ई–आर्थिक, काठमाडौं । नेपालका आयुर्बेद औषधी व्यवसायीहरुको छाता संस्था ‘नेपाल आयुर्वेद औषधी व्यवसायी संघ’मा विद्रोह सुरू भएको छ । केन्द्रीय कार्यसमितिको काम र व्यवहारप्रति असन्तुष्टि जनाउँदै उदयपुरका पुरै कार्यसमितिले दिए सामूहिक राजीनामा दिएका छन् । १ नं. प्रदेश कार्यालय इटहरीका अध्यक्षलाई पत्र पठाउँदै सामुहिक राजिनामा दिएका हुन् ।
यसअघि दोस्रो अधिवेशन समेत सम्पन्न गरेको उदयपुर जिल्ला कार्यसमितिका पुरै ‘टिम’ले नै सामूहिक राजीनामा दिएका हुन् ।
यसरी राजिनामा दिनेहरुमा जिल्ला कार्यसमिति उदयपुरका अध्यक्ष ताराप्रसाद चौधरी, उपाध्यक्ष कविता कुमारी शाह, सचिव अर्जुन मेहता, कोषाध्यक्ष पुजा भट्ट रहेका छन् । त्यसैगरी राजिनामा दिने सदस्यहरुमा रामकुमार शाह, महाकान्त चौधरी, रमेशकुमार शाह र पशुपति शाह रहेका छन् ।
आयुर्बेद व्यवसायीको हित हुने विभिन्न माग र त्रुटीलाई सच्याई विधान संसोधन गर्न राखेको मागप्रति केन्द्रले वास्ता नगरेको, केन्द्रले प्रदान गर्नुपर्ने व्यवसायिक प्रमाणपत्र, परिचयपत्र उपलब्ध नगराएको जस्ता आरोप लगाउँदै सामूहिक राजीनामा दिइएको राजिनामा पत्रमा उल्लेख छ । साथै व्यवसायी र संघको हितमा दिन रात संघर्ष गर्ने केही व्यक्तिहरुलाई केन्द्रीय समितिले दुर्व्यवहार गरेको आरोप पनि जिल्ला संघ उदयपुरले लगाएको छ ।
केन्द्रीय कार्यसमितिले व्यक्तिविशेष गतिविधि गरेको र जिल्ला शाखालाई नसमेटेका कारण आफूहरूले राजीनामा दिएको जिल्ला कार्यसमितिका अध्यक्ष ताराप्रसाद चौधरीले बताए ।
केन्द्रीय पदाधिकारीलाई सच्चिने अवसर दिएपनि व्यक्तिगत स्वार्थ त्यागेर आयुर्वेद व्यवसायीहरूको हकहितमा काम नगरेकाले राजीनामा दिइएको उनको भनाई छ । केन्द्रको केही व्यक्तिहरुको गतिविधिहरुलाई लिएर अन्य जिल्लाका सदस्यहरुसमेतले राजिनामा दिने तयारी भइहरको बुझिएको छ ।

भोलीका दिनमा आफूहरुले राखेका माग र राम्रा विचारहरु लिएर विधान र त्रुटिहरुलाई समेटेर आएमा सदैब व्यवसायीको साथ रहेने पनि अध्यक्ष चौधरीले बताए । तथापी राजिनामा दिएका सबै व्यवसायीहरु हालै मात्र स्थापना भएको राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपालमा आबद्ध हुने एक आयुर्वेद व्यवसायीले बताएका छन् । राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपालका चर्चित, सक्रिय र प्रतिष्ठित आयुर्वेद व्यवसायीहरुको पहल र सक्रियतामा स्थापना गरिएको केन्द्रीय अवधारणाको छाता संस्था हो ।
उक्त एशोसिएसनले जगत बहादुर भट्टराई अध्यक्ष रहेको तदर्थ समिति समेत गठन गरिसकेको छ । एशोसिएसनको बरिष्ठ उपाध्यक्षमा कृष्ण बहादुर राउत रहेका छन् । त्यस्तै एशोसिएसनको उपाध्यक्षमा बालगोपाल श्रेष्ठ, उपाध्यक्ष (महिला) मा निर्मला खत्री रहेका छन् भने महासचिवमा हृदय नारायण चौधरी रहेका छन् ।
त्यसैगरी सचिवमा नारायण खतिवडा, अर्को सचिब (महिला) मा सरिता भण्डारी, कोषाध्यक्षमा सपना खत्री, उपाध्यक्ष (प्रदेश १) मा ओमराज लिम्बु, उपाध्यक्ष (लुम्बिनी प्रदेश) शालिकराम भुसाल रहेका छन् ।
एशोसिएसनको कार्यसमिति सदस्यमा भने अन्जना मगर, आरती कुमारी चौधरी, लक्ष्मीकान्त पौडेल, जयन्ती सिवाकोटी र किरण न्यौपाने रहेका छन् ।
‘अधिकारका लागि एकिकृत आवाज’ भन्ने मुल नाराका साथ स्थापना भएको उक्त एशोसिएसनले देशभरका व्यवसायीलाई संगठित गर्दै आयुर्वेद व्यवसायीका समस्या र आवाजलाई बुलन्द पार्दै सम्बन्धित ठाउँमा पु¥याउने लक्ष्य राखेको छ ।
व्यवसायीको केन्द्रीय छाता संस्थाको रुपमा स्थापना भएको उक्त एशोसिएसनको केन्द्रीय कार्यालय काठमाडौंको कोटेश्वरमा रहेको छ ।