२०८३ साउन ११ सोमबार

थारु बस्तीमा माघीको रौनक, घ्यू चाँकू दलेर माघे सङ्क्रान्तिमा भक्तपुरको विभिन्न ठाउँमा मेला

ई आर्थिक    शनिबार, माघ १ २०७८
4.8K
Shares
थारु बस्तीमा माघीको रौनक, घ्यू चाँकू दलेर माघे सङ्क्रान्तिमा भक्तपुरको विभिन्न ठाउँमा मेला

ई–आर्थिक, काठमाडौं । थारुहरुको महान् चाड माघीपर्वले पश्चिमी तराईका थारु बस्तीमा रौनक देखिएको छ । सुदूरपश्चिम प्रदेशमा कैलाली र कञ्चनपुरमा बसोबास रहेको थारु बस्तीमा माघीको उल्लास छाएको छ ।

कोरोना सङ्क्रमण बढिरहेको जोखिमका बीच थारु समुदायले परम्परागत रुपमा मनाइँदै आएको पर्वलाई निरन्तरता दिइरहेका छन् । कञ्चनपुरमा थारु समुदायको बसोबास रहेको बेलौरी, पुर्नवास, कृष्णपुर, शुक्लाफाँटा, बेदकोट र भीमदत्त नगरपालिकामा विभिन्न माघी मिलन कार्यक्रम सञ्चालन भएका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ का रामप्रसाद चौधरीले माघीले एक सातायता बस्तीमा चलहपहल बढेको बताउनुभयो ।

“हाम्रो मौलिक अनि विशेष पर्व विगत दुई वर्षयता कोरोना कहरले संत्रासका बीच मनाउँदै छौँ”, चौधरीले भन्नुभयो, “यस पटक पनि पर्वसँगै सावधानी अपनाउनुका साथै स्वास्थ्य सुरक्षामा समेत ख्याल गर्न जरुरी छ ।” वर्ष दिनमा थारु समुदायको सबैभन्दा विशेषरुपमा मनाइने माघीका अवसरमा यहाँका विभिन्न थारु बस्तीमा परम्परागत नृत्यसहित रमाइलो गरी मनाइँदै छ । माघी पर्व थारु समुदायले नयाँ वर्षका रुपमा समेत मनाउने गरेका छन ।

‘हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमा
खुसियाली छ दाङमा, खुसियाली कञ्चनपुरमा
हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमा’

थारु समुदायको गीतमा भनिएझैँ यस समुदायमा बालबालिकादेखि पाका पुस्तासम्म माघीकै रौनकता छ । माघ १ गतेदेखि सुरु हुने सप्ताहव्यापी योे पर्वमा यो समुदायले विभिन्न खानाका परिकारलाई बढी जोड दिन कुटानीपिसानी गर्ने, नयाँ लत्ताकपडा किन्ने र गाउँघरको सरसफाइ गर्ने गरेको चौधरीको भनाइ छ ।

त्यसैगरी यहाँको बेलौरी नगरपालिका–३ का स्थानीय घुम्मन चौधरीले परम्परागत रुपमा मनाउँदै आएको पर्वको रौनकता रहेपनि पहिले जस्तो नरहेको बताउनुभयो । “माघीपर्वलाई जुन महत्व दिएर संरक्षण र सम्वद्र्धन हुनुपर्ने हो त्यो भएको छैन”, उहाँले भन्नुभयो, “माघीपर्व मात्रै नभई हाम्रो संस्कृति पनि हो ।” माघी पर्वको अवसरमा यहाँको शुक्लाफाँटा नगरपालिकाले माघ ३ गते एक दिन बिदा दिने निर्णय गरेको शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले जानकारी दिनुभयो ।

“दीर्घकालीन रुपमा माघीको पर्व र संस्कृतिको जगेर्नाका लागि हाम्रो पनि सहयोग रहन्छ”, ऐरले भन्नुभयो, “थारु संस्कृति र पहिरन पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण छन्, संरक्षण गर्नै पर्छ ।” थारु समुदायले माघीपर्वकै अवसरमा बडघर र भलमन्सा छनोट गर्ने, छोराछोरीको बिहे, अंशबन्डा र खेतीपातीको वार्षिक योजना निर्माणसमेत गर्ने अवसरका रुपमा लिने प्रचलन रहेको छ ।

