ई–आर्थिक, काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई ३० प्रतिशत अर्थात् १ बराबर शून्य दशमलव ३ अनुपातमा हकप्रद सेयर दिने भएको छ । कम्पनीले चैत १ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने जानकारी दिएको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका ५२ करोड ७५ लाख ५७२ रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद निष्कासन तथा विक्री खुला गर्न लागेको हो ।
हकप्रद निष्कासनका लागि कम्पनीले माघ २१ गते बुकक्लोज गरेको थियो । माघ २० गतेसम्म कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा चैत २१ गतेसम्म आवेदन दिन पाउनेछन् ।
हकप्रद शेयरको विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । उक्त हकप्रदमा एनआईबिएल एस क्यापिटल तथा शिखर इन्स्योरेन्सका रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन सकिनेछ ।
कम्पनीको हकप्रदलाई इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्न पर्याप्त मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७५ करोड ८५ लाख २४ हजार रहेको छ । हकप्रद निष्कासनपछि उक्त पूँजी रू. २ अर्ब २८ करोड ६० लाख ८१ हजार २०० पुग्नेछ ।