२०८३ साउन १० आइतबार

पिपुल्स् हाइड्रोपावरको आईपीओ खरीद गर्ने समय आज अन्तिम दिन

ई आर्थिक    मंगलबार, कार्तिक २९ २०७९
6.8K
Shares
पिपुल्स् हाइड्रोपावरको आईपीओ खरीद गर्ने समय आज अन्तिम दिन

ई–आर्थिक, काठमाडौं । पिपुल्स् हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर आजसम्म मात्रै खरिद गर्न सकिने भएको छ । कम्पनीले कात्तिक २५ गतेदेखि सर्वसाधारणमा जारी गरेको आईपीओ खरीदका लागि मागभन्दा बढी आवेदन परिसकेकोले आजसम्म मात्र खरिद खुल्ला गरिएको जनाएको छ ।

कम्पनीको आईपीओमा सोमवारसम्म ९ लाख १९ हजार १०४ जनाले १ करोड ९ लाख ६३ हजार १० कित्ता शेयर खरीदका लागि आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जानकारी दिएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय वासिन्दामा शेयर बाँडफाँटपछि सर्वसाधारणमा आईपीओ जारी गरेको हो । स्थानीयमा आईपीओ बाँडफाँट गर्दा वितरण नभएको ८ लाख ६ हजार ३९० कित्ता शेयरसमेत जोडेर कम्पनीले सर्वसाधारणमा कुल ५६ लाख ६ हजार ३९० कित्ता शेयर वितरण गर्न लागेको हो ।

प्रतिकित्ता रू. १०० अंकित दरको कुल कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात् २ लाख ८० हजार १९० कित्ता शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने ३ प्रतिशत अर्थात् १ लाख ६८ हजार १९० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । यी वाहेक बाँकी ५१ लाख ५७ हजार ८८० कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आएको हो ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूसँगै मेरो शेयर वेबसाइट र एपमार्फत पनि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म यो शेयर खरीद माग गर्न सक्ने व्यवस्था रहेको छ । कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्स नेपालले दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

यस कम्पनीले लमजुङ्ग जिल्लामा ५४ मेगावाट क्षमताको सुपर दोर्दी जलविद्युत आयोजना “ख” को निर्माण कार्य गरिरहेको छ । यस आयोजनाको निर्माण कार्य ९२ प्रतिशत सम्पन्न भैसकेको जानकारी कम्पनीले आव्हानपत्र मार्फत गराएको छ । यस आयोजनाको कुल लागत निर्माण अवधिको ब्याजसहित रू. १० अर्ब ३९ करोड हुने अनुमान गरिएको छ ।

प्रतिमेगावाट लागत भने रू. १९ करोड २४ लाखभन्दा बढी हुने अनुमान कम्पनीको छ । हाल संस्थापक तर्फ रू. २ अर्ब ४० करोड चुक्तापूँजी रहेको कम्पनीले सर्वसाधारणमा समेत शेयर जारी पश्चात् यो पूँजी रू. ३ अर्ब २० करोड कायम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij