देवेन्द्र प्रताप शाह
घनश्याम भुसाल, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे, योगेश भट्टराई एमाले पार्टिका होनहार नेता हुन् । अरु पनि होलान् । तुरुन्त मेरो मनमा यी ४ को नाम आयो । यी चारै जना हिजोसम्म ओली तथा ओली प्रवृतिका प्रखर बिरोधी थिए । ओली प्रवृति भन्नाले पार्टि भित्र काम गर्ने अधिनायवादी शैली र सरकारमा रहँदा गैरजिम्मेवार रुपमा पेश हुने तरिकालाई बुझ्नु पर्ने हुन्छ ।
शासकीय मुद्दाहरुमा जानकारी बिहीन रहने तर आफु नै सबैभन्दा जान्ने मान्छेको रुपमा पेश हुने, भ्रष्टाचारको बिरोध गर्ने तर भ्रष्टहरुको पक्षपोषण गर्ने, लोकतन्त्रको वकालत गर्ने तर आफ्नो राजनीतिक फाइदाको लागि सम्पुर्ण राज्यसत्ता नै कब्जा गर्न अग्रसर रहने नेताको रुपमा ओली चिनिन्छन् र यो प्रवृतिको बिरोध गर्ने नेताहरुमा पर्छन् भुसाल, बिष्ट, पाण्डे र भट्टराई ।
तर जब अर्को ५ बर्ष पनि ओलीकै नेतृत्वमा एमाले रहने स्थिति आइपुग्यो, माधव नेपाल र झलनाथ खनालले आफुहरुलाई त्यहाँ अटाउन नसक्ने परिस्थिति बन्यो । यो सामान्य जानकारीको कुरा हो, गहिरिन पर्दैन । ठिक यही बेलामा यी चार नेताहरु भने आफ्नो राजनीतिक भविष्यको लागि ओली प्रवृतिलाई साथ दिनु पर्ने अवस्थामा पुगेका छन् ।
ओलीको मनपरी तन्त्रसँग आजित यी ४ नेताहरु अब देशको भविष्य भन्दा आफ्नो राजनीतिक सुरक्षामा केन्द्रित हुन थालेका देखिन्छन् जुन सामान्यतया उपयुक्त हैन । देशप्रति इमानदार युवा नेताले आगामी एक चुनाब हेरेर राजनीति गर्ने भन्दा पनि मुद्दाको मेरिट हेरेर अघि बढ्नु उपयुक्त हुन्छ ।
हर हालतमा यी युवा नेताहरुको प्रयास ओली प्रवृतिलाई निरास पार्नमा केन्द्रित हुन पर्ने आजको अपेक्षा हो । ओलीलाई नेतृत्वबाट बाहिर राखेर गरिएको एकताले मात्र एमालेलाई बचाउन सक्छ । तर लोभी पिछलग्गुहरुको भिडले ओलीलाई तुरुन्तै नेतृत्वबाट ओराल्न दिने छैनन् । तर यो कुरा अबको एउटा चुनाबको लागि मात्र हो । त्यसपछि एमालेमा रहे पनि नरहे पनि ओली अहिले जति शक्तिशाली हुने छैनन् र नेपालका कम्युनिष्ट आन्दोलन फेरि एक पटक उत्कर्षमा पुग्ने समय आउने छ ।
यसको लागि यी युवा नेताहरुले आफ्नो एक पटकको सम्भावित चुनाबी पराजयलाई स्वीकार गरेर भए पनि ओली प्रवृतिको बिरोधमा लाग्नु पर्ने देख्छु । उहाँहरु जति उचाइ पुगिसकेका राजनीतिक नेताले आसन्न चुनाबलाई अर्जुनदृष्टि बनाउनु भन्दा देश र कम्युनिष्ट आन्दोलनको लागि दूरदृष्टि जो राख्नु पर्ला ।