अर्जुन राई
१. हामी जो जो कम्युनिष्ट पार्टी र आन्दोलनमा छौं ! हामीले पार्टीको सदस्यता प्राप्त गरिरहँदा २०७८ सालमा पुगेर कसै प्रती आग्रह साँचौला, प्रुवाग्रही हौंला, तँ तँ म म गरौंला भनेर यो पार्टी, आन्दोलनमा आबद्व भएको होईन ।
२. हामीहरुले गर्नु के पर्दथ्यो ? भै रहेको छ के ? यो अहिले हाम्रो कुरा नमिलेर भनेको होईन । मैले २०७४ सालमा सम्पन्न संसदिय निर्वाचनको लगभग ६ महिना पछि देखी निरन्तर सामाजिक सञ्जाल मार्फत राखेको धारणाहरु हेर्न सकिन्छ ।
३. कम्युनिष्ट पंक्तीमा आलोचनात्मक चेत करिब समाप्त हुने ठाउँमा पुगेको छ । सत्तारोहण संगै सामुहिक जीवन पद्वती लगभग सकियो । कि त हामीमा जागिर, सरुवा, बढुवा, लाभहानी, निजी फाईदा, बेफाईदा, ठेक्कापट्टा, पद, दलाली, कमिशन देखिन्छ कि त पार्टीको नाम, चिन्ह र झण्डाको आड लिएर चरम ब्यक्तिवाद, अन्धभक्तता, अवसरवाद र उपयोगितावाद हाबी देखिन्छ । सच्चाहरुको पंक्ती नि नभएका होईनन तर लगभग सतहमा छैनन ।
४. जनताबाट पार्टी अनुमोदित हुने प्रक्रीया पूरा भए पनि पार्टीबाट सत्ता अनुमोदित हुने प्रक्रीया नराम्ररी ध्वंस यसै बिच भएको छ । गम्भीर समीक्षा गर्ने, राम्रा गर्नेहरुको उचित मुल्याकंन र कमजोरी गर्नेहरुलाई सक्षम बनाउने प्रणाली ध्वस्त छ ।
५. सोच्ने तरिकाहरु, गर्ने ब्यबाहरहरु, लिने नीतिहरु, बनाउने योजनाहरु, निर्धारण गर्नु पर्ने प्राथमिक्ताहरु, सुधार गर्नु पर्ने प्रणालीहरुमा बिगतको निरन्तरता होईन अतिरिक्त कौशलता प्रदर्शन गर्नु सक्नु पर्दथ्यो ।
६. माथीको धेरै के कुरा गर्नु तल तल बनेको अधिकांश उपभोक्ता समितीहरु (सबै होईनन) हेरे पुग्छ । समितिहरु आफ्ना असलीहरुको हुनेछन असली नहुनेहरुमा बजेट पुग्दैनन । सेटिङ्गको समितिहरुबाट समाजवाद कहाँ आउँछ त्यो प्रष्ट छ ।
७. पार्टीले कार्यकर्ता पंक्ती कस्तो निर्माण गर्नु पर्दथ्यो ? अन्धभक्त, अवसरवादी वा अलोचनात्मक चेत भएको ? यो आज गम्भीर भएर सिंहावलोकन गर्ने दिन आएको छ ।
८. हाम्रो उदेश्य सार्है प्रष्ट छ समाजवादको आधार निर्माण गर्न दृढताको साथ अगाडि बढ्ने । आज उभिएर बस्तुनिष्ठ हिसाबले हेरौं आधार निर्माणमा कति योगदान गर्न सफल भयौं ?
९. समाजवादको आधार तय हुँदै गएको केही ईन्डिकेटरहरु हुन्छन । ती ईन्डिकेटरहरुमा के कति प्रगती भयो कसैले डेटा दिए आभारी हुने थिए ।
अन्तमा आशय के होईन भने कहिँ कसैले केही गर्दै गरेको छैन भन्ने चाहिँ हुँदै होईन । तुलनात्मक हिसाबले राम्रा काम गर्नुहुनेहरु नि हुनुहुन्छ । उहाँहरु प्रती सम्मान छ ।
(राई माधव–झलनाथ समूह एमाले धनकुटा जिल्ला कमिटीका अध्यक्ष हुन् ।)