ई–आर्थिक, काठमाडौं । अफगानिस्तानमा आज बुधबार बिहान शक्तिशाली भुकम्प गएको छ । यक्त शक्तिशाली भूकम्पमा परी त्यहाँ मृत्यु हुनेको संख्या हजार नाघेको छ ।
अन्तर्राष्टि«य सञ्चारमाध्यमहरुले जनाएअनुसार पूर्वी अफगानिस्तानको पक्तिका प्रान्तमा गएको ६ म्याग्निच्यूटको भूकम्पको कारण उक्त क्षति भएको हो ।
पक्तिका प्रान्तका सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार हालसम्म हजार जनाको मृत्यु पुष्टि भए पनि उक्त संख्या बढ्न सक्ने सम्भावना छ ।
‘दुर्भाग्यवश हिजो राति पक्तिका प्रान्तका चार जिल्लामा शक्तिशाली भूकम्प गएको छ, जसले हाम्रा सयौं देशवासीको ज्यान लिनुका साथै र कैयौंलाई घाइते बनाएको छ। यस्तै दर्जनौं घरहरू ध्वस्त भएका छन्’, अफगानिस्तान सरकारका प्रवक्ता बिलाल कारिमीले सामाजिक सञ्जालमार्फत सन्देश जारी गरेका छन् ।
बुधबार बिहान गएको उक्त भूकम्पको कम्पन अफगानिस्तान सँगसँगै भारत र पाकिस्तानसम्म महसुस गरिएको रोयटर्सले जनाएको छ ।