालन प्रभावित भए तापनि सुस्ताएको पर्यटन गतिविधिहरु गत आव र चालु आवमा चलायनमान भएसँगै आम्दानीमा वृद्धि हुनु सबल पक्ष रहेको रिर्पोटमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij