ई–आर्थिक, काठमाडौं । विगत लामो समयदेखि आन्दोलनरत मिटरब्याजी पिडितहरुको आन्दोलन स्थगित भएको छ ।
डेढ महिनादेखि काठमाडौँ माइतीघरमा सङ्घर्षरत मिटरब्याजी तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिले सरकारसँग भएको ५ बुँदे सहमति पछि आन्दोलन स्थगित भएको हो ।
गृहमन्त्री बालकृष्ण खाणको उपस्थितिमा शनिबार गृह मन्त्रालय र सङ्घर्ष समितिबीच पाँचबुँदे सहमति भएको थियो ।
सांसद गङ्गाकुमारी बेल्बासेको रोहवरमा भएको सहमतिपत्रमा गृह मन्त्रालयका तर्फबाट मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलका संयोजक डा. भीष्मकुमार भुसाल र सङ्घर्ष समितिको तर्फबाट मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिका अध्यक्ष रामसुरत गुप्ता र प्रवक्ता निर्गराज जैसीले हस्ताक्षर गर्नुभएको छ ।
सहमतिमा मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलको प्रतिवेदनमा उल्लिखित सिफारिसअनुसार स्थानीय तह र स्थानीय प्रशासनका प्रतिनिधि तथा सरोकारवालाको संलग्नतामा लेनदेनका कागजात छानबिन गरी कानुनसम्मत कागजात पालिकामा अद्यावधिक गर्ने, मिटरब्याजसँग सम्बन्धित देखिएका कागजात खिच्ने, अवैध घोषणा गर्ने तथा दृष्टिबन्धक खोल्नुपर्ने देखिएमा त्यसका लागि सहजीकरण गर्नका लागि आवश्यक कार्यविधि बनाएर पठाउने उल्लेख छ ।
त्यस्तै कार्यदलको सिफारिसबमोजिम मिटरब्याजी परिवारको सम्पत्ति छानबिन गर्ने, मिटरब्याजीले दिएको मानसिक प्रताडना तथा हिंसाका कारण मृत्युभएका ऋणीको परिवारलाई राहत र क्षतिपूर्ति पीडकबाटै भराउन आवश्यक व्यवस्था गर्ने सहमति भएको छ ।
ऋणीले ऋणको तमसुक गर्दा ऋणको साँवा ब्याज चुक्ता गरेपछि फिर्ता गर्ने गरी साहु वा उसले इच्छाएको व्यक्तिका नाममा जग्गा रजिस्ट्रेसन पास गरिदिएको तर ऋणीले सम्पूर्ण साँवा तथा ऋण तिर्दा पनि जग्गा फिर्ता नगरेको पुष्टि भएमा जग्गा जुनसुकै तहमा बिक्री गरेको भए पनि साहुले नै अन्तरनिकाय समन्वय गरेर फिर्ता गराइदिने कानुनी व्यवस्था गर्ने सहमतिपत्रमा उल्लेख छ ।
त्यस्तै सङ्घर्ष समितिका मागपत्र सम्बन्धमा कार्यदलको प्रतिवेदनमा उल्लिखित सिफारिस कार्यान्वयनका लागि अन्तरनिकाय समन्वय गरी मन्त्रिपरिषद्ले लिनुपर्ने आवश्यक निर्णयका लागि प्रस्ताव पेस गर्ने सहमति भएको छ ।