२०८३ साउन ११ सोमबार

धरान उपमहानगरपालिकामा उम्मेदवार साम्पाङ्ग विजयी, भोट माग्दा उनका पछि कोही थिएनन् तर कसरी ल्याए यतिका भोट ?

ई आर्थिक    आइतबार, जेष्ठ ८ २०७९
4.7K
Shares
धरान उपमहानगरपालिकामा उम्मेदवार साम्पाङ्ग विजयी, भोट माग्दा उनका पछि कोही थिएनन् तर कसरी ल्याए यतिका भोट ?

ई–आर्थिक, धरान । धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ्ग विजयी भएका छन् । भोट माग्न जाँदा नगण्य समर्थक रहेका उनले नेपालका ठूला र शक्तिशाली गठबन्धनलाई समेत माथ गर्दै विजय हासिल गरेर मुलुकलाई नै आश्चर्य बनाइदिएका छन् । उनले २० हजार ८२१ मत ल्याएर विजयी भएका हुन । उनले निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका किशोर राईलाई चार हजार ७ सय ६२ मतअन्तरले पराजित गरेका छन् ।

कांग्रेसका राईले १६ हजार ५९ मत प्राप्त गरेको छन् । तेस्रो स्थानमा रहेका नेकपा (एमाले)की मञ्जु भण्डारीले १२ हजार ८ सय २५ मत ल्याएकी थिइन् ।

धरानमा २०४६ सालको जनआन्दोलनपछि कम्युनिष्ट पार्टी विजयी हुँदै आएका थिए । २०४८, २०५४ र २०७४ को निर्वाचनमा कम्युनिस्ट पार्टीले नेतृत्व पाएको सहरमा पहिलो पटक स्वतन्त्र उम्मेदवार विजयी भएका हुन् ।

२०७४ सालको स्थानीय निर्वाचनमा धरान नगरको प्रमुख तारा सुब्बाको निधन भएपछि २०७६ सालको उपनिर्वाचनमा कांग्रेसले विजयी भएको थियो। २०७९ को स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार साम्पाङ्गले एमालेको लालकिल्ला र गठबन्धनलाई पछि पार्दै धरानमा नयाँ इतिहास समेत रचेका छन् ।

उपप्रमुखमा गठबन्धनका अइन्द्रविक्रम बेघा २० हजार ५ सय १० मतसहित विजयी भएका छन् । एमालेका पदम इस्वो लिम्बु १७ हजार ६ सय ६ मत ल्याएर पराजित भएका छन् ।

२० वडा रहेको धरानमा १० वडामा एमाले विजयी भएको छ । वडा नम्बर २ मा रमेश राई, ४ मा धनबहादुर राई, ५ मा मनप्रसाद लिम्बु, ७ मा जीवन सुवेदी, ८ धनबहादुर राई, १० मा विवेक राई, १२ मा टंक राई, १३ मा नेत्र काफ्ले, १५ मा नरेश ईङनाम र वडा नम्बर १० मा एमालेका पूर्ण लिम्बु विजयी भए ।

त्यस्तै कांग्रेसले सात वटा वडामा जित हासिल गरेको छ । वडा नम्बर १ मा यज्ञमणि आचार्य, वडा नम्बर ३ मा विद्या शाक्य, वडा नम्बर ९ मा रुपेश आचार्य, वडा नम्बर ११ लोकेन्द्र फागो, वडा नम्बर १६ मा मुरारी भट्टराई, वडा नम्बर १८ मा प्रविन राई र २० नम्बर वडामा पदम लिम्बुले वडाध्यक्षमा विजय हासिल गरेका छन् ।

एकएक वडामा स्वतन्त्र, माओवादी र राप्रपाले जित हासिल गरेका छन् । वडा नम्बर १४ मा राप्रपाका कृष्णप्रसाद भट्टराई, वडा नम्बर १७ मा माओवादीका मनोज भट्टराई र वडा नम्बर ६ मा स्वतन्त्रका भुपेन्द्र भट्टराई वडाध्यक्षमा विजयी भए ।

धरान उपमहानगरमा १ लाख ३ हजार २४ मतमध्ये जम्मा ६२ हजार ८ सय ९८ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij