दिनकर नेपाल
१. पपुलिस्ट बजेट हो । पक्कै हो, र चुनावको मुखमा कुनै सरकारले बजेट ल्याउँदा पपुलिस्ट बजेट नल्याओस् भनेर सोच्नु भनेको मुर्ख्याइँ नभए अबुझपन हो । भोट हालेर सरकार चुन्ने व्यवस्थामा यो सामान्य हो ।
२. केही साना साना कुरामा बजेट क्रान्तिकारी छ – जस्तै वाशिङ मशीनमा कर छूट। यस्ले मध्यम वर्गका महिलाहरुलाई मदद गर्छ। नेपालको हालको जनाकाँक्षा बारे संकेत गरेको छ। कमसेकम, पी एच डी अर्थमन्त्रीको बिजुली कारमा कर, चकलेटमा छुट जस्तो रीस उठ्दो त छैन ।
३. सामाजिक सुरक्षा भत्तामा राम्रै सुधार भएको छ। अब वृद्ध भत्ता ४०००, जुन यही साउन महिनादेखि नै लागु भै हाल्छ। यो खर्चपनि तुरुन्तै हुने, कार्यान्वयनमा चुहावट एकदम कम हुने, र बुवाआमाहरुलाई तुरुन्तै फाईदा हुने शीर्षक हो।
४. बजेट नियत हो । कार्यान्वयन क्षमता हो। नियत राम्रो भए क्षमता बढाउन सकिन्छ। अहिलेलाई नियत चुनाव केन्द्रित छ, तर हाम्रो संयन्त्र पुरै लागु गर्न सक्ने क्षमताको छैन। मन्त्रालय र विभागहरुमा अत्यावश्यक गृहकार्य नै नभएको देखिन्छ हरेक वर्ष ।
५. ऋण खासै डराउन पर्ने स्थितिको पक्कै छैन, तर आन्तरिक ऋणमा केन्द्रित रहेर पूर्वाधार विकासमा जोड दिन भने बजेट चुकेको छ।
६. महामारी सँग लड्दै गरेको अवस्थामा पोहोर साल नै तोकेका स्वास्थ्य पूर्वाधारमा केही काम भएको छैन, अहिले खासै होला जस्तो नलाग्ने झन् लाग्दैछ। खोपको लागि रकम छुट्याइएको छ।
७. राजस्व लक्ष्य अति महत्वाकांक्षी हुन्छ कि? सरकार आमदानी बढाउन लकडाउन छिटो खोल्न बाध्य हुन्छ, त्यस्ले कोरोनाको असर पुरै नियन्त्रण हुन गाह्रो पार्छ।
८. कृषिमा केही पनि नयाँ र क्रान्तिकारी कदम छैन। युवा लक्षित प्रमाणपत्र धितो राखेर दिइने भनिएको ॠण कार्यान्वयनसम्म आउँदा कस्तो स्वरुपमा पुग्छ र साँच्चै जस्लाई आवश्यक छ उस्ले पाउँछ कि नाइँ भन्नेमा शंका नै छ।
अन्य विज्ञ / विद्वान साथीहरुका टिप्पणी छन् भने बाँड्नुहुन अनुरोध छ। राजनितिक पृष्ठभुमि, संसद विघटन विरुद्ध विचाराधीन मुद्दा र अहिलेको अवस्था साथै, अहिलेसम्म लगभग ७५ % बजेट आखिरी ३ महिनामा खर्च हुने परंपरा र आफ्ना कार्यकर्तालाई मात्र पोषण गर्ने संयन्त्र आदिको सापेक्षतामा यी टिप्पणी गरिएका हुन्।
विमति, थप जानकारी र विश्लेषण वा अन्य कुनै भद्र टिप्पणीलाई स्वागत छ।