२०८३ साउन १२ मंगलबार

धितोपत्र बोर्डको अध्यक्षमा अध्यक्षमा रमेशकुमार हमाल

ई आर्थिक    शुक्रबार, फाल्गुन ६ २०७८
4.1K
Shares
धितोपत्र बोर्डको अध्यक्षमा अध्यक्षमा रमेशकुमार हमाल

ई–आर्थिक, काठमाडौं । सरकारले रिक्त रहेको चार महिनापछि नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा रमेशकुमार हमाललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरेका हमाललाई अध्यक्षमा नियुक्त गरेको हो ।

तीन दशक सार्वजनिक तथा निजी क्षेत्रमा काम गरेको अनुभव भएका हमालले संयुक्त राष्ट्रसंघको वातावरणीय प्रोजेक्ट, ब्रिटिस इन्भेस्टमेन्ट कन्सल्टेन्सी एन्ड रियल स्टेट डेभलपमेन्ट ग्रुप बैंकको चिफ अपरेटिङ अफिसर भएर काम गरेको अनुभव छ । सन् १९८९ मा भारतको जम्सेदपुरबाट इन्जिनियरिङमा स्नातक गरेका हमालले १९९९ मा बैंककको एसियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट (एआईटी) बाट एमबीए गरेका हुन् ।

हमाल हाल काभ्रेको बनेपामा निर्माणको अन्तिम चरणमा पुगेको रिसोर्ट ‘दुसित थानी हिमालयन रिसोर्ट एन्ड स्पा’ का लगानीकर्ता पनि हुन् । पूर्व गैरआवासिय नेपाली पनि रहेका उनले एनआरएनए थाइल्याण्डका पूर्वअध्यक्षका रुपमा काम गरिसकेका छन् । विदेशका सेयर बजारको ज्ञान र अनुभव भएका हमाल पूर्वाधार, वित्तीय र घरजग्गा क्षेत्रको विज्ञका रुपमा परिचित छन् । उनले नेपाल विद्युत प्राधिकरणमा पनि काम गरेका थिए ।

अर्थ मन्त्रालयले गठन गरेको छनोट तथा सिफारिस समितिले बोर्ड अध्यक्ष नियुक्तिका लागि ३ जनाको नाम सिफारिस गरेको थियो । समितिले डा. गोपाल प्रसाद भट्ट, रमेशकुमार हमाल र कृष्णराज पोखरेलको नाम सिफारिस गरेको थियो । आवेदन दिएका १५ जनामध्येबाट ५ जनाको सर्टलिस्ट भए पनि ५ जनाबाट तीन जनाको नाम मन्त्रिपरिषद्मा पठाइएको थियो । बुक बिल्डिङ प्रकियाबाट प्राथमिक सेयर निष्कासन गर्ने प्रक्रिया सुरु गरेको सर्वोत्तम सिमेन्टको इन्साइडर ट्रेडिङमा मुछिएपछि तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई छानबिन समितिको सुझावमा सरकारले बर्खास्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij