ई–आर्थिक, वीरगन्ज । बाराको सिम्रौनगढ नगरपालिकामा निर्वाचित लोसपाको विजय जुलुसमा झडप भएको छ । लोसपाका समथर्क र पराजित कांग्रेसका समर्थकबीच भएको झडपमा परी ७ जना घाइते भएका छन् ।
नगरपालिकामा निर्वाचित लोसपाका जनप्रतिनिधि र समर्थकहरुले शनिबार साँझ विजय उत्सव मनाउँदै निकालेको जुलुसले नगरको परिक्रमा गर्ने क्रममा लोसपा र कांग्रेसका समर्थकबीच झडप भएको हो ।
सिम्रौनगढ नगरपालिका १० टेटामा भएको झडपमा दुवै पक्षका गरि ७ जना घाइते भएका छन्। विजय जुलुसमा प्रयोग गरिएका ५ वटा मोटरसाइकल र एउटा जिपमा तोडफोड पनि भएको छ । घाइते हुनेहरुमा स्थानीय सरोज कुमार यादव , सुनिल कुमार यादव, कृष्ण कुमार यादव, मिथुन पासवान, राजन साह लगायतका रहेका छन् ।
घाइतेहरुको सिम्रौनगढ नगरअस्पताल र कलैया स्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । नगरपालिकाको मतगणना सकिएपछि लोसपाबाट विजयी भएका मेयर किशोरीप्रसाद कलवार र उपमेयर नजमु
शेहरको विजय जुलुस टेटा गाउँमा पुगेपछि विजय जुलुसमा लोसपाका समर्थकले बेलुन भित्र मोबील भरेर स्थानीयलाई हानेको भन्दै कांग्रेसका समर्थकहरुले विवाद गरेका थिए ।
विवाद बढ्दै गएपछि दुवै पक्षबीच झडप भएको स्थानीय रामेश्वर मेहताले बताए । सिम्रौनगढ नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा कांग्रेसका उम्मेदवार एंव निवर्तमान मेयर र उपमेयरलाई हराउँदै लोसपाका किशोरी प्रसाद कलवार र नजमु शेहर विजयी भएका हुन् ।