२०८३ साउन १० आइतबार

इष्टर्न हाइड्रोपावरको आईपीओ विक्री आजदेखि खुला

ई आर्थिक    शुक्रबार, असोज २८ २०७९
8.8K
Shares
इष्टर्न हाइड्रोपावरको आईपीओ विक्री आजदेखि खुला

ई–आर्थिक, काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणमा साधारण सेयर (आईपीओ) जारी गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा आईपीओ बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणलाई आईपीओ विक्री गर्न लागेको हो ।

कम्पनीले पहिलो चरणमा प्रतिकित्ता रु. १०० अंकित मूल्यका ६ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि बाँडफाँट गरी बाँकी रहेको ५० हजार ३१० कित्ता शेयरसमेत जोडेर ६ लाख ७० हजार ३१० कित्ता शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो । कुल कित्ता शेयरमध्ये ३३ हजार ५१५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने १३ हजार ४०६ कित्ता शेयर कर्मचारीहरूका लागि छुट्याइएको छ । यीबाहेक बाँकी ६ लाख २३ हजार ३८९ कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आउन लागेको हो ।

सर्वसाधारणले सार्वजनिक निष्कासनमा आएको शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् । यो शेयर छिटोमा कात्तिक १ गतेसम्म विक्री खुला हुनेछ भने सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलो अवधि कात्तिक १४ गतेसम्म विक्री लम्बिनेछ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ्गस नेपालले कम्पनीलाई समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड छ ।

लगानीकर्ताले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा मेरो शेयर तथा एपबाट आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीले भोजपुरमा ५ मेगावाट क्षमताको पिखुवा खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७६ जेठ २७ गतेदेखि विद्युत् उत्पादन गर्दै आएको छ । उक्त आयोजनाको निर्माण लागत कुल रू. १ अर्ब ३० करोड ५८ लाखभन्दा बढी छ भने प्रतिमेगावाट लागत रू. २६ करोड ११ लाखभन्दा बढी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij