ई–आर्थिक, विराटनगर । स्थानीय तहको निर्वाचनमा महानगरपालिकाको पनि परिणाम आउन सुरु भएको छ । विराटनगर महानगरपालिकाको पहिलो सार्वजानिक भएको मत परिणाम अनुसार मेयरमा नेपाली कांग्रेस र उपमेयरमा एमाले विजयी भएको छन् । सत्तारुढ गठबन्धनबाट मेयरको उम्मेदवार रहेका कांग्रेसका नागेश कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (एमाले) सागर कुमार थापालाई पराजित गर्दै विजयी भएका हुन् ।
कोइरालाले ३० हजार १७० मतले ल्याएर विजयी हुँदा थापाले २१ हजार ४५५ मत ल्याएका थिए। मेयरका स्वतन्त्र उम्मेदवार उमेश यादवले ८ हजार ७९५ मत पाएका छन्।
यसैगरी उपमेयरमा सत्तागठन्धनका उम्मेदवारलाई पराजित गर्दै एमाले विजयी भएको छ। जनता समाजवादी पार्टी, नेपालका अमरेन्द्र यादवलाई पराजित गर्दै उपमेयरमा एमालेकी शिल्पा कार्कि विजयी भएकी हुन्। कार्कीले २५ हजार ६८० मत पाउँदा गठबन्धनबाट जसपाका यादवले १४ हजार २१९ मत मात्रै ल्याएका छन् ।
यसैगरी उपमेयरमै राष्ट्रिय प्रजातन्त्र पार्टीकी विन्दा कुमारी लुइटेल आचार्य ६ हजार ४०१ मत ल्याइन् भने स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ५ हजार ११७ मत प्राप्त गरिन् ।