ई–आर्थिक, सिन्धुली । मरिण गाउँपालिकाले बिहेअघि स्नातक उतीर्ण गर्ने छात्रालाई १ लाख रुपैयाँ वितरण गर्ने भएको छ । गाउँपालिकाल बालविवाहलाई न्यूनीकरण गर्न नगदसहित साइकल वितरण अभियान थालेको हो । पालिकाले विवाहअघि नै स्नातक तह उत्तीर्ण गर्ने छात्रालाई १ लाख रुपैयाँ र एसईईपछि कक्षा ११ मा भर्ना हुने छात्रालाई साइकल दिन सुरु गरेको हो ।
चालु आर्थिक वर्षमा बजेट नै छुट्याएर अभियान अघि बढाइएको पालिका अध्यक्ष विमर्श मोक्तानले बताए । तल्लो तहको पढाइ पूरा नहुँदै छात्राहरूको विवाह गर्ने क्रम बढेपछि त्यसलाई नियन्त्रण गर्न उत्प्रेरणामुखी कार्यक्रम ल्याएको उनको भनाइ छ ।
‘यसबाट अभिभावकलाई पनि आफ्ना छोरीलाई उच्च शिक्षा हासिल गराउन उत्प्रेरणाका साथै सहयोग पुग्नेछ,’ उनले भने, ‘बालविवाह रोक्नलाई पालिकाको सहयोग सहायकसिद्ध हुने विश्वास छ ।’
पालिकामा उच्च शिक्षा हासिल गर्ने छात्राहरूको संख्या न्यून रहेको र बाल्य अवस्थामै विवाह गर्ने दर बढेपछि विवाहपूर्व नै स्नातक उत्तीर्ण गर्ने प्रत्येक छात्रालाई प्रोत्साहनस्वरूप नगदको व्यवस्था गरिएको गाउँपालिका उपाध्यक्ष विमला माझीले बताइन् । ‘यो रकमले स्नातक उत्तीर्ण छात्रालाई माथिल्लो कक्षा पढ्न या कुनै व्यवसाय सुरु गर्न पनि सहयोग पुग्नेछ,’ उनले भनिन् ।