त्यसैगरी माघीमा विशेषतः ढिक्री, तरुल, सखरखण्ड र फर्सी उसिनेर खाने गरिन्छ । माघीको अघिल्लो रात सुँगुर काटेर मासु खाने गरिन्छ, जसलाई थारु भाषामा ‘जिता मरना’ भन्ने प्रचलन रहेको बेलौरीकै सुकराम चौधरीले बताउनुभयो । माघीको अघिल्लो दिन राति थारु समुदाय मासु, जाँड र ढिक्री खाएर रातभर जाग्राम बसेर ‘मघौटा’ नृत्यमा रमाउने गर्दछ ।

माघीको दिन (माघ १ गते) झिसमिसेमै उठेर नदी, जलाशयमा गई लोटामा सिक्का राखिएको पानीले नुहाउने र नुहाइसकेपछि सिक्का लुटाउने प्रचलन रहेको चौधरीको भनाइ छ । सो अवसरमा तिलको आगो ताप्नाले वर्षभरि अन्जानवश गरिएको पाप नाश हुने धार्मिक मान्यतासमेत रहेको छ । माघीमा मनोरञ्जनका लागि घरमै मादकपदार्थसमेत उत्पादन गरेर खाने प्रचलन रहिआएको छ ।

यहाँको शुक्लाफाँटा नगरपालिका–२ का परदेशी चौधरीले कोरोना कहरले गर्दा माघीमा सचेत भएर मनाउनुपर्नेमा जोड दिनुभयो । “घर÷छिमेकमै विधि प्रक्रिया पूरा गरी रमाइलो गरी मनाउने हो”, उहाँले भन्नुभयो, “धेरै तामझाम र भीडभाड गर्ने माहोल कोरोनाका कारण छैन ।” यता स्थानीय प्रशासनले पनि भीडभाड कोरोना नियन्त्रणका लागि स्वास्थ्य मापदण्ड पालना गर्न र भीडभाड नगर्न यसअघि नै भनिसकेको छ ।

घ्यू चाँकू दलेर माघे सङ्क्रान्तिमा भक्तपुरको विभिन्न ठाउँमा मेला

माघे सङ्क्रान्तिको अवसरमा आज भक्तपुरको विभिन्न ठाउँमा मेला लागेको छ । घ्यू चाकु, तिलको लड्डु, हरियो साग, तरुल खाएर मनाइने यस पर्वका दिन आज भक्तपुरको तौमढीस्थित तिलमाधव नारायण र सूर्यमढीस्थित वाकुपति नारायण मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।

यी मन्दिरमा रहेका देवताको शरीरमा घ्यू र चाकु लगाइदिने गरिन्छ । नेवारी भाषामा घ्यू, चाकु सल्हुँ भनिने आजको दिन भक्तपुरको चाँगुनारायण, सिपाडोलस्थित आशापुरी महादेव, डोलेश्वर महादेव मन्दिरमा पनि ठूलो मेला लागेको छ । हरेक वर्ष माघे सङ्क्रान्तिका दिन यी मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

आज नुहाइधुवाइ गरी जीउमा तेल घसेर घ्यू, चाकु तिलको लड्डु, सागपात, तरुल खानाले शरीरमा गर्मीको मात्रा बढ्ने हृष्टपुष्ट हुने धार्मिक मान्यता रहिआएको छ । आजैदेखि दिन लामो र रात छोटो हुने तथा जाडो घट्दै जाने जनविश्वास छ ।

यसैगरी आजै भक्तपुरको तलेजुमा पनि विशेष पूजा गरिन्छ । गुठी संस्थानले उपलब्ध गराएको रकमबाट तलेजुका मूल पुजारी उत्तमाङ्गराज राजोपाध्यायले विशेष पूजा गरी विभिन्न परिकार चढाई पूजा गरी माघे सङ्क्रान्ति मनाइने तलेजु मन्दिरका नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij