२०८३ साउन १० आइतबार

बीमा कम्पनीको पूँजी वृद्धि योजना : अन्तिम विकल्पमा मर्जर

ई आर्थिक    सोमबार, बैशाख १२ २०७९
4.3K
Shares
बीमा कम्पनीको पूँजी वृद्धि योजना : अन्तिम विकल्पमा मर्जर

नियामक निकाय बीमा समितिको प्राथमिकता मर्जरमा छ

काठमाडौं । बीमा समितिले मर्जरमा लैजाने उद्देश्यसहित बीमा कम्पनीहरूको चुक्तापूँजी बढाउने निर्णय गरे पनि बीमकहरू मर्जरमा आकर्षित नभएको देखिएको छ । चुक्तापूँजी बढाउने क्रममा अधिकांश कम्पनीले मर्जरलाई अन्तिम विकल्पको रूपमा अघि सारेका छन् ।

बीमा कम्पनीले चुक्तापूँजी बढाउने योजना (क्यापिटल प्लान) समितिमा बुझाउनुपर्ने अन्तिम दिन आइतवार थियो । सो दिनसम्ममा ३९ मध्ये २४ कम्पनीले क्यापिटल प्लान पेश गरेका छन् । त्यसमा अधिकांशले बोनस शेयरमार्फत पूँजी बढाउने योजनालाई पहिलो नम्बरमा राखेका छन् । हकप्रद शेयर दोस्रो नम्बरमा छ । यी दुई तरीकाले तोकिएको पूँजी पुग्ने अवस्था नआएमात्र उपयुक्त कम्पनी छनोट गरेर छानेर मर्जरमा जाने गरी कम्पनीहरूले क्यापिटल प्लान पेश गरेको बीमा समितिले जानकारी दिएको छ ।

बीमा कम्पनीका अधिकारीहरू पनि पहिलो नम्बरमा बोनस शेयर र दोस्रोमा हकप्रद शेयरलाई पूँजी बढाउने विकल्पको रूपमा अघि सारिएको बताउँछन् । त्यसले तोकिएको पूँजी नपुग्ने अवस्था आएमात्र मर्जर रोज्ने उनीहरूको भनाइ छ ।

‘हामीले यसरी नै चुक्तापूँजी बढाउने भनेर समितिमा क्यापिटल प्लान पेश गरेका छौं । अब त्यसमा समितिले कस्तो प्रतिक्रिया जनाउँछ, त्यहीअनुसार पूँजी वृद्धिको योजना अगाडि बढ्न सक्छ,’ एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले भने, ‘चुक्तापूँजी बढाउन दिइएको समय एकदम कम छ । त्यो अवस्थामा बोनस शेयरमार्फत पूँजी पुर्‍याउन सम्भवै हुँदैन । हकप्रद नै उपयुक्त विकल्प हुन सक्छ । त्यसपछि पनि भएन भने मर्जरबारे सोच्नेछौं ।’

बीमा समितिले गत चैत १० गते बीमा कम्पनीहरूलाई चुक्तापूँजी बढाउन निर्देशन दिएको थियो । हाल जीवन बीमा कम्पनीको चुक्तापूँजी न्यूनतम २ अर्ब र निर्जीवनको १ अर्ब रुपैयाँ हुनुपर्ने प्रावधान छ । आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीको ५ अर्ब र निर्जीवनको २ अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजी हुनुपर्छ । त्यसका लागि ३० दिनभित्र क्यापिटल प्लान पेश गर्न समितिले निर्देशन दिएको थियो ।

क्यापिटल प्लान बुझाउने अन्तिम दिन आइतवारसम्ममा २४ कम्पनीले योजना पेश गरेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । ‘हामीले कम्पनी संख्या घटाउन मर्जरमै लैजाने गरी निर्णय गरेका हौं । कम्पनीहरूले के कस्तो क्यापिटल प्लान पेश गरेका छन्, त्यो अध्ययन गर्न बाँकी छ,’ उनले भने, ‘तैपनि हामी मर्जरलाई नै प्राथमिकतामा राखेर यससम्बन्धी काम कारबाही अघि बढाउँछौं ।’

आइतवारसम्ममा क्यापिटल प्लान नबुझाउने कम्पनीलाई कारबाही गरिने पनि उनले बताए । ‘हाम्रो निर्देशनअनुसार क्यापिटल प्लान पेश गर्नुपर्ने आइतवार अन्तिम दिन थियो । त्यो अवधिमा केही कम्पनीले पेश गरेका छैनन्,’ उनले भने, ‘उनीहरूलाई बीमा ऐनअनुसार कारबाही हुन्छ ।’ तोकिएको मितिभित्र पूँजीवृद्धिको योजना नबुझाउने कम्पनीलाई के कारबाही हुने हो, त्यो चाहिँ कार्यकारी निर्देशक पौडेलले खुलाएनन् ।

हाल नेपालमा १९ जीवन र २० निर्जीवन बीमा कम्पनी छन् । त्यसमा १२ जीवन र १२ निर्जीवन बीमा कम्पनीले क्यापिटल प्लान पेश गरेका छन् ।

नेपाल लाइफको यसअघि नै तोकिएअनुसार चुक्तापूँजी पुगिसकेको छ । उसलाई तत्काल पूँजी बढाउनुपर्ने बाध्यता छैन । जीवन बीमातर्फ अझै ६ कम्पनीले चुक्तापूँजी बढाउने योजना पेश गर्नुपर्ने देखिन्छ । त्यसमा प्राइम लाइफ, ज्योति लाइफ, युनियन लाइफ, प्रभु लाइफ, राष्ट्रिय बीमा संस्थान र रिलायबल नेपाल लाइफले योजना पेश गर्न बाँकी छ । निर्जीवनतर्फ अब ८ कम्पनीले क्यापिटल प्लान पेश गर्न बाँकी छ । निर्जीवनतर्फ द ओरियण्टल, नेशनल, राष्ट्रिय बीमा कम्पनी, सिद्धार्थ, एनएलजी, प्रिमियर, प्रभु र हिमालयन जनरल इस्योरेन्सले क्यापिटल प्लान पेश गर्न बाँकी रहेको समितिले जानकारी दिएको समाचार मिलन विश्वकर्माले आजको आर्थिक अभियानमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij