ई–आर्थिक, काठमाडौं । गएको आइतबार एकै दिन पुँजीबजारका लगानीकर्ताले ५ खर्ब रुपैयाँ गुमाए । कारोबार खुलेलगत्तै ओरालो लागेको नेप्से कारोबार अबधिभर राताम्मे भयो । सुरुबाटै नेम्से रातो बनेपछि शेयर बिक्री गर्नेको चाप ह्वात्तै बढ्यो, फलतः लगानीकर्ताहरुले एकै दिन ठूलो नोक्सानी ब्यहोरे ।
पुँजीबजार यती डरलाग्दो खराब अबस्थामा पुगेपछि लगानीकर्ताका नेता तथा ठूला लगानीकर्ताहरुले एकै स्वरमा नेपाल राष्ट्र बैंकको नीतिको विरोध कडा शब्दमा बिरोध गरे । तर गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नीतिको बचाउ नै गरे । यसले बजार ओरालो लाग्ने गतिमा झन तीव्रता आयो । परिणामतः आइतबार मात्रै नेप्से १ सय ८ अंकले घट्यो ।
लगानीकर्ताहरुको ठूलो समूहले बिभिन्न माध्यम प्रयोग गरेर अर्थमन्त्री जनार्दन शर्मालाई पुँजी बजारको अबस्थाप्रति गम्भीर बन्न ध्यानाकर्षण गराए । बजारमा लाखौं नबप्रबेशी साना लगानीकर्ताहरुको उठीबास हुने अबस्था देखेपछि अर्थमन्त्री शर्माले यसप्रति चासो देखाए पनि । अर्थमन्त्रीको चासोले बजारमा तत्कालै प्रभाब प¥यो पनि । सोमबार कारोबार सुरु भएसँगै नेप्सेमा हरियाली छायो । यस्तो करेक्सन दिनभर भइरहँदा नेप्सेले उक्त दिन १ सय ६२ अंकको बढोत्तरी पायो ।
अर्थमन्त्रीले गभर्नर अधिकारीसँग छलफल गरेपछि बजारको पुँजीकरण त उकालो लाग्यो । तर, आत्तिएका नबप्रबेशी साना लगानीकर्ताले यो बीचमा ठूलो नोक्सानी ब्यहोरिसकेका थिए । सोमबार करेक्सनमा आएको बजारले मंगलबार र बुधबार लय समातेन र फेरि नेप्सेमा रातो कायमै रह्यो । बुधबार नेप्से ६० अंकले घटेर २८७६.५९ अंकमा आयो । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से धेरै नघटे पनि बिस्वास जगाउने खालको भने देखिएन । यस दिन नेप्से सूचक ०.६२ अंकले घटेर २८७५.९७ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि १.५३ अंकले घटेको छ । यसले नयाँ मौद्रिक नीतिका कारण प्रभाबित भएको पुँजीबजारप्रति अब लगानीकर्ताको बिस्वास फर्काउन निकै समय लाग्ने देखिएको छ ।
सरकार र अर्थमन्त्री असफल पार्ने दाउ
अहिले अचानक बजारमा यस्तो बियरिस ट्रेण्ड देखा पर्नुमा अरु कुनै कारण नभई एक मात्र मौद्रिक नीति हो । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले शेयर बजारप्रति अनुदार नीति अख्तियार गरेपछि तत्कालै यसले बजारमा नराम्रो असर ग¥यो । मौद्रिक नीतिले शेयर धितो राखेर शेयरमा नै लगानी गर्नका लागि १२ करोडको सीमा तोकेको छ । यही नीतिका कारण शेयर बजार निरन्तर ओरालो लागिरहेको छ ।
अकस्मात १२ करोडको ऋण सीमा राखेर आएको मौद्रिक नीतिले खासमा ठूला लगानीकर्ताहरुलाई कस्ने काम भएको छ । यो नीतिले ऋणको अबधि पुग्नै लागेका ठूला ऋणीहरुलाई एकदमै समस्या परेको छ । किनभने उनीहरुले ऋण चुक्ताको समय नै नपाउने भएका छन् । यसरी आजको भोली नै ऋण चुक्ता गर्नुपर्ने परिस्थितिबाट उत्पन्न भएको लगानीकर्ताहरुको समस्या बजारमा देखिएको छ ।
मौद्रिक नीति शेयर बजारप्रति किन यस्तो नकारात्मक बन्यो त ? अहिले टड्कारो प्रश्न उठेको छ । बजार बिश्लेषक र लगानीकर्ताहरुले यसलाई सामान्यरुपमा लिएका छैनन् । यसलाई उनीहरुले गभर्नर अधिकारीको राजनीतिक आस्थासँग जोडेर बिश्लेषण गर्न थालेका छन् । गभर्नर अधिकारी नेकपा एमालेका २० बर्ष पुरानो संगठित सदस्य हुन । एमालेमा साधारण र संगठित गरी दुई प्रकारको सदस्य हुने ब्यबस्था छ । साधारण सदस्य भएको एक बर्षपछि संगठित सदस्यता दिइन्छ ।
संगठित सदस्यता प्रदान गरेपछि पार्टीमा सबै प्रकारको जिम्मेवारीका लागि ढोका खुला हुन्छ । संगठित सदस्य भएको १० बर्ष पुगेपछि केन्द्रिय सदस्यको लागि योग्यता पुग्छ । उनी एमालेभित्र ब्युरोक्रेसीमा रहेका कार्यकर्तामध्ये सबभन्दा ईमानदार, निष्ठावान र समर्पित कार्यकर्ताको रुपमा परिचित छन् । पार्टीको नीति र निर्देशनलाई कार्यान्वयनका लागि भएसम्मका सबै उपाय अपनाउने गर्छन ।
अहिले एमाले र सरकारबिचको सम्बन्ध अत्यन्तै तिक्ततापूर्ण छ । त्यसमा पनि सत्ताघटक दल नेकपा माओबादी र एमालेको सम्बन्ध पानी बाराबारको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओबादी अध्यक्ष प्रचण्डबिच एक आपसमा तल्लो स्तरमा झरेर गाली नगरेको दिन नै छैन । अहिलेका अर्थमन्त्री शर्मा अध्यक्ष प्रचण्डका अति बिश्वासिला पात्र हुन् । उता गभर्नर अधिकारी पनि एमाले अध्यक्ष ओलीका किचेन क्याबिनेटका सदस्य हुन । अध्यक्ष ओली यो सरकार र माओबादी दुबै शक्तिको नराम्रोसँग पतन हेर्न चाहन्छन् । त्यसैका लागि उनले आफ्नो पार्टीको सम्पूर्ण सामथ्र्य र शक्ति उपयोग गरिरहेका छन् । यस क्रममा एमाले र ओलीले सबै मोर्चाहरुबाट सरकारलाई असहयोग गर्ने, बिबादित बनाउने र असफल बनाउने रणनीति लिएका छन् । सदन चल्न नदिने, सडकमा बिभिन्न बहानामा प्रदर्शन गर्ने र ब्युरोक्रेसीमा जिम्मेवारी दिएर राखेका आफ्ना कार्यकर्ताहरुबाट सरकार सन्चालनका दैनिक काममा असहयोग गरेर यो सरकार असफलन बनाउने ओली र एमालेको योजना देखिन्छ । यही रणनीतिअन्तर्गत गभर्नर महाप्रसाद अधिकारी पनि परिचालित भएको शेयर बजारमा लगानी गरिरहेका एमाले कार्यकर्ताहरु र बजार बिश्लेषकहरु बताउँछन् ।
सरकारलाई सबभन्दा छिटो आलोचना गराउन सक्ने र असफल बनाउन सक्ने क्षेत्र भनेकै शेयर बजार भएको एमाले अध्यक्ष ओलीले राम्रोसँग बुझेको एक बिश्लेषक बताउँछन् । ‘यो क्षेत्रमा ब्यापक मानिसको लगानी हुने र आफ्नो लगानी डुबेको दोष सरकारमा थोपर्ने हुदा ओलीले शेयर बजारबाट सरकारलाई आलोचित बनाउने रणनीति अख्तियार गरेको देखिन्छ ।’ उनी भन्छन् ‘यसमा ओलीले गभर्नर अधिकारीलाई राम्रोसँग परिचालित गरेको देखिन्छ ।’
एमालेकै सरकार र बिष्णु पौडेल नै अर्थमन्त्री भएको भए यस्तो नियन्त्रणमुखी मौद्रिक नीति नआउने उनले ठोकुवा गरे । ‘गएको बर्ष पनि गभर्नर अधिकारीले मौद्रिक नीति ल्याए । तर ठूला लगानीकर्ताहरुलाई अचानक बाँध्ने खालको यस्तो नीति ल्याएनन् ।’ उनी भन्छन् ‘एमालेलाई सरकारबाट हटाएको प्रतिशोधका रुपमा मौद्रिक नीति आयो र गभर्नर अधिकारीले सरकार र अर्थमन्त्री शर्मालाई एउटै खाल्डोमा हाल्ने नीति ल्याए ।’ यो नीतिले लाखौं साना लगानीकर्ताहरुसमेत नराम्रोसँग डुबेकाले उनीहरु पनि सरकार र अर्थमन्त्रीसँग रुष्ट भइरहेको उनी बताउँछन् । ‘गभर्नर अधिकारीले सरकार बनेको छोटो समयमै मर्ममाथि नै प्रहार गरेका छन् ।‘ उनी भन्छन् ‘अर्थमन्त्री र सिंगो सरकारले गभर्नर अधिकारीको यो राजनीति बुझ्न जति ढिला गर्छन, त्यति सरकारप्रति जनताको नकारात्मक धारणा बढ्दै जान्छ ।’