ई–आर्थिक, काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल नियुक्त भएकी छन् । इन्स्योरेन्सको सञ्चालक समितिले आगामी ४ वर्षका लागि पौडेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । पौडेल बीमा क्षेत्रकै पहिलो महिला र कम उमेरकी कान्छी प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन सफल भएकी छिन् ।
नवनियुक्त सीईओ पौडेलले भारतको दिल्ली युनिभर्सिटिबाट एमबिएसम्मको अध्ययन पुरा गरेकी छिन् । उनले भरतकै आईसीआईसीआई लोम्बार्ड इन्स्योरेन्स र भारती एक्सामा एक दशक भन्दा लामो समय काम समेत गरेकी छिन् । सानिमा जनरल इन्स्योरेन्सको सहायक महाप्रवन्धकमा डेढ वर्ष काम गरेकी पौडेल यूनाइटेड इन्स्योरेन्समा डेढ वर्षदेखि कार्यरत थिइन् ।
कम्पनीको सञ्चालक समितिले पौडेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्तिका लागि बीमा समितिमा स्वीकृतिका लागि पठाएको थियो । बीमा समितिले स्वीकृति प्रदान गरे सँगै उनलाई जिम्मेवारी प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीको प्रगति ग्राहकको सन्तुष्टि तथा दक्ष जनशक्तिबाट मात्रै संभव हुने कुरामा विश्वास राख्ने पौडेलले कर्मचारीको टिम वर्कलाई विशेष ध्यान दिने गरेकी छिन् । उनको आगमन संगै कम्पनी निरन्तर अगाडि बढिरहेको अवस्थामा प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्ती संगै थप उचाईमा पुग्ने कम्पनीले विश्वास लिएको छ ।

यसैबीच नेशनल लाइफको सिइओमा सुरेश खत्रीको नाम प्रस्ताव गरिएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा खत्रीलाई नियुक्ती गर्ने प्रस्ताव गरेको हो । सञ्चालक समितिले खत्रीको नाम प्रस्ताव गरेसँगै स्वीकृतिका लागि बीमा समितिमा पठाएको छ ।
बीमा समितिले अन्तिम स्वीकृति दिए पछि मात्रै कम्पनीले आधिकारिक रुपमा खत्रीलाई नियुक्ती गर्न सक्ने छ । बीमा समितिले कम्पनीलाई छिटो भन्दा छिटो प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न दवाव दिदै आएको थियो । समितिको निर्देशनसँगै कम्पनीले खत्रीलाई नै प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती गर्ने प्रस्ताव गरेको हो । नेशनल लाइफबाटै करिअर सुरु गरेका खत्रीसँग सोही कम्पनीमा २६ वर्षको अनुभव रहेको छ ।
यस अगाडिका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतको कार्यकाल सकिए पछि पुस तीन गते बसेको सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृत खत्रीलाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेको थियो ।