ई–आर्थिक, नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा २८ महीनामै २९६ किमी लामो विश्वस्तरको द्रुतमार्ग निर्माण भएको छ ।
‘बुन्देलखण्ड एक्सप्रेस–वे’ उद्घाटन शनिवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका छन् । उक्त एक्सप्रेस–वेको शिलान्यास पनि उनले २०२० फेब्रुअरीमा गरेका थिए । उक्त द्रुतमार्ग २८ महीनामै तयार भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
चार लेनको उक्त द्रुतमार्गको निर्माणकार्य १ खर्ब ४८ अर्ब ५० करोड भारुमा पूरा भएको हो । ६ लेनसम्म बनाउने योजना रहेको सडक ‘उत्तर प्रदेश एक्सप्रेस–वे औद्योगिक विकास प्राधिकरण’ अन्तर्गत निर्माण गरिएको पनि समाचारमा उल्लेख छ ।
२९६ किलोमिटर लामो उक्त एक्सप्रेस वेले उत्तर प्रदेश राज्यका सात ओटा जिल्लाहरु चित्रकूट, बांदा, महोबा, हमीरपुर, जालौन, औरैया र इटावालाई जोड्ने बताइएको छ । एक्सप्रेस–वे सञ्चालनमा आएपछि चित्रकूटदेखि राजधानी दिल्लीसम्मको यात्रा करीब आठ घण्टामा पूरा गर्न सकिन्छ ।
सरकारले यो द्रुत मार्गको निर्माणपछि कनेक्टिभिटी बढाउनुका साथै आर्थिक विकास र रोजगारी बढाउने बताएको छ । सरकारले एक्सप्रेस वेको दुवैतर्फ औद्योगिक क्षेत्र विकास गर्ने योजना पनि बनाएको छ ।
२९६ किलोमिटर लामो द्रुतमार्गमा ४ ओटा रेलवे ओभरब्रिज, १४ ओटा ठूला पुल, २८६ ओटा साना पुल र १९ ओटा फ्लाईओभर निर्माण भएका छन् । एजेन्सीहरु